सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘माधवको पार्टी फुट्छ, रविमाथि कारबाही हुनासाथ सरकार ढल्छ’

बुधबार, २६ वैशाख २०८१, १६ : ५३
बुधबार, २६ वैशाख २०८१

अप्रत्याशित रूपमा सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको भविष्यलाई लिएर विभिन्न आशङ्का देखिएको छ । जसपा नेपालपछि सत्ता घटक एकीकृत समाजवादी पनि विभाजित हुने हो कि भन्ने आशङ्कासहित चर्चा चलिरहेको छ । यता सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै राखेको छ । यस्तो पृष्ठभूमिका बिच सरकारको भविष्य, दल विभाजनको उद्देश्य, एमाले र कांग्रेसको योजनालगायतका विषयमा पुराना वामपन्थी नेता एवं विश्लेषक राधाकृष्ण मैनालीसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश:

देशको पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?

पछिल्लो अवस्था सजिलो छैन । सज्जन नेता भएको भए गणतन्त्रभन्दा राम्रो व्यवस्था अन्य हुँदैन । पात्र राम्रो भए गणतन्त्र सुन्दर हुन्छ । खराब पात्रले राम्रो व्यवस्था पनि बदनाम हुन्छ ।

हिजोको निर्दलीय व्यवस्थामा राजा महेन्द्र तुलनात्मक रूपमा राम्रा थिए । उनले ‘डेमोक्रेसी’ खाएपनि देशको अर्थतन्त्र बलियो बनाए । आत्मनिर्भर बनाए । त्यतिबेला नै राजा महेन्द्रले ८७ वटा कृषि फार्म बनाएका थिए । 

अहिले आधुनिक कृषि बनाउन एउटा पूर्वाधार बनेको थियो । राजाको कमजोर पक्ष भनेको ‘डेमोक्रेसी’ खाए । त्यस बापतमा उनी बदनाम भए । अहिलेका नेताहरूले ‘डेमोक्रेसी’ र अर्थतन्त्र दुवै खतम पारे । ‘डेमोक्रेसी’को नाममा अराजकता फैलाए । अर्थतन्त्रको नाममा देश मगन्ते भयो । तुलनात्मक रूपमा पञ्चायत कालमा भन्दा अहिले चरम गरिबी छ । भ्रष्टाचार अहिले ५०० गुणा बढेको छ ।

त्यसो भए अहिलेको सत्ता कसरी टिकिरहेको छ ?

देशको ठुलो म्यानपावर, दक्ष जनशक्ति बिदेसिएका छन् । अहिले झन्डै ७०/८० लाख युवाहरू बाहिरिएका छन् । उनीहरूको बेहाल आफ्नो ठाउँमा छ, तर जनआक्रोश दूर भएको छ । कम्तिमा ५० लाख युवा देशमा भएको भए सडकमा आगो बल्थ्यो । उनीहरू बाहिरिएर देश अझ गरिब भयो । देशमा ४५ प्रतिशत उब्जाउ भूमि बाँझो छ । ६० प्रतिशत खाद्यान्न बाहिरबाट ल्याउनुपर्छ । वैदेशिक रोजगारीका लागि दैनिक दुई हजार मानिस बाहिर जान्छन् ।

 वार्षिक रूपमा अढाई लाख युवाहरू अध्ययनका लागि बाहिरिएका छन् । यस कारण देश कङ्गाल भयो । सत्तासीन नेताहरूको विरोध गर्ने जनशक्ति घट्यो । जनशक्ति कमजोर भएको अवस्थामा अराजक बढ्दा पनि नेताहरू सास फेरेर बसेका छन् । नत्र उहिल्यै सास फेर्न दिँदैनथे ।

जसपा विभाजनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको हात रहेको आरोप लागेको छ, तपाईँ के भन्नु हुन्छ ?

समीकरण बदलिएर प्रचण्ड, ओली, माधव एउटा मोर्चामा आए । बाहिरबाट हेर्दा वामपन्थीबिच एकता हुन्छ भन्ने लागेको छ । हिजो प्रचण्ड, माधव र शेरबहादुर हुँदा प्रधानमन्त्रीको लाइनमा माधवलाई पनि राखिएको थियो । अहिले ओलीको पहलमा समीकरण बनेको छ । यो मोर्चामा माधवको नाममा भागबन्डा लागेन । भागबन्डा नलागेपछि यिनी छटपटाउन थाले । त्यसपछि पश्चिमाहरूले माधवलाई उकास्न थाले । 

पश्चिमाहरूको सहयोग लिएर शेरबहादुर र माधवको गठबन्धन बनाउन खेल चल्न थाल्यो । यो खेलमा उपेन्द्र पनि समावेश भए । यो कुरा थाहा पाएपछि सम्भावित गठबन्धन तोड्न ओलीले जसपा फुटाइदिए ।

फेरि माधवको पार्टी फुटाउन ओली लागेका छन् । ओलीको पहिलो योजना सकेसम्म माधवबाहेक ९ जना सांसदलाई एमालेमा  समाहित गरेर ठुलो पार्टी बनाउने हो । अर्कोतिर ओलीलाई ठुलो पार्टी बनाउन नदिन माधव लागेका छन् ।

 मेरो विचारमा रास्वपा फुटाए वा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गरे भने अहिलेको गठबन्धन फेरि टुट्छ । लामिछानेले फटाइँ गरेकै हो । जहाँसम्म उनीमाथि कारबाही हुन्छ । छानबिनका लागि संसदीय समिति बनाउने बित्तिकै ऊ सरकारबाट बाहिरिन सक्छ । 

त्यही भएर ओली कसिएर लामिछानेलाई बचाउने पक्षमा लागेका छन् । कांग्रेसको दबाब बढेमा कारबाही गर्नुपर्ने हुन्छ । त्यसपछि गठबन्धन टुट्छ । त्यसपछि माधवको नेतृत्वमा गठबन्धन सरकारमा बन्छ । त्यो एक महिनाभन्दा पर जाँदैन । त्यसपछि शेरबहादुर प्रधानमन्त्री हुने हो । ठुलो दलको रूपमा देउवालाई प्रधानमन्त्री बनाउने बित्तिकै अर्को खेल चल्छ । त्रिशङ्कु संसद्को विकृतिमा पनि अति विकृत खेल सुरु हुने भयो ।

अहिलेसम्म तीन वटा गठबन्धन भइसक्यो । अब दुई चार महिनाको बिचमा दुई वटा गठबन्धन बन्छ । त्यसपछि के हुन्छ भन्न सकिँदैन । संसद् भङ्ग हुन पनि सक्छ । अथवा बाहिरी चलखेल भएर स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार पनि बन्न सक्छ । एकदमै गम्भीर खेल भएका छन् । 

सिस्टम चलाउनेतिर कोही पनि गएनन् । गणतान्त्रिक मुलुकमा बढीमा दोस्रो दलको नेतृत्वमा सरकार बन्छ । पहिलो दलको पनि नहुने, दोस्रो दलको पनि नहुने । तेस्रो दलले सरकार चलाउने जनादेश नै होइन । डेमोक्रेसी भनेको एकल बहुमतको सरकार हो । बहुमत नभए ठुलो दलको सरकार बन्छ । ठुलो दलले पनि सरकार चलाउने स्थिति नआएमा दोस्रो दलले सरकार बनाउने हो । नभए मध्यावधिमा जाने हो । यहाँ त तेस्रो दलको नेतृत्वमा सरकार बनाएर सिस्टम कमजोर बनाउने खेल भएको छ ।

प्रचण्डको भविष्य के देख्नुहुन्छ ?

यही सिस्टम रहने हो भने पार्टीका हिसाबले प्रचण्ड, माधव र लामिछानेको हैसियत छैन । अहिलेको निर्वाचन प्रणाली राज्यले धान्नै नसक्ने छ । खर्च धेरै भएर गणतन्त्र हिँड्नै नसक्ने भएको छ । अर्को यो निर्वाचन प्रक्रियाले कसैको बहुमत नै आउँदैन । समानुपातिक राम्रो भए पनि नेताहरूको सालासाली व्यवस्थापन गर्ने भयो ।

 यसले ‘डेमोक्रेसी’को दुरूपयोग भयो । चेतना नपुगेको तल्लो तहलाई सरकारमा ल्याएर हुनेवाला केही पनि छैन । संविधान बनाउँदा ६०१ जनाको संविधानसभा बनाइयो । अन्त्यमा चार जना नेता बसेर संविधान बनाए । कांग्रेस र एमालेले सांगठनिक र संवैधानिक सुधार गरे भने प्रचण्डका अप्ठ्यारो दिन सुरु हुन सक्छ ।

प्रचण्ड सरकार कायमै रहन्छ कि रहँदैन ?

मेरो विचारमा धेरै पर पुग्दैन । ओलीले जसपा नफुटाएको भए पाँच दिनअघि नै सरकार ढलिसक्यो । आफ्नो पार्टी पनि फुट्छ कि भनेर माधव अहिले गम्भीर भएका छन् । एकीकृत समाजवादी पार्टी फुट्यो भने प्रचण्ड सरकार टिक्ला । 

पार्टी फुटेन र लामिछानेलाई कारबाही गर्नासाथ सरकार ढल्छ । बजेटभन्दा पहिल्यै सरकार गिर्छ । त्यही भएर लामिछानेलाई छानबिन आयोगमा लाने कि नलाने विषयमा मङ्गलवार दिनभर सबै नेताहरू बसेर पनि निकास निकाल्न सकेनन् । छानबिन नगरी नछाड्ने कांग्रेस, छानबिन गर्नै नदिने पक्षमा एमाले रहेको छ ।

प्रचण्ड र ओलीको सम्बन्ध के होला ?

ठ्याक्कै अहिले केही भन्ने अवस्था छैन । ओलीको योजना रास्वपा र माधवको पार्टी फुटाएर एमालेमा विलय गराउने र प्रचण्डलाई हटाएर ठुलो दलको सरकार बनाउने हो । विश्वासको मत पाए सरकार चलाउने, नपाएमा मध्यावधिमा जाने ओलीको दाउ छ ।

 ओलीले विगतमा गरेको संसद् विघटनलाई पुष्टि गर्न यो खेल खेल्दैछन् । मध्यावधिमा गएर बहुमत ल्याउने ओलीको दाउ हो । अशोक राई तुरुन्तै एमालेमा जानुभन्दा पनि सरकारलाई नै समर्थन गरेर बसेका छन् । कांग्रेससँग मिलेर होइन आफ्नै नेतृत्वमा सरकार बनाउने दाउ ओलीको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप