शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

५ नम्बर प्रदेशका मुख्यमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

बिहीबार, २९ कात्तिक २०७५, १७ : ५१
बिहीबार, २९ कात्तिक २०७५

बुटवल– प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले आज भेट गरेका छन्  । भेटमा संघीयता कार्यान्वयनमा हालसम्म भएका काम, समृद्धिका लागि प्रदेशका प्राथमिकता, नेपालको विकासमा अमेरिकाले गरेको सहयोग र सहयोगका क्षेत्रबारे छलफल भएको छ ।

मुख्यमन्त्री पोखरेलले  तीन तहको चुनावपछि राजनैतिक संघीयता पूर्ण रुपमा कार्यान्वयन भएको, प्रशासनिक पुनःसंरचना र वित्तीय संघीयता कार्यान्वयन हुन बाँँकी रहेको जानकारी गराएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताएका छन् ।

प्रशासनिक पुनःसंरचनाले प्रशासनिक संघीयता कार्यान्वयन हुने र वित्तीय संघीयता कार्यान्वयन भएपछि संघीयताको पूर्णरुपमा व्यवहारिक अभ्यास र कार्यान्वयन हुने मुख्यमन्त्रीको भनाई थियो ।

भेटमा राजदूत बेरीले नेपालको संघीयता कार्यान्वयनमा अमेरिकी सरकारले के सहयोग गर्न सक्छ भन्ने जिज्ञासा राखेका थिए । उनले अमेरिकाले २ सय ५० वर्षदेखि संघीयताको अभ्यास गर्दै आएको र अझै धेरै गर्न बाँकी रहेको तथा संघीयता कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका थिए ।

भेटमा राजदूत बेरीले समावेशी लोकतन्त्र, सुशासन र स्थायित्वका लागि सँधै मिलेर काम गर्ने बताएका थिए । त्यसैगरी आजै मुख्यमन्त्रीलाई बेलायती सहयोग नियोग डिएफआइडी अन्तर्गतको रोजगारका लागि सीप कार्यक्रमका टिम लिडर बाल्जित भोराले भेट गरेको जनाएको छ ।

भेटमा रोजगार सृजना, सीप विकास र आर्थिक वृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गर्ने विषयमा प्रदेश सरकारसँग मिलेर कार्यक्रम कार्यान्वयन गर्ने बारे छलफल भएको छ ।

चारवर्षे यो कार्यक्रम सञ्चालन गर्न नेपाल सरकार अर्थमन्त्रालयसँग सम्झौँता भइरहेको छ । त्यसअनुरुप यस प्रदेशमा प्रदेशको आवश्यकता, सम्भावना र क्षमताका अधारमा कार्यक्रम पहिचान तथा सञ्चालन गर्ने बारेमा प्रारम्भिक छलफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप