२७ एसएसपीहरुको सरुवाः काठमाडौं प्रहरी प्रमुख फेरिए, ललितपुरमा धानुक (सूचीसहित)
काठमाडौं । गृह मन्त्रालयले २७ जना नेपाल प्रहरीका (प्रहरी बरिष्ठ उपरिक्षक) एसएसपीहरुको सरुवा गरेको छ । मन्त्रालयले बुधबार साँझ उनीहरुको सरुवा गरेको हो ।
मन्त्रालयले सबैभन्दा बढी चर्चामा रहेको महानगरीय प्रहरी परिसर, काठमाडौंमा एसएसपी वसन्त लामालाई सरुवा गरेको छ ।
हालका प्रमुख एसएसपी विश्वराज पोखरेलको ठाउँमा एसएसपी लामालाई सरुवा गरिएको हो । गृहमन्त्रालयले एसएसपी पोखरेललाई दिल्लीस्थित नेपाली दूतावासमा सरुवा गरेको छ ।
लामा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा थिए । एसएसपी लामा मोरङमा भएको सनम शाक्य हत्या र सुन तस्करीबारे घटना बारे छानविन गर्ने सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीका सदस्य समेत थिए ।
त्यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी गणेश ऐरको ठाउँमा एसएसपी रविन्द्र धानुकलाई सरुवा गरिएको छ । यस्तै एसएसपी ऐरलाई प्रहरी प्रधान कार्यालय कल्याण शाखामा सरुवा गरिएको छ ।
एसएसपी धानुकले यसअघि काठमाडौं प्रहरीको प्रमुख भएर काम गरेका थिए । अवधी नपुग्दै उनलाई अञ्चल प्रहरी कार्यालय, धौलागिरी पठाएको थियो । अञ्चल प्रहरी कार्यालय खारेज भएपछि धानुक हाल चार नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।
गृह मन्त्रालयले ६ महिनाअघि रवीन्द्र धानुकलाई हटाएर विश्वराज पोखरेललाई काठमाडौंको प्रमुखमा ल्याएको थियो ।