जलेर खरानी भएको सहरको बीचमा उभिएर डोनाल्ड ट्रम्पले के भने ?
प्याराडाइज– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रको भ्रमण गरेका छन् । शनिबार स्थलगत अवलोकनपछि राष्ट्रपति ट्रम्पले विगतमा झैं वन व्यवस्थापनमा भएको कमजोरीका कारण पछिल्लो दुःखद घटना भएको बताए ।
क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो नजिकका गाउँ सहरमा फैलिएर हालसम्म ७६ जनाको मृत्यु भइसकेको छ भने अरु एक हजार भन्दा बढी बेपत्ता भएको अधिकारीहरुले जनाएका छन् । ‘यो धेरै दुःखद् छ,’ ट्रम्पले प्याराडाइजमा भने ।
डढेलोबाट प्याराडाइज नगर लगभग ध्वस्त भएको छ र अधिकारीहरूले पूर्ण रूपमा पुनर्निर्माणको आवश्यकता रहेको बताएका छन् ।
डढेलो करिब ५० प्रतिशत नियन्त्रणमा आइसकेको छ । यद्यपि अधिकारीहरूले पूर्ण रूपमा नियन्त्रणमा आउन यो महिनाको अन्त्यसम्म लाग्न सक्ने अनुमान गरेका छन् । डढेलोबाट जङ्गल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ ।
‘विवरण तलमाथि हुनसक्छ, खोजी तथा उद्वार भइरहेको छ,’ एक सरकारी उच्च अधिकारीले पत्रकारसँग भने ।
खोजी अझै जारी रहेकाले मृतकको सख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीले बताएका छन् ।
यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जङ्गलमा अकस्मात आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रुतगतिमा फैलिएको थियो । डढेलोबाट झण्डै १० हजार निजी घर र दुई हजार ५०० भन्दा बढी अन्य भवन ध्वस्त भएका छन् । –एएफपी