शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस बैठकमा देउवाको सुस्त कार्यशैलीको आलोचना : नेताहरुले सोधे, ‘कहिले हुन्छ मन्त्रिपरिषद् विस्तार

सोमबार, ०९ साउन २०७४, १८ : १५
सोमबार, ०९ साउन २०७४

काठमाडौँ – सत्तारुढ नेपाली काँग्रेसले मन्त्रिपरिषद विस्तार गर्न ढिलाई गरेकोमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेको छ । 

पार्टी केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै अधिकांश नेताहरुले प्रधानमन्त्री देउवाको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका हुन् । उनीहरुले मन्त्रिपरिषद विस्तार गरी सरकारको काम कार्वाहीलाई प्रभावकारी गराउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । 
मन्त्रीपरिषदलाई छिटो पूर्णता दिई सरकारको काम कार्वाहीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको ध्यानकर्षण गरिएको पार्टीका केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए । मन्त्रीपरिषद विस्तार नहुँदा सरकारले आफ्नो काम प्रभावकारी ढंगले सम्पादन गर्न नसकेको काँग्रेस केन्द्रीय समितिको निष्कर्ष छ ।

‘मन्त्रिपरिषद् विस्तार छिटो हुनुपर्छ भन्ने कुरा उठेको छ । यसमा ढिलाईले सरकारको प्रभावकारी प्रस्तुति देखिएन भन्ने कुरा पनि उठेको छ । डेढ महिना बितिसकेको अवस्थामा यसले चाँडै पूर्णता पाउनुपर्छ,’ उनले भने, ‘यसबारे बैठकले पार्टी सभापतिको ध्यानाकर्षण गरेको छ ।’

बैठकमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन समयमै सम्पन्न गर्न पनि सरकारको ध्यानाकर्षण गरिएको छ । सबै तहको निर्वाचनमा पार्टीलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन पनि समयमै सक्न प्रधानमन्त्री देउवालाई सुझाव दिइएको पार्टीका केन्द्रीय सदस्य पौडेलले स्पष्ट पारे । 

बैठकमा नेताहरुले नेपाली काँगेसलाई प्रदेश नम्बर २ को स्थानीय तहमा पार्टीलाई पहिलो शक्ति बनाउन आवश्यक पहलकदमी लिन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।


बैठकले स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टी पहिलो शक्ति बन्न नसक्नुमा पार्टी नेतृत्वको कमजोरी रहेको निष्कर्ष पनि निकालेको छ । 

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले त प्रदेश नम्बर २ को निर्वाचनको उम्मेदवारी तय गर्न पार्टी संसदीय बोर्ड नै गठन गर्न पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवासँग माग गरेका छन् । 

पहिलो र दोस्रो चरणको निर्वाचनमा देउवाले आफ्ना पक्षलाईमात्रै उम्मेदवार बनाएका कारण पनि पार्टीले अपेक्षा गरे अनुसार नतिजा ल्याउन नसकेको आरोप समेत लगाउँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप