शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लक्षित वर्गको रकममा दलित अगुवाबीचमै लुछाचुँडी र कुटपिट

सोमबार, ०९ साउन २०७४, १९ : १६
सोमबार, ०९ साउन २०७४

गुल्मी । जिल्ला विकास समितिद्वारा लक्षित वर्गका लागि विनियोजन हुने रकम साविकको अर्वेनी गाविसमा दलित अगुवाहरुबीचमै लुछाचुँडी हुँदै आएको छ  ।  यसपाली त एक आपसमा कुटपिट समेत भएको छ ।

उक्त शीर्षकको रकम बाँडफाँडका क्रममा एमाले कार्यकर्ताहरुले गरेको निर्णयमा असहमति जनाए बापत  माओवादी केन्द्रका एक कार्यकर्तालाई आइतवार निर्घात कुटपिट गरेका छन् ।

कालिगण्डकी गाउँपालिका वडा नम्वर–२ साविकको अर्वेनी गाविस  वडा नम्वर–२ भयकोटका २४ वर्षिय होमबहादुर बिकलाई दलित उत्थान वडा समन्वय समिति अर्वेनीका अध्यक्ष टिकाराम बिकले आफ्ना कार्यकर्ता सुन्दर बिक लगायतका युवाहरु परिचालन गरी अर्वेनी बसपार्क  पछाडी बिकलाई एक्लो पारी कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।

 एमालेको वाहुल्यता रहेको साविकको त्यस गाविसमा गत ५ वर्ष देखि एमाले कै कार्यकर्ता टिकाराम बिक अध्यक्ष रहेको र हाल सम्म उनले दलितहरुका लागि परेको रकमबाट कार्यक्रमहरु एकलौटी र  अप्रादर्शी ढंगले  सञ्चालन गर्दै आई रहेको विषय विरुद्ध माओवादी केन्द्रका कार्यकर्ता  नन्दबहादुर बिकले आवाज उठाउँदै आएका थिए ।

साविकको वडा नम्वर १ , २ र ३ मा ७८ घरधुरी दलित छन् । वडा नम्व् ७ र ८ मा  दलितहरु छैनन् । वडा नम्वर ४, ५ र ९ तत्कालिन गाविस कार्यालय सेरोफेरोमा जम्मा ३२ घरधुरी दलितहरु छन् ।   

‘गाविस सेरोफोरो भएका तिनै ३२ घरधुरी दलितहरुको अगुवाईमा दलितहरुको उत्थानका लागि आएको रकम बाँडफाँड हुँदै आएकोमा ठूलो संख्यामा रहेका माथिल्लो भेगका दलितहरुले अब अध्यक्ष माथील्लो भेगकै बनाउनु पर्छ  । सधै हामी डेढ घण्टाको दुरीमा पर्ने दलितहरु तल आउनु पर्ने, अब तपाईहरु पनि माथी  आउनुपर्छ भनेर भनेका थियौं,’ – माओवादी केन्द्रका कार्यकर्ता नन्दबहादुर बिकले भने ‘मलाई नै कुटपिट गर्ने योजना रहेछ तर एक्लो अवस्थामा होमबहादुरलाई भेटेर कुटेछन् ।’

उनका अनुसार अध्यक्ष टिकाराम बिकले आर्थिक  वर्ष २०६९/०७० देखि  हाल सम्म प्रत्येक वर्ष दलितका लागि  परेको रकमको पुरै हिसाब किताब बुझाएका छैनन् । हिसाब माग्नुको साथै एक्लौटी बाँडफाँडको निर्णयको विरोध गर्दा बिक पिटिएको नन्दबहादुरले बताए ।’

घर जान वसपार्कमा झरेका होमबहादुरलाई एक्लो पारेर कुटेको स्थानीय नेता कमल न्यौपानेले बताए । ‘कोखमा लात्ती मुड्की हाने छन् । सास फेर्न सकिन दाई भन्दै रोइरहेको थियो,’ न्यौपानेले भने ‘लोकतन्त्रमा सहमति वा असहमति जनाउन पाउने अधिकार सवैको हुन्छ तर यहाँ लोकतन्त्र नभएर एमालेको राणाशासन चलेको हो कि भन्ने महशुस भएको छ ।’

एमाले कार्यकर्ता तथा ५ वर्ष देखि दलितहरुको अध्यक्ष रहँदै आएका टिकाराम बिकले भने बेस्सरी नपिटेको जिकिर गरे । उनले भने– ‘हामीहरुले गरेको निर्णयमा उनले असहमति जनाएछन् । त्यसको विवादमा धकला–धकल मात्रै भएको हो, बेस्सरी कुटिएको होईन ।’ 

केही दिनअघि मात्र चन्द्रकोट गाउँपालिकामा एमालेबाटै विजयी वडा नम्वर ५ का वडाध्यक्ष टेकबहादुर पुनले नै स्थानिय अपाङ्गका दलित एवं कांग्रेस कार्यकर्ता मनबहादुर बिकलाई कुटेर कानको जाली नै फुटाइदिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप