केन्द्रीय संस्करण

कथा : मृत्यु उपहार

person explore access_timeपुस १४, २०७५ chat_bubble_outline0

सौगात पोखरेल

 खासमा मान्छेहरू ठूला–ठूला सपना देखिरहेका हुन्छन् । तर जिन्दगीले ससाना समस्यामा लगेर अल्झाएको हुन्छ । उसैै पनि खुशीहरू ससना कुरामा अल्झिएका हुन्छन् । मान्छेलाई कहिले रहरले, कहिले लहडले त कहिले बाध्यताले दुःखको बाटो हिँडाएको हुन्छ । कुनै सिनेमाको डाइलगमा भनेझैँ मान्छेहरू जे सोचिरहेका हुन्छन्, त्यो भइरहेको हुँदैन । जे सोचेको पनि हुँदैनन् तर जिन्दगीमा भने त्यस्तै केही भइरहेको हुन्छ । काम हुनेहरू प्रायः काम गरिरहेका हुन्छन् । काम नहुनेहरू पनि काम खोज्ने काम गरिरहेका भेटिन्छन् । 

बुचरहरू मासु काट्छन् र जिन्दगी चलाउँछन् । उसैगरी केही मान्छेहरू शवगृहमा लासलाई खरानी पारेर जिन्दगी गुजारी रहेका हुन्छन् । तिनै लास चिर्नेहरूमध्येका एक भीम दाइको कथा हो  यो ।
अब आउनुस् एकछिन शवगृह प्रवेश गरौँ । अस्पातालको छेउमा रहेको शवगृहभित्र चिरिएर राखिएका लासका जुलुस भेटिन्छन् । बाहिर लास बुझ्नेहरूको भीड, लास बुझ्नभन्दा पनि लासको रिपोर्ट बुझ्न बसेकाहरूको जुलुस उस्तै छ । 

कुनै भूत बङ्गलामा छिरेजस्तो लाग्ने कोठाभित्र लासहरूसँगै बसेर भीम दाइ प्लेटमा चार चौटा मासु लिएर स्टिलको गिलासमा कोदोको जुस मुख बिगार्दै खाइरहेका छन् । उनी लास चिर्न जानुअगाडि एक स्टिल हानेर मात्र जान्छन् । र त उनी लास चिर्न डराउँदैनन् । त्यो त उनको काम नै हो । उनलाई डर चाहिँ त्यो बेला लाग्छ, जुन बेला उनी चिरिएका लासहरू देख्छन् । उनी काममा यति अभ्यस्त भइसके कि, उनी लास देख्ने बित्तिकै चिन्छन्, को झुण्डिएर मरेका हुन्, को बिष खाएर मरेका हुन्, को नदीमा हाम्फालेर मरेका हुन, को बलात्कृत भएको हो ।

उसो त भीमदाइले लास चिर्ने काम गरेको २४ वर्ष भइसकेको छ । उनी लासहरू देख्दा पनि रुँदैनन् । न रोएकाहरूलाई फकाउँछन् । उनलाई त्यही अस्पतालका केही नर्सहरूले संवेदनाहीन मान्छे पनि भन्छन् । तर उनलाई त्यस्ता कुराले खास केही असर गर्दैन । उनलाई राम्रोसँग थाह छ, मृत्यु नै जिन्दगीको अन्तिम सत्य हो ।

उनलाई लास चिर्न नपाएको दिन साह्रै खल्लो खल्लो लाग्छ वा भनौँ न उनको  सेडुअल नै बिग्रिन्छ । ऊ हरेक लास चिर्नु अगाडि एक स्टिल हान्छ । तर आज उनको हात मदिराको मागले कामिरहेको छ ।

उनलाई बस्दा बस्दा पट्यार लागेको छ । सधैँजसो मान्छेका आवाजले पनि हल्लाको अनुभव नगर्ने उनलाई आज माखाको आवाजले पनि डिस्ट्रब गरिरहेको छ । उनको दिक्दारीलाई तोड्दै शवबाहनबाट झरेर एक थान लास उनकै कोठातिर आयो । ऊ लास आएकोमा भन्दा पनि स्टिल हान्न पाएकोमा ज्यादा खुशी छ । यो पटक लास आउँदा न कुनै जुलुस आयो न आफन्तहरू रुँदै आए । आयो मात्र एक थान लास ट्रलीमा गुडेर आयो । जब  स्टिल सके अनि उनले हातमा कैँची लिएर  लासको सेतो च्यादर उघारे  । 

 यो चोटि उसले लास चिर्न सकेन बरु आँफै चिरियो । उसले भर्खर खाएको रक्सीको नशाले पनि छाड्यो । जाडोको बेला पनि पसिनाले पूरै ज्यान भिज्यो । ज्यानभरी आङै सिरिङ्ग हुने गरी काँडा उम्रिए ।  उनी न डाँको छाडेर रुन सके न छात्ती पिटेर रुन सके । कारण उनले अरूले छात्ती पिटेर रुँदा कहिल्यै सान्त्वना दिएनन् । उनी कोहीसँग केही बोल्न सकेनन् । मानौँ उनी खेतमा बाँदर धपाउन राखिएको बुख्याँचा हुन् ।  गलामा हाड अड्किए जस्तो भयो । तर आँखाबाट आँशु भने झर्न छाडेन । यसरी आँशु नझरेको पनि होइनन् ।  यसैगरी आँशु वर्षौं पहिले पनि झरेको  थियो । जतिबेला फूलमायाले छोरा जन्माउने जितमा आफैलाई मारेकी थिइन् । 

त्यो बेला पनि यस्तै भएको थियो । भीम दाइलाई तर उनी चित्तबुझाउँथे फूलमाया छैन त के भो ? उसले छाडेर गएको मायाको चिनो त छनि ? तर आज त्यही मायाको चिनो पनि चुँडियो । कसले पो आफैले जन्माएको छोरोको शरीर चिर्न सक्ला र ? यति निष्ठुरी बनेर ।

फूलमाया मरेदेखि हो भीमदाइलाई पनि मृत्युसँग डर लाग्न थालेको तर उनले आफू डराएको कसैलाई छनकसम्म दिएनन् । यतिसम्म कि उनले आफ्नै छोरालाई पनि आफूले काम गर्ने ठाउँसम्म देखाएका थिएनन् । छोरो सानो छँदा बाबासँग अफिस जान्छु भनेर खुब जिद्दी गथ्र्यो । ऊ मनलाई गाँठो पारेर छोरालाई स्कुल छाडेर हिँड्थ्यो ।

भीमदाइले पुर्पुरोमा हात लगाउँदै एकछिन गम्यो । फूलमायाले उबेला आफ्नो उपचारमा कन्जुस्याइँ गरेर चार तोला सुन छोडेर नगएको भए पनि आज आफ्नै छोरालाई चिर्नुपर्ने थिएन । कारण आज बिहान मात्र भीमदाइले त्यो सुन बेचेर छोरालाई बाइक उपहार दिएका थिए । जसलाई टिपरले ठक्कर दिएको थियो । अनि मृत्युपछि बल्ल छोरा बाको अफिस हेर्न आइपुग्यो ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...