शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा अलपत्र नेपालीको स्वदेश फर्कने आश त्रासमा परिणत हुँदै

बुधबार, ०४ साउन २०७४, १० : ५३
बुधबार, ०४ साउन २०७४

लक्ष्मण खनाल

युएई–भिजिट भिषामा दलालले युएई ल्याएर अलपत्र पारेका नेपाली युवाहरुको स्वदेश फर्कने आश त्रासमा परिणत हुन थालेको छ । ठमेलमा रहेको अर्थलाइन र क्रोमेज ट्राभल्समार्फत दुईलाख देखी तीनलाख असीहजार सम्म तिरेर युएई आएका थिए ।

युएईमा आइसकेपछि उनिहरुलाई खाने बस्ने र रोजगार मिलाइदिने जिम्मा लिएका सुजन भनिने प्रेम पाण्डेले अबुधाबीको मुसफामा  राखेका थिए । पाण्डेले जागिर मिलाइदिने वाहानामा प्रतिव्यक्ति युएईमा आइसकेपछी उनीहरुसंग एकहजार डलर असुलेका थिए ।


लामो समयसम्म काम नभए पछि उनीहरुले पाण्डेलाई सोधपुछ गर्दा धम्की दिने, मध्यरातमा नशामा आएर अश्लिल गाली गर्दै कुटपिट गर्ने र भनेको नमाने ठिक पार्ने धम्की दिएको पीडितहरु बताउछन् । 


प्राप्त अडियोमा पाण्डेले नशामा पीडितहरु कुटेर  विभिन्न गाली दिदै भनेका छन – ‘युएईमा भए पनि म जे पनि गर्न सक्छु । कसैले उचालेर उचालिइस् भने म सेटिङ मिलाएर २०÷५० हजार खर्च गरेर भएपनि ठिक पार्छु ।’


पीडितमध्ये दाङ घर भएका कुलबहादुर केसीले भने,– ‘२१ जनामध्ये ४ जनाको भिषा सकिएको पनि ७५ दिन भयो । ओभर स्टे भएको छ । एउटै कोठामा २० जना सम्म राखेको छ दैनिक दलालको शारिरिक र मानसिक यातना सहन नसकेपछि पछि हामी दुतावासमा पुगेको छौ 


के भयो दुतावासमा ?
दलालले आफुहरुलाई दिएको धम्की र यातनाको अडियो भिडियोसहित कार्यबहाक राजदुत नेत्र बहादुर टन्डनलाई निवेदन दिएको पिडितहरु बताउछन् । राजदुतले दुतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीलाई सो समस्या सुल्झाउने जिम्मेबारी दिएका थिए ।


दुतावासले पीडित र पीडकलाई संयुक्त रुपमा राखी समस्या समाधानको पहल गरेको थियो । दलाल पाण्डेले आफुले उनीहरुलाई ल्याएको र उनीहरुसँग रकम लिएको स्विकार गरेको दुतावासका श्रम काउन्सेलर भेषबहादुर कार्कीले बताए । पहिलो पटक दलाल र पीडितहरुविच दुतावासमा भएको छलफलमा पिडक पाण्डेले एक हप्तामा उनीहरुसँग लिएको सम्पुर्ण रकम र ओभर स्टे भएकाहरुले तिर्नु पर्ने जरिवाना दिएर उनीहरुलाई नेपाल फर्काउने प्रतिवद्धता गरेका थिए । 


तर उनले दिएको समयसिमा  वितिसक्दा पनि भने अनुसार नेपाल नफर्काएपछि उनीहरु पुनः दुतावासमा पुगेको र दुतावासले फेरी ३ दिनमा नेपाल फर्काउने बाचा गरेपनि केही दिन पर्खनु  भन्ने जानकारी दिएपछि निराश भएर फर्केको पीडितहरु बताउछन । 


दुतावासमा मौखिक सहमति भएपनि कागजी सहमती नभएकोले उनीहरु शंकामा रहेको पीडित मध्येका कुलबहादुर केसीले बताए । उनले भने,– ‘हामी लिखित सहमती गरौ भन्ने कुरा दुतावासमा राखेका थियौ । तर दुतावासले साक्षी बस्न नमिल्ने वा काजगीमा सहमती गर्न मिल्दैन भन्दै त्यो किसिमको सहमती हुन सकेन त्यसैले हामी विश्वास गर्न सकिरहकेको छैनौ ।’


पीडित भन्छन - दुतावासले जिम्मेवारी लिएन 
पीडितहरुले दुतावासले आफुहरुको समस्यामा संवेदनशील नभएको गुनासो गरेका छन् । दुतावासमै उभिएर दलालले पैसा असुलेको स्विकार गर्दा पनि समस्या समाधानको लागि दबाब दिनुको साटो उल्टै समयसिमा बढाउनुले शंका उत्पन्न भएको उनिहरुको भनाई छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप