शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सात महिनादेखि कान्ति अस्पतालको एनएक्स वार्ड बन्द, नर्सहरुले किन छाड्छन् काम ?

बिहीबार, १३ वैशाख २०७५, १७ : ००
बिहीबार, १३ वैशाख २०७५

काठमाडौ– काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा कर्मचारी तथा स्वास्थ्यकर्मी अभावमा अस्पतालको एनएक्स वार्ड सात महिनादेखि बन्द छ । 

अस्पतालमा कार्यरत नर्सहरुले धमाधम राजीनामा दिन थालेपछि यो वार्ड बन्द भएको हो ।

अस्पतालकी नर्सिङ प्रशासक निवारण जोशीका अनुसार विभिन्न कारण देखाउँदै नर्सहरुले अहिलेपनि दैनिकजसो राजीनामा दिइरहेका छन् । ‘यहि कारण ७ महिना भयो कान्तिबाल अस्पतालको एन.एक्स वार्ड बन्द छ । कहिले संचालनमा कहिले आउने भन्ने कुनै पत्तो छैन’ प्रशासक जोशीले रातोपाटीलाई बताइन् । 

एनएक्स वार्ड बन्द हुँदा त्यसका विरामीलाई अन्तै राखेर उपचार गरिरहेको नर्सिङ प्रशासक जोशीले बताइन्  । अस्पतालमा ३० वेडको एनएक्स वार्ड बन्द छ  भने २५ बेडको एनआईसियू वार्डको पनि हालत उस्तै छ । यो वार्डमा १६ वटा वेडमात्रै संचालनमा छन् ।

त्यस्तै पिआईसियूमा १५ वटा बेड रहेकोमा हाल १२ वटा मात्रै सञ्चालनमा छन् । उता, एसआईसियूमा १० वटा वेड रहेकोमा  हाल ८ वटामात्रै संचालनमा छन् ।

३ सय २७ वेड रहेको अस्पतालमा हाल ३ सय ५ बेड मात्र संचालन छन् ।

कर्मचारी अभावकै कारण अस्पतालको सबै वेड संचालनमा आउन नसकेको अस्पताल प्रशासनको दावी छ ।

जागिर नपाएर धेरै नर्सहरु बेरोजगार बस्नु परेको छ । तर,  यस्तो बेलामा कसरी स्टाफ अभाव भयो भन्ने हाम्रो प्रश्नमा प्रशासक जोशी भन्छिन्, ‘कान्ति बाल अस्पतालमा झण्डै ७ सयको हाराहारीमा कर्मचारी संख्या छ ।’ तीमध्ये १५० जनाले मात्रै सरकारी तलब थाप्छन् । अन्यलाई अस्पतालको आन्तरिक स्रोतबाट तलब खुवाउनुपर्ने बाध्यता छ ।’

 नर्सहरुले राजीनामा दिनुको कारण खुलाउदै जोशीले भनिन् ‘ अन्य अस्पतालमा मासिक तलबबाहेक ५० प्रतिशत थप गरेर तलब दिइन्छ, तर कान्तिबाल अस्पतालमा त्यो सुविधा छैन् । यो पनि एउटा कारण हो ।’ 
त्यस्तै दोस्रो कारण देशमा कामपाए पनि सोचेजस्तो पैसा नपाउँदा  अधिंकाश नर्सहरुले विदेश जानकै लागि राजीनामा दिने गरेको उनले खुलाइन् । यस्तै कतिपय लोकसेवामा नाम निकालेर अन्त गएका छन् । उनले पछिल्लो समय कान्तिमा काम गर्ने भन्दा पनि काम सिक्ने उदेश्यले आउने गरेको पनि जनाइन् ।

जोशीका अनुसार हाल १६० जना नर्सले कान्तिबाल अस्पताल धानेका छन् ।  बार्षिक २ लाख ५५ हजार भन्दा धेरै बालबालिकाको स्वास्थ्य उपचार गर्दै आईरहेको कान्तिमा अझै १ सय ५० नर्स थप्ने हो भने मात्रै अस्पतालका सबै सेवा राम्रोसंग संचालन गर्न सकिने अस्पताल प्रशसनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप