शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बर्षमा पोखरामा आन्तरिक पर्यटकको लर्को

शनिबार, ०१ वैशाख २०७५, ०८ : ५०
शनिबार, ०१ वैशाख २०७५

नयाँ बर्षमा पोखरामा आन्तरिक पर्यटकको लर्को

पोखरा  ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दोरेछ पोखरा त साँचिको नै पोखरा पो रैछ’ (प्रेमप्रकाश मल्ल) 

नयाँ वर्ष २०७५ का अवसरमा यतिखेर पर्यटकीय नगरी पोखरा पर्यटकले भरिभराउ भएको छ । माछापुच्छ्रे, अन्नपूर्णजस्ता हिमाली दृश्यावलोकनसहितका लागि प्रत्येक नयाँ वर्षका अवसरमा देशका विभिन्न भूभागबाट पर्यटक आउने भएकाले होटल खचाखच भरिने गरेको छ । 

नयाँ वर्षको आगमनपूर्व नै पोखराका अधिकांश पर्यटकले अग्रीम रुपमा होटेल बुकिङ गर्ने गरेको पोखराका पर्यटन व्यवसायी बताउँछन् । “नयाँ वर्षका अवसरमा विशेष गरी आन्तरिक पर्यटक नै बढी आउने गरेका छन्”, लेकसाइडस्थित होटेल ब्लु बेरीका सञ्चालक ज्ञानेन्द्र थापाले भने, “नयाँ वर्षलाई लक्ष्य गरी पश्चिमाञ्चल होटेल संघले आयोजना गरेको फेवा नयाँ वर्ष महोत्सवलगायत गतिविधिका कारण पनि पोखरा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।” 

यो विदेशी पर्यटक आउने मौसम पनि भएको बताउँदैथापाले नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा विद्यालयमा एउटा शैक्षिक वर्षको समाप्ति र अर्को वर्षको आगमनको बीच भएका कारण पनि आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको बताए । विगत १४ वर्ष सम्पन्न भइसकेको फेवा नव वर्ष महोत्सवको यस वर्ष १५औँ शृङ्खला सञ्चालन भइरहेका कारण पनि पोखरामा नयाँ वर्ष मनाउन आउनेले यसको भरपुर मनोरञ्जन लिएका छन् । 

तालैतालको शहर पोखरामा पर्यटकलाई लक्ष्य गरी निर्माण गरिएका पाँचतारे होटेल दुई र तीनतारे होटेल १४ र अन्य सुविधा सम्पन्न होटल ४०० भन्दाबढी छन् । पोखरामा सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले यहाँको पर्यटकीय गतिविधि बढेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । उनका अनुसार सन् १९८० को दशकदेखि पोखराको पर्यटन फस्टाउँदै गएको छ । भूकम्पअघि पोखरामा वार्षिक छ लाख ५० हजार पर्यटक आउने गरेकामा भूकम्पका कारण अघिल्ला वर्ष उक्त संख्यामा कमी आए पनि तिनको आगमन पूर्ववत अवस्थामा आउन लागेको छ । 

पोखरामा माछापुच्छ्रे हिमालको छाया देखिने फेवातालका साथै दृश्यावलोनका लागि उत्कृष्टस्थल सराङकोट, विश्वशान्ति स्तूपजस्ता ठाउँ छन् । पोखराका महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो यहाँका पर्यटकीय गन्तव्य हुन् । 

यी स्थलका अतिरिक्त लेखनाथ क्षेत्रमा वेगनास, रुपा, खास्टे, दिपाङ, मैदी, न्युरे पनि यहाँका महत्वपूर्ण स्थल हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप