केन्द्रीय संस्करण

१० वर्षमा १ सय किताब लेख्ने लेखक

person access_timeजेठ १, २०७५ chat_bubble_outline0

एक लेखकले दस वर्षमा कति किताब लेख्लान् ?

भन्नुहोला, ‘दस, बीस, तीस, चालीस, पचास ।’

यत्ति नै भन्नुभएको हो भने तपाईं गलत ।

बालसाहित्यकार यशु श्रेष्ठले दस वर्षमा एक सय किताब लेखिसकेका छन् । दस वर्षमा एक सय किताब लेख्नु धेरै हो कि ठिकै ? बहसको विषय हुन सक्छ । 

नेपाली वाङ्मय परिचयकोश भाग–१ र भाग–२ अनुसार अहिलेसम्म तीन हजारप्रकारका बालसाहित्यसम्बन्धी किताब लेखिएका छन् । त्यसलाई आधार मान्ने हो भने दस वर्षमा एक लेखकले एक सय किताब लेख्नु सामान्य होइन । दस वर्षमा एक सय किताब लेख्न बालसाहित्यकार श्रेष्ठले सालिन्दा दस किताब लेख्नैपथ्र्यो । संवत् २०५८ बाट विभिन्न पत्रपत्रिकामा बालसाहित्य प्रकाशित उनको ०७४ मा ११ किताब सार्वजनिक भए । उनले लेखेका सयमध्ये २४ किताब सर्वाधिक बिक्री भइरहेका छन् । त्यसमध्ये खोजी प्रकाशनबाट प्रकाशित बालकथासमेत परेका छन् ।

‘संख्या बढाउनमात्रै लेख्न हुँदैन,’ बालसाहित्य समाज सचिवसमेत रहेका उनको मान्यता छ, ‘पहिले–पहिले बालसाहित्य लेख्ने भनेको बालबालिकाका लागि लेख्ने साहित्य भनेर बुझिन्थ्यो । ६ महिनाका बालबालिकालाई बालसाहित्यसँग सम्बन्धित किताब दिएर के काम ? बालबालिकाको पठन संस्कार विकास गर्ने हो भने तल्लोस्तरबाटै लेख्नुपर्छ ।’ त्यसलाई दृष्टिगत गर्दै ‘छाता’ नामक शब्दविहीन किताब लेखे । ‘छाता’ नेपालको पहिलो शब्दविहीन किताब हो । ‘पढ्न नसक्ने बालबालिकाको पठन संस्कार विकास गर्न शब्दविहीन किताब लेखेको हुँ,’ उनले सुनाए, ‘त्यो किताब हिजोआज पनि बिक्री भइरहेको छ । १४ संस्करण आइसकेको छ । कतिपयले ‘छाता’ मा लेखकको नाम नराख्नुस् भनेका थिए । यो त लेखक होइन चित्रकार पो हुन् त भन्नेहरू थिए । तर, भ्यागुता माथिबाट झरेको चित्र बनाएको छ भने पहिले लेखकको मस्तिष्कमा लेखन सीप आयो । त्यसपछि मात्रै चित्रकारले चित्र बनायो ।’ 

शब्दविहीन बालकथाले पढ्न नसक्ने बालबालिकालाई पढ्न र सिर्जनशील बनाउन सघाउने उनको बुझाइ छ । शब्दविहीन तीन किताब लेखेका उनको दृष्टिविहीनका लागि ब्रेललिपिमा चित्रसहित बालकथासंग्रह प्रकाशित छ ।

लेख्न त जोकोहीले लेख्छन् । सिर्जनशीलले नै लेख्ने हो । सिर्जनशील हुँदैमा लेख्नुमात्रै ठूलो काम होइन । बालबालिकाको बालमनोविज्ञान बुझेर लेख्दा लेखाइ अर्थपूर्ण हुन्छ । बालमनोविज्ञान बुझ्न अध्ययनको साथसाथै गाउँठाउँ घुम्नैपर्छ । ‘बालबालिकाको मनोविज्ञान बुझेर लेखिएका किताब कमै प्रकाशित छन्,’ उनले थपे, ‘अधिकांश बालकिताब पहाडबारे लेखिएका छन् । तराईका कम ।’ 

सानैदेखि बालबालिकालाई किताबसँग खेलाउनुपर्छ । त्यस्तो वातावरण सिर्जना गर्न अभिभावकले समेत बालसाहित्य पढ्नुपर्छ । अभिभावकले सालिन्दा कम्तीमा ५० किताब पढ्नुपर्छ । बालबालिकासँग सँगै पढ्ने गर्नुपर्छ । बालबालिकाले अभिभावकको सिको गर्दै पढ्ने अभ्यास गर्न सक्छन् । त्यसो गर्न सकेमात्रै बालबालिकालाई पठन संस्कार सिकाउन सजिलो हुन्छ । ‘अभिभावक बालबालिकासँग नजिक हुनुपर्छ,’ उनले सुझाए, ‘बालबालिकाको मनोविज्ञान बुझ्न बालसाहित्य पढ्नैपर्छ । अभिभावकले किताब छानेर बालबालिकालाई दिन सक्नुपर्छ ।’ 

बालसाहित्यकार यशु श्रेष्ठ सालिन्दा हिमाल, पहाड, तराई दौडिरहेका हुन्छन् । घुमिरहेका हुन्छन् । बालसाहित्यकार श्रेष्ठको दौडाइ लोभलाग्दो छ । त्यत्तिकै अर्थपूर्ण छ । बालसाहित्य समाजले सालिन्दा विभिन्न जिल्ला पुगेर सम्मलेन गर्छ । उसले पढ्ने र लेख्ने तरिका सिकाउँछ । कथा वाचक समाज महासचिवसमेत रहेका उनले कथा वाचन गर्न सिकाउँछन् । कथावाचकसँग वाचन गर्ने कला भएन भने उसले बालबालिकालाई एक घन्टा पनि टिकाउन सक्दैनन् । ‘कथा वाचन हराउँदै गएको छ । कथावाचन गर्ने पूर्वीय संस्कार जोगाउनुपर्छ,’ उनले सुझाए, ‘प्राथमिक तहमा पढाउने शिक्षकशिक्षिकाले कम्तीमा ३ सय ६५ वटा कथा भन्न सक्नुपर्छ ।’

हिमाल, पहाड, तराई पुगेर बालबालिकाको मनोविज्ञान बुझ्दै उनी कथा लेख्छन् । लेख्न पनि सिकाउँछन् । किताब पुग्दै नपुगेको ठाउँसम्म पुग्न जाँगर चलाउँछन् । ‘म कथा लेख्नमात्रै सिकाउँदिनँ,’ उनले थपे, ‘कथा वाचन गर्ने तरिकासमेत सिकाउँछु । त्यतिमात्रै होइन, प्रकाशन गर्न असम्भव ठाउँमा बालभित्तेपत्रिका प्रकाशित गर्न सिकाउँछु । किताब बनाउने तरिकासमेत सिकाउँछु । एक कामका लागि पुगेकाले यति धेरै विधामा सिकाउँदा आफूलाई पनि सन्तोष लाग्छ ।’

टोलटोलका बालबालिका भेला गरेर कथा भन्न सकिन्छ । त्यसका लागि विद्यालय झन् उपयुक्त ठाउँ मानिन्छ । पठन संस्कार विस्तार भएपछि लेख्न थाल्छन् । सुविधा छ भने लेखेको कुरा प्रिन्ट गर्न सकिन्छ । सुविधा छैन भने राम्रो अक्षरले लेख्न सुझाउनुपर्छ । त्यसलाई प्लास्टिकले मोड्न लगाउनुपर्छ । गाउँघरमा पनि प्लास्टिक पाइहालिन्छ । त्यसपछि प्वाल पारेर गाँठो पार्न लगाउनुपर्छ । त्यसलाई चाउचाउ, बिस्कुटका कार्टुनले गाता हाल्न लगाएपछि किताब तयार हुन्छ । उनले यसरी नै किताब तयार पार्न सुझाउँदै आएका छन् ।  

३५ वर्षमा एक सय किताब लेख्ने सायदै होलान् । यति धेरै किताब लेख्नेले लेखेरै जीविकोर्पाजन गरेका होलान् त ? ‘बाँच्ने पनि शैली हुन्छ,’ उनको तर्क छ, ‘सामान्य नेपालीले बाँच्ने जीवनशैलीअनुसार लेखेरै जीविकोपार्जन गरेको छु ।’ 

सम्बन्धित लेखकले लेखेको बालकथा एकपटक होइन, पटक–पटक पढाउन सक्नुपर्छ । त्यसो गर्न लेखकले समेत धेरैभन्दा धेरै पढ्नुपर्छ । पढेपछि सिर्जनशील भइन्छ । नुहाउन, खान, पढ्न नमान्ने बालबालिकालाई किताब हेर्दै नुहाउने, खाने र पढ्न प्रेरित गर्न सकेमात्रै सम्बन्धित बालसाहित्यकार सफल हुन्छन् । 


 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ