केन्द्रीय संस्करण

सागामा कल्याणीलाई हाइले हान्यो

person access_timeभदौ २७, २०७५ chat_bubble_outline0

‘गुड मर्निङ’, गाडी चढ्न लाग्दा मैले यात्रीहरूलाई भनेँ । तर एउटा कुकुरलाई ‘गुड मर्निङ टाइम’ भइसकेको रहेनछ । काठमाडौंका कुकुरजस्तै ऊ पनि सडकमा मस्तसँग घोप्टो परेर सुतिरहेको थियो । 
केरुङको होटलमा नेपालकै किचेन ब्वाइहरूले तयार पारेको ब्रेकफास्ट खाएर सागातिर हिँड्नै लाग्दा सुरुमै एउटा नौलो दृश्य देखियो । एकजना ड्राइभर छतविनाको ट्याम्पु लिएर भित्री सडकबाट मुख्य सडकतिर मोडिइरहेको थियो । मङ्गोल अनुहारको त्यो ट्याम्पु ड्राइभरले जुँगा काटेको र दाह्री पालेको थियो । तिब्बत भन्नासाथ बुद्धिस्ट भूमि सम्झन्थेँ म, होइन रहेछ । तिब्बतीहरू मुस्लिम पनि रहेछन् ।  

हाम्रो गाडी निरन्तर अघि बढ्दै थियो । बाटोवरिपरि अग्ला झ्याप्प परेका हरिया रूख र घाँस थिए भने आकाशमा बादलका टुक्राटाक्री बालबालिकाझैँ खेलिरहेको थिए । हाम्रा सबै गाडी पेट्रोलपम्प परिसरभित्र पसे । भटाभट तेल हालेर फेरि कुद्न थाले । हामी तिब्बतीयन गीत सुन्दै झन्डै–झन्डै अर्कै भूगोलमा पुग्यौँ । त्यहाँ अघि भर्खर देखेका जस्ता धुपीका बोट थिएनन् । अघिका अग्ला रूख थिएनन् । अघिको जस्तो हरियाली थिएन । हामी जति माथि जाँदै थियौँ, बिस्तारै रूखहरू होचा हुन थालेका थिए । रूख र घाँस पातलिँदै थिए । तर जाडो भने बेस्सरी बाक्लिसकेको थियो । एकाध घन्टामै परिवेश पूरै अर्को भयो ।

हामी हिमालयन डेजर्टमा पुगिसकेका थियौं । मानव वा कृत्रिम प्रयासबाट रोपिएका अपवाद बिरुवाबाहेक त्यहाँ कुनै हरियाली थिएन तर संसारको सिङ्गो छानो मानिसजस्तै जीवन्त थियो । पहाडहरू एकापसमा कुरा गर्दै गरेका त थिएनन्, त्यहाँ ? खैरो रङका पहाडकै पार्टपुर्जाजस्ता लाग्ने स–साना तर मानिस नबसेका इँट्टा आकारका भुइँतले घरहरू छेउमा गाडी रोकेर बाहिर निक्लँदा हावाको आवाज कानैभरि गुञ्जियो । उसको चीसोले छालामा काँडा पनि उमारिहाल्यो । 

हामीले भने शङ्ख फुकेर त्यहाँका माटाका अजङ्गका थुप्राजस्ता पहाडहरूसँग संवाद ग¥यौं । हावाबीच शङ्खको ध्वनि पहाडमा मात्र होइन, आकाशभरि फैलियो । मन चङ्गा भयो । त्यो उडेर मानसरोवर पुग्दै थियो । त्यसभन्दा माथि कैलाश पुग्दै थियो । 

‘ऊँ नम शिवाय’, सबले एक स्वरमा भने । त्यो ध्वनिको भाइब्रेसनमा जाडोले छालामा उमारेका रौंहरू अझ ठाडा भए । अलि अघिसम्म सडककै फेदमा जोडजोडले झर्दै गरेको खोला माथि आइपुग्दा ध्यानमग्न शैलीमा बगिरहेको थियो । पहाडहरू अनेक आकृति र भावनाका देखिन्थे । गीतहरू बदलिँदै जान्थे । पहाडहरू उस्तैउस्तै भए पनि बदलिएका गीतसँगै बदलिँदै थिए । 

तिब्बतको पठार सुरु भइसकेको थियो । पठारैपठार एकै पटक सयौँ पहाडहरू देखिने त्यो उच्चभूमिमा हामी सयौँ किलोमिटर कुदिसकेका थियौँ । 

बाटाका हरेक पोल, पटक पटक आइरहने बडेमानका गेट, बीचबीचमा आउने ससाना बजार र बस्तीका घरहरूमा निसङ्कोच चिनियाँ झन्डा फहराइरहेको देख्दा एक छिनलाई तिब्बत नभएर मेनल्यान्ड चीन नै गएजस्तो लाग्यो । के केही वर्षपछि पनि तिब्बतले आफ्नो पहिचान जोगाइराख्न सक्ला ? आधुनिकताले ‘चीन’मा रूपान्तरित हुँदै गएको ‘तिब्बत’लाई ड्राइभरपछाडिको सिटबाट अगाडिको सिसालाई टाउकाले छुँलाजस्तै गरी म आँखाभरि कैद गर्दै थिएँ ।

छिनछिनमा चेकिङ । चेकिङका चेकिङ । चाइनिज चेकिङ तर चेकिङ झन्झटिलो थिएन । हामीसँगको गाइड चेकिङ प्वाइन्टमा जान्थ्यो । आवश्यक कागजात देखाउँथ्यो र काम भइहाल्थ्यो । चेकिङ प्वाइन्टमा खटिएका कतिपय सेक्युरिटीले यात्रीहरूलाई सलाम ठोकेर बिदाइ गरेको देखेँ । सेक्युरिटी भनेको शासन होइन, सेवा हो भन्ने व्यवहार थियो त्यो । 

थपक्क बसेर ध्यान गरिरहेकाझैँ लाग्ने सविनय पहाडहरूमा सिनित्त परेको सडक लगातार उकालिन थाल्यो । हामी कोङतला पुग्यौं । समुन्द्री सतहबाट ५२३६ मिटर उचाइकोे कोङताला कैलाश यात्राको पहिलो हाइपास थियो । सरदर ३००० मिटरको केरुङबाट एकाध घन्टामै हामीले २२३६ मिटरको उचाइ थपिसकेका थियौं । 

यात्रीहरूमा कैलाश र मानरोवरप्रतिको आस्था थियो तर त्यो आस्थामा उचाइले चुनौती दिइरहेको थियो । उत्साहमा ‘हाइ’ले हान्ने त होइन भन्ने आशङ्का मिसिएको उनीहरूको अनुहारमा प्रस्ट देखिन्थ्यो । काठमाडौंबाट केरुङसम्म आउँदाको हल्ला र होहल्ला निकै सुस्त भइसकेको थियो । उनीहरू ‘ऊँ नम शिवाय’ मन्त्र पटक पटक दोहोर्याइरहेका थिए । तर मन्त्रोच्चारण पनि शिथिल ध्वनिमा परिणत भइसकेको थियो ।

मेरो टाउकोमा पनि कुनै अन्जान किराले कुटुकुटु खाइरहेको थियो । सायद त्यो कुटुकुटु ‘हाइ’ले मसँग जोरी खोजेको सङ्केत थियो । शरीर एकतमासको भइरहेका थियो । त्यसलाई मैले मनदेखि दबाइदिएँ । त्यसपछि बाँकी केही थियो भने, त्यो उचाइको उत्साह थियो । उचाइको बेहिसाब उमङ्ग थियो ।

कोङतालामा एक छिन सबै गाडी रोकिए । त्यहाँ कुहिरोजस्ता हिउँ फिसफिस झरिरहेका थिए । प्रशस्त पानी पिएकाले लघुशङ्काले सताइरहेको थियो । मैले त्यहाँ हतारहतार लघुशङ्कासँगै एक खिल्ली चुरोटको तन्काएँ । त्यसपछि अर्को काम पनि फत्ते गर्नु थियो । त्यसमा पनि किन ढिलाइ गर्नु भनेर कोङतालाको दुई–चार स्न्याप लिइहालेँ । एकाध आफ्नै फोटो खिचिदिन एकजना यात्रीलाई अह्राएँ । उसले मेरो फोटो खिचिदियो । मैले पनि सट्टामा उसको फोटो भटाभट खिचिदिएँ । 

सडकका दुवै किनारका बुद्धिस्ट झन्डाहरूले कोङताला रङ्गीन थियो । पञ्चतत्व मिसिएकोे विशेष रङले कोङताला रङ्गीन हुँदाको रमाइलो मनमा बोकेर हामी सडकसँगै अलि तलतल लाग्यौँ । 

केही तल झरेपछि फाँटैफाँटबीचको फाँटमा गाडीहरू रोकिए । सहयात्री बालाले सडकमा सुतेर हामीहरूको फोटो खिच्न थाल्यो । फोटोमा कोङतालालाई टाँगमुनि पार्ने गरी हामी पनि उफ्रियौं । एउटा खास उचाइ प्राप्त गरेको खुशीको उफ्राइ थियो त्यो । मेरो क्यामरा मैले विमलजीलाई दिएँ । बाला र म हात समातेर फेरि उफ्र्यौँ । हाम्रो ड्राइभर पनि कोङतालालाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्दै थियो । मैले उसले सेल्फी लिइरहेको फोटो खिचेँ । उसलाई त्यो फोटो देखाउँदा जसरी पनि त्यो फोटो उसको विच्याटमा पठाइदिन इसारा ग¥यो । मैले काठमाडौं गएर विच्याट एकाउन्ट खोलेर पठाइदिन्छु भनेँ । काठमाडौं फर्केपछि मैले उसको त्योे मात्र नभएर उसका अनेक फोटा उसको विच्याटमा पठाइदिएँ । उसलाई अङ्ग्रेजी, हिन्दी र नेपाली आउँदैन थियो । मलाई तिब्बतीयन वा चाइनिज आउँदैनथ्यो । हामीले फोटोफोटोमै र सङ्केतमा पछिसम्म कुरा गर्ने गरिह्यौं ।  

बाटा छेउछाउ र बाटैमा पनि असङ्ख्य भेडाहरू देखिए । पठारका असङ्ख्य भेडा टाढाबाट ससाना सेता ढुङ्गाजस्ता देखिन्थे । बथानका बथान चौँरी पनि देखिए । ती चाहिँ अलि ठूला ढुङ्गाजस्ता देखिन्थे । नजिक आइपुग्दा ती प्रिय सुधाहरूमा प्रकृतिको अचम्मको सौन्दर्य सामान्य रूपमा समेत अनुभव गर्न सकिन्थ्यो । गाडीको हर्न सुनेपछि उनीहरू दौडेको दृश्यले मन अलौकिक भयो ।

गाडी र गीत गतिमान थिए । 

हामी ४६४० मिटरमा रहेको सागा पुग्यौं । रात त्यहीँ बिताउनु थियो । रूखहरू थिएनन् तर सामान्य उचाइका पहाडहरू थिए । स्थानीय पहाडजस्तै अग्ला लाग्ने एकाध ठुल्ठुला होटल र सरकारी कार्यालय थिए । जताततै टाँगिएको चिनियाँ झन्डाले सागा रातो देखिन्थ्यो ।

होटल पुगेलगत्तै कल्याणी एक्कासि बिरामी भई । उसलाई लहरे खोकी सुरु भयो । खोकेको खोक्यै गर्न थाली । छाती पनि उत्तिकै दुख्न थालेछ । वातावरण अप्रिय भयो तर आत्तिएर मात्र केही हुनेवाला थिएन । हामीले तिब्बतीयन गाइडलाई बोलायौं र गाडीमा कल्याणीलाई हालेर नजिकैको मेडिकल गयौँ । सेतो कोट लगाएकी सेतै अनुहारकी केटीले तत्कालै काली कल्याणीलाई जाँची तर औषधी दिइन । बरु तत्कालै सरकारी अस्पताल जान सल्लाह दिई । त्यसपछि ऊ इयरफोनमा झुन्डिएर ठुल्ठुलो स्वरमा कसैसँग कुरा गर्न थाली । 

हामी झन्डै आधा किलोमिटर परेको सरकारी अस्पताल गयौं । अस्पतालपरिसर शून्य थियो । सफा थिएन । भुइँतलामा चाइँचुइँ केही सुनिएन । त्यहाँ कोही पनि थिएन । पहिलो तलामा भ¥याङछेउको सिसाले बेरिएको कोठामा दुइटी केटी रहेछन् । उनीहरूलाई बिरामीको अवस्था बताएपछि छेउको अर्को कोठाको बेडमा लगे । बेडमा आराम गर्न भने तर उपचारका अरू सुरसार केही गरेनन् । डाक्टर डिनर खान गएको र केही मिनेटमा आइपुग्ने बताउँदै कुर्न भने । बेडमा पल्टेकी कल्याणीलाई दुईजना तिब्बतीयन गाइडलगायत हामी सबैले घेरेर बसेका थियौं । कल्याणी रोइरहेकी थिई । 

‘सरी ! मैले गर्दा तपाईंहरूले दुःख पाउनुभयो’, त्यति भन्दै ऊ अझ बढी रुन थाली ।

‘यस्तो कुरा नगर । साथी चाहिने यस्तै बेलामा त हो’ भन्दै हामीले उसलाई ढाडस दियौं । 

एक छिनमा एउटा केटो सेतो कोट हातमा लिएर आइपुग्यो र कोट लगाउँदै कल्याणीलाई जाँच्यो । उसले चाहेको औषधी अस्पतालमा रहेनछ । स्टाफ केटीलाई किन्न पठायो र उपचारका अरू विधि सुरु ग¥यो । 
एक छिनमा औषधी पनि आयो । झन्डै एक–डेढ घन्टाको उपचारपछि ऊ ठीक भइहाली । उपचार र औषधि दुवै निःशुल्क थियो । 

हामी होटल फक्र्यौं । होटलमा मेरा लागि ८१०२ नम्बरको कोठा तयार थियो । फेरि पनि शुभाङ्क थियो त्यो । त्यसैले पनि होला, कोठामा निकै शानदार फ्ल्याट स्क्रिनवाला टिभी रहेछ । टिभीको महत्व किन थियो भने त्यो दिन फिफा वल्र्डकप २०१८ को फाइनल डे थियो । फाइनलमा दुई युरोपियन मुलुक फ्रान्स र क्रोएसिया भिड्दै थिए । यता नेपालमा बेलुकीको ८:४५ हुँदा चिनियाँ समय अनुसार रातको ११ बजे फाइनल सुरु हुन्थ्यो । सुरु हुनै लाग्दा टिभी खोल्यौं । तर फुटबल आउने च्यानल खोज्दा भेटिएन । रिसेप्सनमा कल ग¥यौं । एकाध मिनेटपछि एउटी केटी कोठामा आई । निकै बेर लगाएर बल्लबल्ल फुटबलवाला च्यानल लगाई ।

संयोग पनि कस्तो भने जब उसले फुटबल च्यानल लगाई, पहिलो नजरमै गोल भयो । त्यो फिफा वल्र्डकप २०१८ फाइनलको पहिलो गोल थियो । फ्रान्सले उपहार पाएको गोल । क्रोएसियाका खेलाडीद्वारा आफ्नै पोस्टमा भएको आत्मघाती गोल । सुरुबाटै भाग्यमानी सावित फ्रान्सले क्रोयएसियालाई ४–२ को गोल अन्तरले हरायो ।

पहिलो पटक तिब्बतमा मैल फिफा वल्र्डकप फाइनल हेरें । त्यो मैले नेपालबाहिर रहेर हेरेको पहिलो फिफा वल्र्डकप फाइनल थियो । त्यसैले म जहिल्यै सागा सम्झन्छु, वल्र्डकप २०१८ पनि सम्झन्छु । वल्र्डकप २०१८ सम्झे, तिब्बतको सागा सम्झन्छु । फ्रान्स सम्झन्छु र क्रोयसिया पनि । 

फुटबल हेरिरहँदा आँखा रसियामा पुगेको थियो भने शरीर र टाउको दुवै एकाएक काठमाडौंमै भएजस्तो नर्मल भएको थियो । फुटबलको शक्ति ! फुटबल त ‘हाइ’को अचुक औषधि पो रहेछ । ‘हाइ’ लाग्नुका धेरै कारणमध्ये मनोविज्ञान पनि एउटा हो । 

साँच्चैको खुट्टा तिब्बतको सागामा भए पनि मनको खुट्टा रसियाको मैदानमा गुडिरहेको फुटबलसँगै दौडिरहेको थियो ।  

यो पनि पढ्नुहोस्

केरुङमा 'राष्ट्रपति सी' सँग सेल्फी

सीमानामा देश दुख्दा

पासपोर्ट हराउँदाको पिरलो

ल्हासासँग मोहनी थियो तर बोलाई डोल्मालाले


 

अशोक सिलवाल

पत्रकार/ लेखक  तथा   टुर-ट्रेकिङ गाइड  सिलवाल लाङटाङ सद्भावना दूत पनि हुन् ।  उनी  नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का ट्रेकिङ प्रशिक्षकसमेत रहेका छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ