केन्द्रीय संस्करण

अञ्जली दिदी : जसका छन् रिक्सा चालकदेखि पूर्वप्रधानमन्त्रीसम्म दाजुभाइ

person access_timeकात्तिक २३, २०७५ chat_bubble_outline0

काठमाडौँ– २१ वर्षअघि उनी सामूहिक भाइटीकाका लागि एक सय आठ भाग माला र सगुन लिएर काष्ठमण्डपमा रहेको गोरखनाथ मन्दिर पुगेकी थिइन् । 
काष्ठमण्डप जानु अगाडि उनका आफ्ना दाजुले जिस्क्याएका थिए, ‘तिमीले पूजा गर्दा गोरखनाथ बाबा प्रत्यक्ष आउँछन् होला है ।’ 

जब उनी काष्ठमण्डप गोरखनाथको मन्दिर पुगिन्, त्यहाँ घरमा दाजुले जिस्क्याएर भनेजस्तै एकजना अनौठो देखिने खालका जट्टावाला जोगी बसिरहेका थिए । 
त्यो देख्दा उनलाई साँच्चै भगवानको अवतार नै हो कि जस्तो लाग्यो रे । उनले ती जोगीलाई गोरखनाथ बाबा ठानेर टीका लगाइदिइन् । उनी बालेनन् । अन्डा सगुन दिइन् । बाबाले लिएनन् । 

दहीमा हालेर लड्डु दिएपछि उनले खाए । घरमा दाजुले जिस्क्याएर जे भनेका थिए, काष्ठमाण्डप पुग्दा पूरा भयो । यसलाई भगवानको शक्ति ठान्छिन् उनी । उनी हरेक वर्ष गोरखनाथको दर्शन गर्छिन् । 

उनी अर्थात् अञ्जली मास्के । सहोदर दिदीबहिनी नहुने दाजुभाइहरूको भावनात्मक सम्बन्धकी दिदी अञ्जली ।
 ७३ वर्षीय उमेरमा पनि उनको सक्रियता भने निकै लोभ लाग्दो छ । उनी निकै हसिँली अनि हट्टा कट्टा पनि । हामी ताहाचल उनको घरमा पुग्दा यसपालिको तिहारको तयारी गरिरहेकी अञ्जली २० वर्ष अगाडिको तिहारमा फर्किइन् । 

अर्थात ०५५ सालको सामूहिक भाइटीका । त्यो नै उनको पहिलो सामूहिक भाइटीका थियो । त्यसबेला उनले लगेको एक सय आठ सगुन सबै भाग सकियो अर्थात उनको हातबाट एक सय आठ जनाभन्दा बढीले सामूहिक टीका थापे । सबैलाई बस्ने ठाउँ थिएन, त्यसैले कसैले बसेर टीका थापे, त कसैले उठेर नै लगाए । 

त्यसपछि उनी हरेक वर्ष यस्तै गरेर सामूहिक भाइटीका लगाउँदै आएकी छिन् । संयोग नै मान्नु पर्छ अहिलेसम्म कुनै वर्ष छैन्, जहाँ उनको टीका रोकिएको होस् ।

 उनले निरन्तर दिदीबहिनी नभएका दाजुभाइहरूलाई टीका लगाइदिँदै आएकी छन् । त्यसैले त अहिले सबैले ताहाचलकी अञ्जलीलाई ‘दिदी’का रुपमा सम्बोधन गर्छन् । त्यसैले त हरेक वर्ष तिहारमा अञ्जली दिदीलाई सम्झने गर्छन् । 

यो वर्ष पनि विगतमा जस्तै दशैँको भोलिपल्टबाट अञ्जली भाइटीकाको तयारीमा जुटेकी थिइन् । 

यसपालि एक सय ८० जनालाई टीका लगाइदिने गरी सगुन (भाइमसला) बनाइसकेकी छिन्, उनले । तर, उनलाई चिन्ता पनि छ । कतै यो वर्ष उनले तयार पारेको सामग्री खेर त जाँदैनन् भनेर । तर पनि उनी विश्वस्त छिन् । विगतका वर्षजस्तै अहिले पनि तयार पारेको सगुन अनुसार दाजुभाइ टीका लगाउन आउँछन् भनेर । 

सुरुमा एक सय आठ जना दाजुभाइलाई टीका लगाइदिए पनि त्यसपछिका वर्षमा भने उनले दुई सय आठ दाजुभाइलाई टीका लगाउँदै आएकी छन् । 

यो वर्ष पनि उनी काष्ठमाण्डप बाहिर भाइटीका लगाउने तयारीमा छिन् । 

भूकम्पले ध्वस्त पारेको काष्ठमण्डपमै उनले बाहिर भए पनि भाइटीकाको बन्दोबस्त मिलाएकी छिन् । यो तिहारमा पनि उनले सामूहिक भाइटीका शुक्रबार दिउँसो १ बजेबाट साँझ ४ बजेसम्म लगाइदिने तयारीमा छिन् । 

हजारौँ दाजुभाइकी दिदी अञ्जली हामीलाई आफ्नो विगत बताइरहँदा बेलाबेला सहोदर दाजुलाई धेरै पटक सम्झिइन् । 

आफ्ना दाजुलाई घरमा टीका लगाइदिइसकेपछि उनी हतारिन्थिन्,  काष्ठमण्डपतिर जान । तर अहिले उनका दाजु बितेको चार वर्ष भयो । यो वर्षको तिहारमा दाजुको निकै याद निकै आइरहेको उनी बताउँछिन् । 

‘दाजु सम्झिँदा आँखामा आँशु त आइहाल्छ नि ।’ अञ्जलीले आँशु पुछ्दै भनिन्, ‘संसारको नियम नै यस्तै छ । एक दिन सबै मरेर जानैपर्छ ।’ 

आफ्नै दाजुलाई तिहारमा टीका लगाउँदा जे सगुन दिन्थिन्, अरू दाजुभाइलाई पनि टीका लगाएर त्यही सगुन दिने गरेको बताउँछिन् अञ्जली । 
‘मैले आफ्ना दाजुलाई भाइटीकामा जे सगुन दिन्थेँ, अरू दाजुभाइलाई पनि त्यही दिनेगरेको छु । अहिले दाजु त हुनुहुन्न । तर पनि मैले टीका लगाउने सबै दाजुभाइ आफ्नै लाग्छ ।’ 

काठमाडौंको नेवार परिवारकी अञ्जलीकहाँ टीका लगाउन सबै समुदायका व्यक्ति पुग्छन् ।

 उनको सामूहिक भाइटीकाको २० वर्षे अनुभवमा पाँच वर्षदेखि १ सय २ वर्षसम्मका दाजुभाइलाई टीका लगाएको बताउँछिन् । बाबा गोरखनाथको भक्त भएको बताउने अञ्जली आफूलाई भगवानले शक्ति दिएको ठान्दछिन् । 

‘भगवानले मलाई केही न केही शक्ति दिएर नै होला, तिहारमा निधार खालि भएका दाजुभाइको मन खिन्न भएको देख्न सकिनँ । त्यसैले भगवानकै काखमा भाइटीका लगाउने सोच आयो । म धेरै खुशी छु । बाँचुञ्जेल म यो कार्यलाई निरन्तरता दिन्छु ।’ अञ्जलीले भनिन् । 

उनले नेवारी परम्पराअनुसार टीका लगाइदिन्छिन् । सकभर सबैलाई उनी आफै टीका लगाइदिने गर्छिन् ।
 उनले नभ्याएको खण्डमा भने सहयोगका लागि एक दुई जना बहिनीहरूलाई पनि सँगै राख्छिन् । 

मुख्य टीका र माला भने अञ्जली आफैले लगाइदिने गरेको बताउँछिन् । त्यसले आत्मीयता बढाउँछ भन्छिन् अञ्जली । 

सबैलाई समान व्यवहार
उनले घरमा टीका लगाउँदा दाजुले दिने उपहार भने लिन्थिन् । यो संस्कार र परम्परा नै थियो । 

तर उनले सामूहिक टीका लगाउँदा भने उपहार र दक्षिणा केही लिन्नन् । 

पैसाको अभावमा रहेकाहरू पनि सजिलो मन लिएर आउन सकून् भन्ने उनको चाहना छ । ‘मभित्रको दिदी भावनाले धनी–गरिब सबैलाई बराबर ठान्छ ।’ उनले भनिन्, ‘कम्तीमा पैसाकै कारण कसैले भाइटीकाबाट वञ्चित हुन नपरोस् । कसैको मन खिन्न नहोस् भनेर मैले यस्तो सोचेकी हुँ ।’

टीका लगाइदिएबापत सुरु सुरुमा दाजुभाइहरूले दक्षिणा र उपहार लिन निकै आग्रह गर्दथे । तर अञ्जलीले घरको दाजुबाहेक अरूबाट उपहार वा दक्षिणा नलिएको बताउँछिन् ।

 ‘आजकल भने सबैले थाहा पाइसक्नु भयो । मैले स्वच्छ मनले टीका लगाउँछु । त्यसैले होला मलाई अहिले सबै पुग्दो छ । मैले टीका लगाइदिएका दाजुभाइको आशीर्वादले होला यो उमेरमा पनि समाजसेवाको भावनामा कुनै कमी आएको छैन । त्यस्तो रोगले समातेको पनि छैन ।’ उनले टीका लगाइदिने सबैलाई समान व्यवहार गर्छिन् । 

रिक्सा चालकदेखि पूर्वप्रधानमन्त्रीसम्म दाजुभाइ
अञ्जलीको हातबाट टीका लगाउन आउनेमा नेता, प्रहरी, कर्मचारी, व्यापारी, सर्वसाधारण तथा विदेशी सबै हुन्छन् । 

रिक्सा चालकदेखि पूर्वप्रधानमन्त्रीसम्म अञ्जलीकहाँ टीका लगाउन पुग्छन् । 

पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०५५ सालदेखि निरन्तर टीका लगाएका छन् । त्यस्तै काँग्रेस नेता नवीन्द्रराज जोशीले पनि अञ्जलीकै हातबाट टीका लगाउँछन् । बच्चादेखि वृद्धवृद्धा जो कोही उनको हातबाट टीका लगाउन काष्ठमाण्डप पुग्ने गर्छन् । 

‘झलनाथ खनालले सामूहिक भाइटीकाको सुरुवाती वर्षदेखि नै मेरो हातबाट टीका लगाउनु भएको छ । मैले यो पार्टी वा त्यो पार्टीसँग मतलव छैन ।’ अञ्जलीले भनिन्, ‘टीका लगाउँछु भनेर आउने सबैलाई टीका लगाइदिन्छु । मेरा लागि को ठूलो को सानो भन्ने नै छैन । सबै समान ।’

‘कोही आउन नसक्ने भए फोन गरेर आउन सकिनँ भनेर खबर गर्छन् । त्यसबेला मेरा दाजुभाइले ‘मलाई बिर्सेका रहेनछन्’ भनेर खुसी लाग्छ । अञ्जलीले भनिन् । 

अञ्जलीकहाँ टीका लगाउन जानेहरू धेरै आफ्ना दिदीबहिनी नै नभएका हुन्छन् । कोही भने दिदी बहिनी भएर पनि विभिन्न कारणले टीका लगाउन नपाएका हुन्छन् । अझ अचम्म यो छ कि अञ्जलीकहाँ हरेक वर्ष नयाँ नयाँ दाजुभाइ पनि थपिन्छन् । उनी पाका उमेरका व्यक्तिकी पनि दिदी हुन् । उनलाई आफू सबैकी दिदी भएकामा ठूलो आत्मसन्तुष्टि छ ।
आफूले टीका लगाइदिँदा कतिपय दाजुभाइहरू रुने गरेको बताउने अञ्जली त्यस्तो बेलामा भने कसैको भावनामा मल्हम लगाइदिए जस्तो अनुभव भएको बताउँछिन् । 

समाजसेवा गर्दा खर्चको हिसाब हुँदैन
काठमाडौँको नेवार समुदायमा जन्मेकी अञ्जली तिहारमा हुने खर्चलाई उनले कहिल्यै पनि हिसाब गरिनन् । खर्चको हिसाब गरेर भावनात्मक अनि आत्मीय सम्बन्धहरूको ओज घटाउन हुन्न भन्ने उनको बुझाइ छ । उनका छोराबुहारी बेलायत छन् । पेसाले दुवै जना डाक्टर हुन् । आमालाई चाहिने सहयोग उनीहरूले नै गर्छन् । त्यसैले होला उनीहरूले पनि कसैसँग उपहार र दक्षिण नलिन भनेर आमा अञ्जलीलाई सुझाउँछन् । उनले खर्च कति लाग्छ भनेर नबताए पनि उनको अहिलेको तयारी देख्दा झण्डै ५०, ६० हजार खर्च हुने देखिन्छ । 

‘भगवानको आशीर्वादले मैले धेरै दाजुभाइलाई टीका लगाउन पाएकी छु । यो धर्मसँगै समाजसेवा जस्तै हो । धर्म र समाजसेवामा खर्च यति भयो भनेर हिसाब किताब गर्नु राम्रो लाग्दैन । दाजुभाइ दिदीबहिनीबीच माया आशीर्वाद पो साटासाट गर्ने, तिहारको महिमा नै त्यही हो । पैसा के लेनदेन गर्नु ? अञ्जलीले भनिन् ।’ 
भगवानप्रति आस्था भएपछि नै मान्छेप्रति आस्था जाग्ने हो भन्ने अञ्जलीको बुझाइ छ । तर अञ्जलीले अहिले जे गरिरहेकी छिन्, त्यो नाम वा दाम कमाउने स्वार्थले गरेको काम होइनन् । त्यसैले पुगेसम्म र उमेरले साथ दिएसम्म यो अभियानलाई निरन्तरता दिने उनको सोच छ । आफ्नो स्वास्थ्यले साथ दिएसम्म गोरखनाथ बाबा र सबै दाजुभाइलाई साथ दिने अञ्जलीको चाहना छ ।

अपडेट : 

‘अञ्जली दिदी’ ले लगाइदिइन्  करिब २०० जनालाई भाइटीका

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ