केन्द्रीय संस्करण

व्यङ्ग्य : धूर्त नेता

person explore access_timeपुस २१, २०७५ chat_bubble_outline0

कृष्णप्रसाद सुवेदी

अख्तियार प्रमुख सोचमग्न थिए । उनलाई साना माछा मात्र समातेको आरोप थियो । आरोपबाट छुट्करा पाउन ठूलो माछा समात्ने निधो गरे । दलबलसहित अख्तियार प्रमुख नेताको निवासमा पुगे । यत्रो सुन्दर बङ्गला, गाडी, दौलत कहाँबाट आयो ? पेसा के हो ? भन्दै नेतासामु कड्किए । नेताले भने पेसा ‘राजनीति’ हो । राजनीति भनेको देश र जनताको सेवा होइन प्रमुखले सोधे ? नेताले भने ‘हो’ । यत्रो सम्पत्ति कहाँबाट आयो ? प्रमुखले सोधे । नेताले भने मेरो अर्को पनि पेसा छ । ‘के पेसा ?’ प्रमुखले सोधे । नेताले भने, ‘बाजी मार्ने’ । हो, यो सारा सम्पत्ति मैले बाजी जितेर कमाएको । बाजी मार्दा म सधैँ जित्छु, नेताले भने । प्रमुखले ओठ लेप्रयाए, पत्याएनन् ।

 नेता के कम । ल बाजी मार्ने हो त,  नेताले भने । केमा बाजी मार्ने, प्रमुखले सोधे । मेरो दाँतले मेरो आँखा टोकेर देखाउँ ?  नेताले भने । प्रमुखले मनमनै गमे यो त हुनै सक्दैन । ‘नेता समात्ने र पैसा कमाउने बेला’ यही हो । प्रफुल्ल हुँदै प्रमुखले ५ लाखको बाजी राखौँ भने । नेताले टाउको हल्लाउँदै हुन्छ भने । बाजी राखे । नेताको पालो आफ्नो दुईवटा नक्कली दाँत झिके र आँखालाई च्यापे । बाजी जिते ।
प्रमुख चकित । लामो सुस्केरा हाल्दै सोचे र भने । तपाईंको आँखालाई मुखभित्र हालेर देखाउनुहोस् । नेता पनि के कम, बाजी मार्ने हो भने । प्रमुखले सोचे बेला यही हो अघि हारेको ५ लाख उठाउने र कमाउने । ल १० लाखको बाजी मारौँ, प्रमुखले भने । दुवै राजी भए । दस लाखकको बाजी मारे । नेताको पालो आफ्नो नक्कली आँखा निकाल्दै मुखमा हाले । विद्यार्थीले कलेजमा फुकालेको दाँत र फुटाएको आँखाले पनि बाजी जित्यो । १५ लाख कमायो । गद्गद् हुँदै नेताले भने ।

प्रमुख अक्क न बक्क । रन्थनिएका प्रमुखले नेतालाई पनि नछोड्ने र पैसा असुल्ने उपाय सुझाउन थाले । मनमनै भने ‘हिम्मत नहार आयुक्त’, बल प्रयोग गरेस् । बाजी जितेर सम्पत्ति कमाउनु पनि गैह्रकानुनी हो भन्दै आफ्ना दलबललाई नेता पक्रन आदेश दिए । नेता पनि के कम ! प्रमुखलाई कानेखुशी गर्दै भने । मेरो एउटा गोप्य व्यवसाय पनि छ । के व्यवसाय ? प्रमुखले सोधे । नेताले भने तपाईंले जिउमा घसेको महँगो अत्तर छ नि त्यो म बनाउँछु । कसरी बनाउँछस् ? कहाँ छ फ्याक्ट्री भन्दै प्रमुखले देखाउन भने । नेताले यहीँ घरमा छ भने । आयुक्तलाई लिएर बाथरुममा गए र फ्याक्ट्री यही हो भने । मेरो मूत्र अत्तरजस्तै बासना आउँछ । यसैलाई प्याकिङ गरेर बेच्दछु । पैसा कमाउँछु नेताले भने । 

प्रमुखले बदला लिने अन्तिम अवसर यही हो भन्ने ठाने । मौका यही हो बाजी मार्ने, उनलाई जँच्यो ? नेताले पनि बाजी मार्ने हो भने ? प्रमुखले २० लाख बाजी मारौं भने । दुवै राजी भए । 
नेताले आफ्नो मूत्रले बनाएको अत्तर भन्दै देखाए । तर प्रमुखले पत्याएनन् । सु गरेरे देखाउन भने ।

नेताले प्रमुखलाई टोपी थाप्न भने । प्रमुखले आफ्नो टोपी थापे । नेताले प्रमुखको टोपीमा मूत्र विसर्जन गरे । खोई त अत्तरको बासना आएको ? प्रमुखले भने । प्रमुख टोपी बोकेर बाहिर आए । दलबललाई जाँच्न भने । मूत्रमा अत्तरको बासना नभएको ठोकुवा गरे । नेताले बाजी हारे । बीस लाख प्रमुखलाई बुझाए ।

गुमेको पैसा मात्र होइन नाफा पनि हात परेकोमा आयुक्त दङ्ग । नेतालाई गिरफ्तार गर्ने र ठेगान लाउने मौका यही हो भन्ने उनलाई लाग्यो । कस्तो लाग्यो ? नेताज्यू ! बाजी कहिल्यै हारेकै छैन भनेको हो कि होइन ? तपाईंले सम्पत्तिको स्रोत खुलाउन नसकेकोमा तपाईंलाई किन गिरफ्तार नगर्ने ? भन्दे हत्कडी लगाउन आदेश दिए ।

एक्छिन् ! भन्दै नेता बोल्न थाले । ऊ त्यो घरको छतबाट एउटा मान्छे यता हेर्दै छ नि त्यो मारवाडी हो । ठूलो व्यपारी । त्योसँग अकूत सम्पत्ति छ । अहिले राजनीति गर्छ । सांसद भएको छ । अख्तियार प्रमुख मेरो मान्छे हो भन्थ्यो उसले । सधैँ मलाई अख्तयारमा उजुरी हाल्दिऊँ भन्दै दम्स्याउँथियो । जहिले निहुँ खोज्थियो। थर्काउँथ्यो । आयुक्त आएर तँलाई हत्कडी लगाएर लान्छ अनि थाहा पाउलास् भन्दै धम्क्याउँथ्यो । हैरान पार्यो मलाई । एक दिन, दुई दिन हैन सधैँ तङ गर्दा मलाई पनि झोक चल्यो । त्यो प्रमुख मेरो घरमा मलाई समात्न आए त्यसको टोपीमा सु गरेर पठाइदिन्छु भनेको थिए । त्यसले पत्याएन । हामीले ५० लाखको बाजी मारेका छौँ । तपाईंसँग जम्मा ५ लाख त बाजीमा हारेँ । ५० लाखको बाजी जितेँ । नेताले मुस्कुराउँदै भने । प्रमुख तीन छक्क ।

नेता हौसिए । उनले थपे, होस गरेस् । तिमीलाई प्रमुख मैले नै हो बनाएको । ठूला माछाको पछि नलाग । साना माछाहरू समात मिडियाबाजी गर । यसैमा तिम्रो र मेरो हित छ भन्दा मानेनौ । यसको परिणाम के हुन्छ थाहा छ ? महाअभियोग ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...