शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जसको बिरामीको उपचार गर्दैमा बित्छ दशैं

बिहीबार, ०१ कात्तिक २०७५, ०७ : ४४
बिहीबार, ०१ कात्तिक २०७५

काठमाडौँ । डाक्टर पङ्कज झा हाल राष्ट्रिय मिर्गाैला उपचार केन्द्र वनस्थलीमा सिनियर चिकित्सकका रूपमा कार्यरत छन् । 

स्वास्थ्य क्षेत्रमा चिकित्सकको जिम्मेवारी पाएदेखि नै उनले परिवारको साथमा दशैँ मनाउन पाएका छैनन् । 

उपचार केन्द्रमा मिर्गाैला फेल भएका व्यक्तिहरू डायलासिसका लागि आउँछन् । उनले यस केन्द्रमा सेवा दिन थालेको ५ वर्ष  वर्ष भयो । सेवा व्यस्तताका कारण अघिल्ला ४ वर्षका दशैँ उपचार केन्द्रमा नै मनाएका थिए । 

यसपालि परिवारका साथ घरमा दशैँ मनाउने डा. झाको ठूलो धोको थियो । त्यसमा पनि विशेषतः बृद्धा आमा र दिदी, दाइ सबैजनाको जमघट हुने आशा थियो । सधैँ उपचार केन्द्रमै दशैँ मनाएका डा. झालाई यो वर्ष साथीहरूले पालो देलान् र आमालाई पनि सँगै गाउँ लिएर योजना उनको थियो ।  तर यो वर्ष पनि अघिल्लो वर्षहरू जसरी नै उपचार केन्द्रमा बिरामीको हेरचार गर्दैै मनाउने भएका छन् । 

डा. झाको पुख्यौली घर जनपुर हो । उनको आधा परिवार काठमाडौँ र आधा जनपुरमा बस्छन् । यसरी दुईतिर बसोवास गरे पनि दशैंको समयमा सबै परिवार जनकपुरमै जमघट गर्थे र दशैँ मनाउँथे । छोरालाई यो वर्ष पक्कै छुट्टी मिल्छ र गाउँमा सँगै दशैँ मनाउन पाइन्छ भन्ने आमाको आशा थियो । तर उनले आशा गरेअनुसार हुन सकेन । यो वर्ष पनि कार्यक्षेत्रमै बिरामीको हेरचाहमा छोराको दशैँ बित्ने भएको छ । 

राष्ट्रिय मिर्गाैला उपचार केन्द्रको सम्पूर्ण जिम्मा डा. झामाथि छ । डा. झालाई दशैँभन्दा ठूलो आफूमाथि सम्पूर्ण विरामीले गरेको विश्वास र केन्द्रले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने छ ।  २४सै घण्टा बिरामीको हेरचाहमा खटिरहनुपर्ने पेसाका कारण डा. झा घर जान पाएनन् । उनी भन्छन्– ‘आमा मसँगै गाउँ जाने भनेर बस्नुभएको थियो । ढिलै भए पनि आफ्नै साधन छ जाउँला भनेर बसेका थियौँ तर जान मिलेन । चिकित्सक पेसा यस्तै हो । यो वर्ष पनि घर जान पाइनँ, आमालाई चाहिँ पठाएँ ।’

 डाक्टर झा राष्ट्रिय मिर्गाैला उपचार केन्द्र डायलासिस शाखाका प्रमुख हुन् । दशैँ अवधिभर झाकै नेतृत्वमा किड्नी रोगीको डायलासिस भइरहेको छ । उनलाई दशैँभर आफूले लिएको जिम्मेवारी राम्रोसँग निर्वाह गर्नु छ । 

डा. झा भन्छन्– ‘किड्नी जस्तो संवेदनशील अङ्गका बिरामी जो जीवनका लागि मृत्युसँग लडिरहेका छन् उनीहरुको सेवा गर्नु नै उपयुक्त हुने लाग्यो । यो पेसा अपनाएपछि आफ्नो स्वार्थ मात्रै हेर्नुहँुदैन, सबैको समस्यालाई बुझ्नुपर्ने हुन्छ । त्यसैले परिवारसँगै दशै मनाउन नपाए पनि खुशी नै छु ।’    

डा. झा भन्छन्– ‘परिवारसँग दशैँ मनाउन नपाए पनि उपचार केन्द्रमा बिरामी र संलग्न सहकर्मीसहितको परिवार छ । उनीहरुसँगै दशैँ मनाउँछु । यो मेरो खुशीको कुरा हो । यस्तो कुरामा दुःखी हुनुभन्दा पनि बिरामीको ज्यान बचाउनेजस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको छु । यसलाई मैले गर्व गर्नुपर्छ ।’    

विद्यार्थी जीवनमा डा. झा उत्कृष्ट विद्यार्थी नभए पनि उनलाई चिकित्सा पेसामा लागेपछि दिनरात बिरामीको सेवामा खट्न सकौँला कि नसकौँला भन्ने कुराले जहिल्यै सताइरहन्थ्यो । 

त्यस बेलाका क्षणहरू रातोपाटीलाई स्मरण गराउँदै भन्छन्– ‘म परिवारको कान्छो सदस्य थिएँ । मेरा दिदी र दाइ डाक्टर हुनुहुन्थ्यो । परिवारको मायाममताले अध्ययनमा उत्कृष्ट विद्यार्थी कहिले पनि हुन सकिनँ । 

मलाई डाक्टर बन्नुपर्ने बाध्यता थियो । त्यो बेलामा म बिरामीको सेवामा दिनरात खट्न सकुँला र ? भन्ने प्रश्न आइरहन्थ्यो तर काम गर्दै जाँदा यतिका समय दशैँ, छठजस्ता पर्वमा मैले परिवारभन्दा पनि बिरामीसँग धेरै समय बिताएको छु । सबै कुरा कामप्रतिको लगाव रैछ, त्याग रैछ । अहिले मलाई यही क्षेत्रमा खुसी मिलेको छ ।’  

उनी भन्छन्– ‘घरको दशैँ र कार्य क्षेत्रको दशैँमा निकै भिन्नता छ । तर सन्तुष्टी भने उपचार केन्द्रमा बिरामीको हेरचाह गर्दा मिल्छ ।’ दशैँमा सँगैका साथीसङ्गी, खानापान, धेरै हुन्छ । तर कार्यक्षेत्रमा काम गरिरहँदा परिवारको  याद आउने गर्छ ।’

उनी भन्छन्– ‘कार्यक्षेत्रको दशैँ बिरामीमा केन्द्रित हुन्छु । आफूले जिम्मा लिएका बिरामीलाई केही हुने हो कि भन्ने पीर हुन्छ । बिरामीलाई राम्रो सेवा प्रदान गर्न सकिएन कि भन्ने पनि हुन्छ । तर जति पनि बिरामीसँग मैले दशैँ मनाएको छु । सबैमा हामी बिरामी र डाक्टर होइन दाजुभाइ, दिदी बहिनीजस्तो व्यवहार गरेर सेवा दिएको छु । पीडामा भएका हजारौँ नागरिकलाई सेवा प्रदान गर्न पाएको छु । दशैँमा म घर जाँदा सीमित मेरा परिवार र आफन्त त खुशी हुन्छन् तर स्वास्थ्य संस्थामा देशभरको बिरामी खुशी हुन्छन् ।’ 

जन्मपछिको मृत्यु निश्चित छ तर मिर्गाैला फेल भएका बिरामी दैनिक मृत्युसँग लडिरहेका हुन्छन्, त्यस्ता व्यक्तिलाई हामीले खुशी दिनुपर्छ भन्छन् उनी । त्यसैले उनका लागि घरमा भन्दा पनि स्वास्थ्य संस्थामा दशैँ विशेष ठान्छन् ।

डायलासिस गरिरहेका बिरामीलाई दशैँमा खानपानमा विशेष ध्यान दिन उनको अनुरोध छ । डायलासिस जति पटक गर्नु परे पनि सरकारले निःशुल्क बनाइदिएको छ । 

यस कारण यस्ता पर्वमा बिरामीले खानापानमा कन्ट्रोल गर्न छाडेको झाको अनुभव छ । 

देशकै नाम चलेको किड्नी सेन्टर भएकाले दैनिक बिरामीको चाप पनि बढ्दो छ । टीकाको दिन हुने डायलासिस अघिल्लै दिन हुन्छ । टीकाको दिन चाहिँ बिदा हुन्छ । बिदाको दिनमा पनि टीका लगाउन जाने समयमा बिरामी आउने सक्ने सम्भावनालाई ध्यानमा राख्दै उपचार टोली तयारी अवस्थामा रहेर केही समयका लागि बाहिर निस्कछन् । 

बिहान साढे ६ देखि साँझ ७ बजेसम्म मात्र सञ्चालन हुने डायलासिस सेवालाई उपचार केन्द्रले  अहिले रातको २ बजेसम्म सञ्चालन गर्दै आएको छ । बिरामीको बढ्दो चापले गर्दा राष्ट्रिय मिर्गाैला उपचार केन्द्रमा चिकित्सकको अनुपात कम भएकाले बिरामीको चाप धेरै छ । 

उपचार गदैगर्दा एकजना बिरामीको उपदेश सम्झछन् उनी– ‘मलाई एक जना बिरामीले भन्नु हुन्थ्यो उहाँ त अहिले हुनुहुन्न, उहाँको नाम जानुका ढुङ्गाना हो । उहाँले भन्नु हुन्थ्यो, डाक्टर साब डाक्टर दुई किसिमको हुँदा रहेछन्, एउटा डाक्टर साब र अर्काे डाक्टर । एउटा, जसले औषधि उपचार दिने, गाह्रो रोग भए पनि बिरामीलाई सान्त्वना दिने, बिरामीलाई नजिकबाट नियाल्नेलाई डाक्टर साब र अर्काे नामको मात्रै डाक्टर भनेर डाक्टरको परिभाषा गरिन् । त्यसैले मलाई डाक्टर होइन, डाक्टर साब बन्नु  छ । त्यही डाक्टर साब बन्नको लागि दुःख गरिहरेको छु ।’

किड्नीका रोगीलाई सुझाव 
किड्नी बिरामीले के खान हुने नहुने भन्ने कुराको किड्नी फेल नहुँदासम्म लागू हुने कुरा हो । 

फेल भइसके पछि किड्नीकै लागि भनेर खानपानमा ध्यानदिन जरुरी हुँदैन । हप्तामा ३ पटक डायलासिस गर्न सके यो नै बिरामीको लागि पर्याप्त हुन्छ । तर किड्नी फेल भएपछि लिभर, मुटु, मस्तिष्क, नसामा समस्या देखिन्छ । यसको लागि खानाको नियन्त्रण चाहिने हो । 

दैनिक पर्याप्त मात्रामा पानी पिउनुपर्छ । खानापानमा मसला र चिल्लो धेरै भएको खाना खानु हुँदैन । माटोमुनि उत्पादन हुने फलफूल खानु हुँदेन । फलफूलमा आँप, केरा, अनार खानु हुँदैन ।
 भुइँकटहर, अम्बा, नास्पती, स्याउ खानु हुन्छ । तर खाना पाइयो भन्दैमा धेरै खानु हुँदैन ।

 चिसोले निमोनिया गर्ने सम्भावना हुन्छ । सकभर चिसो नखानु राम्रो हुन्छ । यस्ता बिरामीले सकेसम्म मासु नखाएकै राम्रो, खाए पनि कम खानुपर्छ । 

रातो मासु  स्वस्थ्य व्यक्तिका लागि पनि नराम्रो हो भने किड्नीका बिरामीका लागि त झनै हानिकार हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप