बागलुङमा टेलिकमको आधुनिक ग्राहक सेवा केन्द्र सञ्चालनमा
बागलुङ -नेपाल टेलिकम बागलुङले अाधुनिक ‘ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । याे सँगै सेवा लिन कार्यालयका विभिन्न कोठा (कक्ष) मा धाउनुपर्ने बाध्यता हटेको छ ।
टेलिकमले सेवा प्रवाहलाई व्यवस्थित र ग्राहकमैत्री बनाएको कार्यालय प्रमुख इन्जिनियर केशव शर्माले बताए । ‘सबै खाले सेवा एकै ठाउँबाट दिने व्यवस्था मिलाएका छौं’ शर्माले भने, ‘यसबाट ग्राहकलाई सहजता र सन्तुष्टी मिल्ने हाम्रो विश्वास छ ।’
कार्यालयका अनुसार मोबाइल, ल्यान्डलाइन फोन, इन्टरनेट, सिमकार्ड सम्बन्धी काम, बिल तिर्ने लगाएतका सेवा आइतबारदेखि एउटै कोठाबाट दिन सुरु गरिएको छ ।
यसअघि छुट्टा–छुट्टै ठाउँबाट सेवा दिने गरिएको थियो । ग्राहक सेवा केन्द्रले सेवा लिने दिने कार्यलाई सरल र स्तरीय बनाउनुका साथै समयको समेत बचत हुने कार्यालय प्रमुख शर्माले बताए ।
यसैबीच टेलिकमले धवलागिरी क्षेत्रमा नेटवर्क विस्तारलाई पनि तिव्र गतिमा अघि बढाएको छ ।