शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

देउवासँग एकाएक गले पौडेल, महाधिवेशन प्रभावित बन्ने खतरा

आइतबार, १० भदौ २०७५, १३ : ५९
आइतबार, १० भदौ २०७५

काठमाडौँ– यसअघि भदौ महिनामा बस्ने भनिएको काँग्रेस महासमिति बैठक मङ्सिरमा सारिएसँगै काँग्रेसको नियमित महाधिवेशन प्रभावित हुने आशङ्का बढेको छ । 

शनिबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा महासमिति बैठक गर्ने निर्णय गरेको हो । 

शनिबारको बैठकमा मङ्सिरमा महासमिति बैठक गर्ने सर्वसम्मत निर्णय भए पनि यो निर्णयले आगामी डेढ वर्षपछि हुने पार्टीको नियमित महाधिवेशन प्रभावित हुनसक्ने कतिपय काँग्रेस नेता कार्यकर्ताहरूको आशङ्का छ । 

‘जिम्मेवारी बहन गरौँ’
‘यसरी नै समय सार्दै लगियो भने त महाधिवेशन अवश्य प्रभावित हुन्छ । तर त्यस्तो नहोस्, सबै कामहरू रुटिन बनाएर गरियोस् । त्यसो भयो भने आगामी डेढ वर्षभित्र हुनुपर्ने पार्टीको नियमित महाधिवेशन समयै हुनसक्छ’ केन्द्रीय सदस्य चन्द्र भण्डारीको भनाइ छ । नेतृत्वले विधि, विधान र नीति नमान्दा समस्या भएको भन्दै नेता भण्डारीले सबैभन्दा पहिला नेतृत्वको सोचमा परिवर्तन आउन जरुरी रहेको बताए । ‘नेतृत्वले आफूले आफ्नो जिम्मेवारीलाई पन्छाउन छाडेर पूरा गर्नतिर लाग्ने हो भने खासै समस्या हुँदैन’ भण्डारीको बुझाइ छ । 

‘काँग्रेसको विधानमा वर्षको एक पटक महासमिति बैठक बस्नुपर्ने उल्लेख छ । तर २ वर्षमा एकपटक पनि बस्न सकेको छैन । यसबारे हामीले धेरै पहिलेदेखि नै कुरा उठाएका हौँ । अहिले मङ्सिरमा पुर्याइएको छ । मङ्सिरको मितिमा हामीले सहमति जनाउनु भनेको समयमै पार्टीको महाधिवेशन हुन सकोस् भनेर नै हो’, भण्डारीले रातोपाटीलाई बताए । 

तर अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमिति बैठकबाहेक पार्टीमा धेरै कामहरू गर्न बाँकी रहेको बताए । उनले सङ्घीय संरचनामा पार्टीलाई लैजान तल्ला तहलाई पुनर्संरचना गर्ने महत्वपूर्ण काम बाँकी रहेको भन्दै महासमितिलाई देखाएर ती कामहरू रोकिए पार्टीको नियमित महाधिवेशन पनि सर्ने निश्चित भएको बताए । उनले भने ‘महासमिति बहाना बनाएर अरू काम पनि पछि धकेल्न सक्ने सम्भावना छ । त्यसतर्फ हामी सचेत छौँ, चुप लागेर बस्दैनौँ ।’ 

पौडेल लल्याकलुलुक
१३औँ महाधिवेशनदेखि नै काँग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सुमधुर सम्बन्धको विकास हुन सकेको छैन । देउवा सभापतिमा निर्वाचित भएसँगै आफूलाई पेलेर लगेको भन्दै पौडेलले देउवाको सार्वजनिक फोरमहरूमै चर्को आलोचना गर्दै आएका थिए ।

यसअघि भदौमा महासमिति बैठक बोलाउने भनेर पौडेलले नै प्रस्ताव अघि सारेका थिए । तर तिनै पौडेल शनिबार भदौको साटो मङ्सिरमा महासमिति गर्ने देउवाको प्रस्तावमा एकाएक सहमत भए । 

पौडेलले मिति सार्ने विषयमा यति सहजै सहमति जनाउलान् भन्ने उनी पक्षका नेताहरूले सोचेका समेत थिएनन् । शनिबारको केन्द्रीय समितिमा देउवा र पौडेलबीच मिति सार्ने विषयमा एकमत देखिएपछि पौडेल निकटका केन्द्रीय सदस्यहरू तीनछक परे । ‘वरिष्ठ नेता नै गलेपछि हामी के गर्नु ? हामी त महासमितिको मिति सार्ने कुराको विरोध गर्ने तयारीमै थियौँ तर उहाँ (रामचन्द्र पौडेल) नै लल्याकलुलुक हुनुभएपछि हामी चुप लाग्यौँ’ पौडेल निकट एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए । 

उनले भने– ‘उहाँहरूबीच कहिले के विषयमा कुरा मिल्दैन अनि हामीलाई अगाडि सारिन्छ । कुरा मिलेपछि हाम्रो कुनै मतलव नै हुँदैन, यस्तै छ काँग्रेसको राजनीति ।’

देउवाको कोठामा सहमति 
महासमिति बैठकको मिति तय गर्न शुक्रबार नै बैठक बोलाइएको थियो । तर शुक्रबार दिनभरजसो सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मिति तय गर्ने विषयमा एकमत हुन सकेन ।

जसका कारण शुक्रबार बैठक नै बस्न सकेन । शुक्रबार बस्न नसकेको बैठक शनिबार ११ बजेलाई बोलाइयो । शनिबार पनि नेताहरू ११ बजेदेखि नै आन्तरिक छलफलमा जुटे । त्यो छलफलमा सभापति देउवाको अलवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी लगायतबीच लामो छलफल गरी मङ्सिरमा महासमिति बैठक बोलाउने सहमति भयो । त्यसपछि चार बजेतिर मात्रै केन्द्रीय समिति बैठक बस्यो र केही बेरमै निर्णय सुनाइयो ।     

मिति सार्ने निर्णय गलत : सिंह
महासमिति बैठकको मिति सार्ने निर्णयलाई काँग्रेस नेता प्रकाशमान सिंहले गलत भनेका छन् । निर्णय भएको भोलिपल्ट नै नेता सिंहले महासमितिको बैठक पूर्वघोषित मितिभन्दा तीन महिनापछि सार्ने निर्णय गलत भएको बताउँदै यसबाट पार्टी नेतृत्व असक्षम छ भन्ने थप पुष्टि भएको दाबी गरे ।

आइतबार  स्व. मङ्गलादेवी सिंहको २२औँ स्मृति दिवसको अवसमा सोभाभगवतीमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले भने, ‘पहिला मिति तोक्न दिने र त्यसलाई सार्दै जाने काम भयो । पार्टी सभापतिलगायतका नेताहरूले गल्ती गरेका छन् । यसलाई हामी विशेषगरी नेतृत्वकै कमजोरीको रूपमा लिन्छौं ।’ 

नेता सिंहले काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले महासमिति बैठकको मिति सार्ने बहुमतको निर्णयलाई भने आफूहरूले स्वीकारेको बताए । भने ‘तर, यस्ता निर्णयको जनताले मूल्याङ्कन गरिरहेका छन् ।’

‘नियमित महाधिवेशन सर्दैन’
केही नेता कार्यकर्ताले नियमित महाधिवेशन सर्न सक्ने आशङ्का गरे पनि देउवा निकटका नेताहरू भने सभापति देउवा नियमित समयमै पार्टीको १४औँ महाधिवेशन हुने दाबी गर्छन् । देउवा निकट मानिने नेता ज्ञानेन्द्रबहादुर कार्की महासमिति र पार्टीको महाधिवेशनबीच कुनै साइनो नभएको बताउँछन् । उनी भन्छन् ‘विधान मस्यौदा भएपछि महासमितिले पास गर्छ । त्यसपछि तल्लो तहका नियमिति अधिवेशनहरू पनि हुन्छन् । विधान मस्यौदा समितिले आफ्नो काम गरेसँगै सबै काम फटाफट हुन्छन्, यसमा शङ्का गर्नुपर्ने अवस्था छैन’, कार्कीले रातोपाटीसँग भने– ‘सभापति समयमै पार्टीको महाधिवेशन पनि गर्ने सोचमा हुनुहुन्छ ।’

नेता कार्कीले संविधानले एक वर्ष  कार्यकाल थप गर्न मिल्ने व्यवस्था भए पनि त्यसका लागि सबैको सुझाव र सहमति चाहिने बताए । काँग्रेसको १३औँ महाधिवेशन २०७२ चैतमा भएको हो । काँग्रेसको विधानत ४ वर्षमै नियमित  महाधिवेशन हुनुपर्छ  । तर त्यो अवधिमा महाधिवेशन गर्न नसके एक वर्ष थप्न सक्ने अधिकार सभापतिलाई हुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप