केन्द्रीय संस्करण
विचार

घुँडा टेकाएर नै समाजवाद आउने हो ?

person explore access_timeकात्तिक २६, २०७५ chat_bubble_outline0

यस पटकको दशैं हाम्रा राष्ट्रपति टीका प्रकरणले निकै चर्चित बन्न पुग्यो । घुँडा टेकाएर टीका लगाइदिएको घटना व्यापक रूपले प्रचार भएपछि भाइटीका कार्यक्रममा पत्रकार प्रवेशनिषेध गरियो । 

दशैंको बेला मान्यजनबाट टीका ग्रहण गर्नु नेपालीको पुरानो परम्परा हो । यसलाई पारिवारिक पर्वका साथै सामाजिक, राजनीतिक र प्रशासनिक पर्वका रूपमा समेत मनाउने गरिन्छ । घरमा टीका लगाउने कार्यक्रम सकिएपछि गच्छेअनुसार आफन्त, मान्यजन, जिम्वुवाल, मुखिया, राई आदिकहाँ टीका थाप्न जाने चलन परापूर्वकालदेखि निरन्तर चल्दै आएको छ । राजनीतिक परिवर्तनसँगै तिरो (मालपोत) तिर्ने व्यवस्था पनि परिवर्तन भयो । मुखिया जिम्वालको स्थान गाविस, नगरपालिकाले लिए । अब जिम्वाल खुशी नपारे आफ्नो घरखेत सङ्कटमा पर्ने अवस्था रहेन । त्यसैले टीकाको परम्परा त्यो अध्याय समाप्त भयो । 

मध्ययुगीन सामान्ती परम्परामा आधारित दहीका ठेकी, खसीका फिला, केराका काइँया लिएर मुखिया–जिम्वालकोमा टीका थाप्न जाने चलन हटे पनि नयाँ जिम्वाल– मुखियाको उदय भएपछि त्यसले अर्कै ढङ्गले निरन्तरता पाइरह्यो । हिजो राणा प्रधानमन्त्री, वडा हाकिम वा कुनै उच्च पदस्थ राणालाई चाकडी गर्न टीका थाप्न जानेहरू राणा शासन अन्त्यपछि बिस्तारै राजा, भाइभारदार, नेता, मन्त्रीकोमा जान थाले । त्यसबाट राणा शासनविरुद्ध चलेको क्रान्तिलाई गिज्याउने काम भयो । प्रजातन्त्र, स्वतन्त्रता र समानताको सङ्घर्ष गर्नेहरू नै राणाले स्थापित गरेको अपसंस्कृतिलाई निरन्तरता दिएर त्यसको बाहक बन्न पुगे । 

नेपालमा राणा शासनको अन्त्य भएपछि युगले कोल्टे फेरेको मात्र होइन, संसारमा विज्ञान र प्रविधिको क्षेत्रमा अभूतपूर्व क्रान्ति भयो । दुनियाँको राजनीतिक र आर्थिक अवस्थामा पनि ठूलो परिवर्तन आयो ।

नेपालमै पनि पटक–पटक आन्दोलन, सङ्घर्ष, द्वन्द्व, हिंसाका ठूल्ठूला घटना भए । त्यसमा २०४६ सालको प्रजातन्त्र स्थापनाको घटना र २०६२–६३ को आन्दोलन, जसले राजतन्त्र अन्त्यको पृष्ठभूमि तयार पा¥यो । विशेष उल्लेखनीय छन् । यसबीचमा राजनीतिक हिसाबले नेपालमा पर्याप्त छलफल, बहस, विचार–विमर्श नरएको होइन तर त्यसलाई दिगो बनाउने, स्थापित गराउने र लोकजीवनसँग जोड्ने काम संस्कृतिले मात्र गर्न सक्थ्यो । हाम्रा नेता र पार्टीहरूमा रहेको सांस्कृतिक दरिद्रताका कारण त्यो पाटो अपुरो नै रह्यो । 

घटनाक्रमले नेपाली राजनीतिक आन्दोलनको अगुवाइ गर्नेहरूको सांस्कृतिक स्तर निकै कमजोर देखायो । अरू त अरू संसारलाई नै फेर्ने अदम्य साहसका साथ क्रान्तिमा होमिएको माओवादीमा समेत सांस्कृतिक स्तर निकै न्यून रहेको घटनाक्रमहरूले उद्घाटित गरिदिए । स्वयम् माओवादी आन्दोलनका नेता प्रचण्ड पण्डाहरूको बहकावमा लागेर भैंसी पूजा गर्न तयार भए भने माओवादीको सांस्कृतिक स्तर के रहेछ भन्ने प्रष्ट भएन र ? त्यसैगरी सामाजिक क्रान्तिको डिङ हाँक्ने र समाजवादको नारा उराल्ने एमाले नेता माधव नेपालले केही वर्षअघि दशैंको टीका लगाइदिएर श्रीमतीलाई खुट्टामा ढोगाएको प्रसङ्ग पनि कम रोचक छैन । हाम्रो संस्कृतिमा श्रीमान् श्रीमतीको हैसियत कति फरक छ । त्यो जगजाहेरै छ । श्रीमतीलाई खुट्टामा ढोगाउने, खुट्टा धोएको पानी खुवाउने पम्परा तोड्न क्रान्तिमा होमिएका कम्युनिस्ट नेताहरूको यो शैलीबाट नेपाली जनता कसरी लाभान्वित हुन सक्छन् ? हाम्रो समाजमा रहेको चौतर्फी शोषण, दमन, असमानता र भेदभाव अन्त्यका लागि नै क्रान्तिको आवश्यकता परेको होइन ? क्रान्तिको एउटा चरण पार भएपछि क्रान्तिकारीहरूले नै अन्धविश्वासका पूर्ववत् परम्परालाई बचाइराख्ने हो भने तिनको क्रान्तिकारिताको असलियत के रहेछ त ? 

यो वा त्यो दल भनिरहनु पर्दैन । नेपाली समाजले जसरी चेतना र जागरणको काँचुली फेर्दैछ, राजनीतिक आन्दोलनका अगुवा भएर सत्तामा पुगेकाहरू त्यसविपरीत अन्धविश्वास, कुरीति र कुसंस्कारको दलदलमा नराम्रोसँग किन फस्दै छन् ? तिनले त्याग्दै जानुपर्ने गलत परम्परा र संस्कारको जगेर्ना गरेका मात्र होइनन्, त्यसलाई मलजल गरेर हुर्काउन सारा शक्ति लगाइरहेका छन् । प्रधानमन्त्री निवासमा पस्ने बेलामा मुलुकका पहिला कम्युनिस्ट !? 

प्रधानमन्त्री मनमोहन अधिकारीले कालो बोको पूजा गरेर त्यसको रगत टेकेर भित्रिएको घटना अब बिर्सिने अवस्थातिर गए पनि यस पटकको दशैंमा राष्ट्रपति र प्रधानमन्त्रीको टीका कार्यक्रमले फेरि अर्को डरलाग्दो विकृतिलाई आमन्त्रण गर्दै छ ।

अहिले प्रसङ्ग दशैंको टीकाको हो तर हाम्रो प्रधानमन्त्री निवास, राष्ट्रपति भवनका यस्ताखाले चर्तिकलाले के देखाउँछ भने हाम्रा राष्ट्रपति, प्रधानमन्त्रीहरूले आफूलाई नयाँ वादशाह ठान्न थालिसकेका छन् । तिनीहरूको शान, रवाफ र फूर्तिले देखाउँछ, उनीहरूले आफूलाई नेपाली नागरिकको स्तरभन्दा धेरै माथि ठानिसकेका छन् । यो हाम्रो शासकहरूको सांस्कृतिक पतनको पराकाष्ठा हो । लोकतन्त्र र समाजवादमा त्यस्ता घटना नहुनुपर्ने हो । लोकतन्त्रमा शासक र जनप्रतिनिधि जनताभन्दा ठूला हुँदैनन् । तिनीहरू जनताका प्रतिनिधि मात्र हुन् ।

जनताका छोराछोरीले राष्ट्र प्रमुख बन्ने अवस्था पाएपछि र अझ कम्युनिस्ट नामको दलका कार्यकर्ता हुँदै राष्ट्रपति भएपछि त नागरिकलाई दास र रैतीको व्यवहार गर्नु नहुने हो । तर यस पटकको दशैंको टीका कार्यक्रममा राष्ट्रपति महोदयलाई शक्तिको उन्मादले अन्धो बनायो र उहाँले आफूलाई महारानी सम्झन पुग्नुभयो र टीका थाप्न आउनेलाई रैती ठानेर घुँडा टेकाएर टीका लगाइदिनु भयो । अचम्म त यो भयो कि उहाँले आफन्त, अन्य केही प्रियपात्रलाई कुर्सीमा राखेर टीका लगाइदिनु भयो भने बाँकीलाई घुँडा टेकाएर नै टीका लगाइदिनु भयो । यस घटनाले मात्र होइन, हाम्रा राष्ट्रपतिका यसअघिका व्यवहारले पनि उहाँ इमेल्दा मार्कोसभन्दा कम हुनुहुन्न भन्ने देखाउँछ । त्यसो भन्नुपर्दा गणतन्त्रका लागि जीवन बलिदान गर्ने सहिदको अपमान हुन्छ भन्ने स्वतन्त्र नेपालीको लज्जाले शिर निहुरिन्छ ।

२०६५ सालको राजतन्त्र अन्त्यको घटनाअघिसम्म राजाले पनि दशैँमा मन्त्री, सेना, प्रहरी, कर्मचारीलाई टीका लगाइदिन्थे । तर उनले आफूले पनि उभिएरै टीका लगाइदिन्थे भने टीका लगाउने पनि उभिएकै अवस्थामा हुन्थ्यो । त्यहाँ देखिने गरी कुनै असमानताको खाडल हुँदैनथ्यो । दशैँमा मान्यजनले टीका लगाउँदा हाम्रा गाँउघरमा पनि टीका लगाउनेको आशन अघिल्लातिर  टीका थाप्नेको समान्तर आशन बनाइएको हुन्छ । टीका लगाउने जुन अवस्थामा हुन्छन्, टीका थाप्ने पनि त्यही अवस्थामा नै हुन्छन् । आर्शिवाद दिनेले घुँडा टेकाएर आत्मसर्मपण गराउने चलन हाम्रो टीका संस्कारमा छैन । यस्तो दृश्य हाम्रै राष्ट्रपति महोदयको टीका काण्डपछि मात्र देख्न पाइयो । हाम्रो समाजमा घुँडा टेक्नुलाई राम्रो मानिदैन । कुनै संवाद लडाइ–झगडा वा युद्धमा घुँडा टेक्नु भनेको हार स्वीकार गर्नु वा आत्मसमर्पण गर्नु भन्ने बुझिन्छ । हाम्रा राष्ट्रपतिले आफ्नै मन्त्री, कर्मचारी वा जनतालाई घुँडा टेकाएर के कुराको सङ्केत गर्न खोज्नु भएको हो, त्यो भने बुझ्न सकिएको छैन । जे भए पनि यसले मुलुकमा डरलाग्दो सांस्कृतिक विचलनको सुरुवात गरेको प्रष्ट हुन्छ । संस्कार–संस्कृति भन्ने कुरा माथिल्लो निकायबाट निःसृत गरिने चीज हो । 

राष्ट्रपति, प्रधानमन्त्री, प्रतिष्ठित व्यक्ति, समाजको अगुवाबाट समाजलाई डोर्याउने, बाटो देखाउने, दिशाबोध गर्ने कार्य हुनुपर्छ । त्यही कुराले कालान्तरमा परम्परा र संस्कृतिको रूप लिन्छ । राम्रो संस्कार, परम्पराबाट दीक्षितहरूले समाजलाई सही ढङ्गले डोर्याउँछन्, गलत बाटोमा भड्किन दिँदैनन् । शक्तिको अहंकार र सत्ताको उन्मादले ग्रस्त शासकहरूबाट संसारमा यस्ता थुप्रै घटना भएका पनि छन् । 

जनताले पटक–पटक लडेको, सङ्घर्ष गरेको, जीवन बलिदान गरेको स्वतन्त्रताका लागि हो । राजाको शासनकालमा जनआकाङ्क्षा प्रतिविम्बित भएन भनेर राजतन्त्र फालियो । लोकतन्त्र ल्याइयो तर लोकतन्त्रका मसिहाहरू त राजाभन्दा पनि घटिया देखिए । 

अहिले प्रसङ्ग दशैंको टीकाको हो तर हाम्रो प्रधानमन्त्री निवास, राष्ट्रपति भवनका यस्ताखाले चर्तिकलाले के देखाउँछ भने हाम्रा राष्ट्रपति, प्रधानमन्त्रीहरूले आफूलाई नयाँ वादशाह ठान्न थालिसकेका छन् । तिनीहरूको शान, रवाफ र फूर्तिले देखाउँछ, उनीहरूले आफूलाई नेपाली नागरिकको स्तरभन्दा धेरै माथि ठानिसकेका छन् । यो हाम्रो शासकहरूको सांस्कृतिक पतनको पराकाष्ठा हो । लोकतन्त्र र समाजवादमा त्यस्ता घटना नहुनुपर्ने हो । लोकतन्त्रमा शासक र जनप्रतिनिधि जनताभन्दा ठूला हुँदैनन् । तिनीहरू जनताका प्रतिनिधि मात्र हुन् । लोकतन्त्रमा पदीय दायित्वको आधारमा ठूलोसानोको भेदभाव गरिँदैन । लोकतन्त्रमा मात्रै होइन, पौराणिक साहित्यमा पनि यस्ता घटना पढ्न पाइन्छन् । यस्तै एउटा घटना लङ्कापति रावणले रामका प्रतिनिधि हनुमानलाई आफूसमक्ष उपस्थित गराएको र आफू अग्लो आसनमा बसेर हनुमानलाई भुइँमा बस्न लगाएको प्रसङ्ग स्मरण गर्न सकिन्छ । त्यस घटनामा हनुमानले आफ्नो पुच्छरलाई आशनको रूपमा निर्माण गरेर रावणकै बराबरीको बनाएका थिए । 

अझ अहिले पुँजीवादी साम्राज्यवादी भनिएको तर दुनियाँले प्रजातन्त्रको पाठ सिक्नुपर्ने अमेरिकाका राष्ट्रपिता जर्ज वासिङ्टनसँग सम्बन्धित एउटा घटना यहाँ स्मरण गर्न सान्दर्भिक हुन्छ । राष्ट्रपति रहेकै बेला उनी कतै जाँदै थिए, बाटोमा एउटा किसान भेट भयो । किसानले राष्ट्रलाई चिनिहाल्यो र उसले टोपी झिकेर अभिवादन पनि गर्यो । त्यसपछि राष्ट्रपतिले पनि टोपी झिकेर उसलाई अभिवादन गरे । यो कुरा राष्ट्रपतिको अङ्गरक्षकलाई मनासिव लागेन । उसले राष्ट्रपतिको त्यो व्यवहार उचित नभएको बतायो । त्यसपछि राष्ट्रपति नम्र भएर भने– एउटा किसानले त त्यस्तो सभ्य व्यवहार देखाउन सक्छ भने हामी त पढे लेखेका, बुझेका मान्छे हौं । हामीले उसको सभ्य व्यवहारलाई अपमान गर्न कसरी मिल्छ ? 

अमेरिकामा पहिलो राष्ट्रपतिले बसालेको त्यही संस्कारले गर्दा आज ठूलो–सानो, धनी–गरिब, उच्च–नीचको भेदभाव छैन । तर गणतन्त्रपछिका हाम्रा पहिलो निर्वाचित प्रधानमन्त्री, राष्ट्रपतिहरूको क्रियाकलापले चाहिँ शासक र जनताको बीच पुर्न नसकिने खालड निर्माण गर्दैछ ।  यो खेदको विषय हो ।

राष्ट्रपतिको टीका प्रकरणको त्यो व्यवहार एकातिर छ, अर्कोतिर प्रधानमन्त्री आफ्ना आसेपासे, चाकडीबाज, कार्यकर्ता जम्मा गरेर पाँच–पाँच दिन टीका लगाउँछन् । यसले उनको मनोकाङ्क्षा के छ भन्ने सङ्केत गर्छ । 

हिन्दू राष्ट्र भएन भनेर धर्मनिरपेक्ष राष्ट्र भनेर संविधानमा उल्लेख गरियो । हाम्रो समाजमा अपरिहार्य जस्तै रहेका जनै पूर्णिमा आदि जस्ता महत्वपूर्ण दिनका बिदा कटाइयो । तर कालान्तरमा पाँच–पाँच दिन प्रधानमन्त्रीले आशन जमाएर टीका कार्यक्रम गरेर छुट्टै परम्परा बसाल्न खोजे । यो कसरी सङ्गतिपूर्ण हुन्छ ।

सरकारी सञ्चार माध्यममा सूचना जारी गरेर हप्ता दिन टीका लगाउने कार्यक्रमले राज्यको ढुकुटी कति खर्च हुन्छ ? त्यतातिर पनि हाम्रो ध्यान जानु जरुरी छ । हुन त त्यत्रो ठूलो अवसरमा त्यति जाबो खर्चको के कुरा भन्ने पनि छन् । तर राज्य मितव्ययी बन्न सकेन भने गलत परम्परा बस्न सक्छ । अहिलेका राष्ट्रपति–प्रधानमन्त्रीको जस्तो ‘लुट धन फुपूका श्राद्ध’ गरे भने देश टाट पल्टिन धेरै बेर लाग्दैन । अहिले राष्ट्रपति भवनमा दिनै कुनै न कुनै प्रकारको भोजको आयोजना गरिन्छ र त्यसको खर्च राज्यले व्यहोर्नुपर्छ ।

दशैंको टीका प्रकरण र बाह्रैमास–बाह्रैकालको शीतल निवास, बालुवाटार भोज भतेर प्रकरणलाई हामीले कुन रूपमामा लिने ? यसलाई समान्य रूपमा लिने पनि छन् । यसले गम्भीर एवम् दीर्घकालीन दुष्परिणाम निम्त्याउँछ भन्ने पनि छन् । यसलाई अनावश्यक बहसको विषय बनाइनु हुँदैन भन्नेहरूको पनि कमी छैन । बहस जुन रूपमा चलेको भए पनि यो सानो कुरा सामान्य र महत्वहीन विषय भने होइन । राष्ट्र प्रमुखले संसारका सामु आफ्ना नागरिकलाई दुईथरी व्यवहार गरेको कुरा सामान्य हुन्छ ? लोकतन्त्रमा राष्ट्रपतिले सबैका सामु नागरिकलाई घुँडा टेकाएर टीका लगाई दिएको कुरा सानो हुन्छ ? अवश्यक हुँदैन ।

अहिले समृद्ध नेपाल, सुखी नेपालीको नाराको पनि चीरहरण भएको छ । प्रधानमन्त्री र राष्ट्रपतिले आफ्ना आचरण, व्यवहार सुधारेनन् र अभिव्यक्तिमाथि नियन्त्रण कायम गरेनन् भने जनता भड्कन बेर लाग्दैन । मन्त्रीहरू जनतालाई गाली गर्दै चिढ्याउँदै हिँड्छन्, प्रधानमन्त्री मुखमा जे आयो त्यही बोल्दै हिँड्छन् । राष्ट्रपति राज्यको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाउँदै दैनिक भोज पार्टी गर्दै हिँड्छिन् । के यही हो लोकतन्त्र भनेको, यसरी नै समाजवादमा पुगिन्छ ? समाजवादका सांस्कृतिक आधार के हुन् ? समतामूलक समाजको निर्माणका लागि घुँडा टेकाउन अनिवार्य छ कि छैन ? यसको जवाफ राष्ट्रपति महोदयबाट आउनुपर्छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...