नेपाल लाइफ इन्सुरेन्सले बीमा शुल्कबाट १६ अर्ब बढी कमायो, अन्य सूचक के-के भए ?
काठमाडौं– नेपाल लाइफ इन्सुरेन्सले बिमा शुल्क वापत एक बर्षमा (२०७४/७५) १६ अर्ब १७ करोड ८७ लाख रुपैयाँ कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३२.३९ प्रतिशतले बिमा शुल्क आर्जनमा बृद्धि गरेको हो । अघिल्लो वर्ष १२ अर्ब २१ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यसपटक कम्पनीको खुद नाफामा भने कमी देखिएको छ तर कम्पनीले यो नाफामा बिमांकिया मूल्याँकन पश्चातको नाफा गणना नगरेकाले कम रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । गत वर्ष नेपाल लाइफले ४७ करोड ९२ लाख ५७ हजार ८ सय ३० रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष १ अर्ब ४६ लाख ३४ हजार रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीले पुर्नबिमा कमिशनबाट १ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष २ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको थियो । एनएलआइसीको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ छ भने ३ अर्ब ४७ करोड रुपैयाँ जगेडा कोषमा राखेको छ ।
कम्पनीले ३ करोड ७३ लाख रुपैयाँ महाविपत्ति जगेडा कोषमा राखेको छ । यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९० पैसा छ भने प्रतिसेयर नेटवर्थ १ सय ५७ रुपैयाँ ५४ पैसा रहेको छ । एनएलआइसीको जीवन विमा कोषमा ५० अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।