शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं ७ को अस्थायी राजधानीमा बढ्यो ट्राफिक समस्या

सोमबार, ०४ भदौ २०७५, १५ : ४९
सोमबार, ०४ भदौ २०७५

धनगढी– प्रदेश नं ७ को अस्थायी राजधानी धनगढीमा ट्राफिक समस्या बढ्दै गएको छ ।  समस्या बढ्दै गएपछि धनगढी उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको संयुक्त पहलमा ट्राफिक व्यवस्थापनसम्बन्धी नयाँ योजनाका साथ काम शुरु भएको छ । जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक अनीलकुमार उप्रेतीले बजारको मुख्य सडकमा भीडभाडको समयमा ठूला सवारी साधन आवागमनमा रोक लगाइने बताए । 

धनगढी उपमहानगरपालिका र ट्राफिक प्रहरीको पहलमा मुख्य सडकका तीन ठाउँमा निःशुल्क ‘पार्किङ स्थल’को व्यवस्था गरिएको छ । ‘केही ठाउँमा पार्किङ स्थलका लागि पहल भइरहेको छ,’ उप्रेतीले भने । धनगढीको चौराहास्थित ट्राफिक चोकमा पहिलोपटक आधुनिक ‘ट्राफिक आई लेण्ड’(ट्राफिक प्रहरी उभिने ठाउँ) स्थापना गरिएको छ ।

यात्रुको आवागमन सहज बनाउन ठाउँठाउँमा ‘जेब्रा क्रसिङ’ बनाउने, बजारमा चलिरहेका विद्युतीय रिक्साको सञ्चालनको उचित व्यवस्थापन गर्ने लगायतका योजना बनाइएको छ । ‘दुई महिनायता बजारमा दुर्घटनामा कमी आएको छ,’ उप्रेतीले भने । 

धनगढीको मुख्य सडकमा विद्युतीय रिक्साको चापसँगै ट्राफिक व्यवस्थानको चुनौती बढेको छ । धनगढीमा झण्डै एक हजार ५०० विद्युतीय रिक्सा सञ्चालनमा छन् । अस्थायी राजधानी तोकेपछि सवारी साधन तथा जनसङ्ख्या थपिएपछि समस्या बढेको हो ।

धनगढीको ट्राफिक चोकदेखि क्याम्पस रोडसम्मको झण्डै चार किलोमिटर क्षेत्रमा बढी समस्या भएको छ । बजार क्षेत्रमा सडक मिचेर घर पर्खाल निर्माण गर्ने क्रम बढेको छ । सडक साँघुरो हुँदै गएपछि ट्राफिक समस्या बढेको हो 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप