केन्द्रीय संस्करण

भस्मासुरको कथाले भन्छः सही बाटो चुनौं

person explore access_timeपुस २८, २०७५ chat_bubble_outline0
photo: dharamsansad.com

पौराणिक समयको कुरा हो । त्यसताका धरैजसो मानिसहरु जंगलमा शिकार खेलेर जीवन चलाउँथे । कति मानिसहरु पशुपालनतिर लागेका थिए । मानिस अझै यायावर नै थिए । साना ठुला नदीकिनारहरुमा कतै कतै खेती शुरु भएको थियो ।

यसै समय एक बस्तीका दुई दाजुभाइ भीमायुध र शतायुध पशुपालनका साथै अव खेतीतिर लाग्ने कि भन्ने सोच बनाइआएका थिए । भीमायुध अलि उग्र स्वभावको थियो । अरुको डाह गथ्र्यो । शतायुध शीतल स्वभाव को थियो । अरुको सेवा सहयोग गर्न पाउँदा खुसी हुन्थ्यो । दुवै उर्जावान् तरुण थिए ।

बगरका ढुंगा पल्टाउँदा पल्टाउँदै एक दिन शतायुधले भीमायुधसँग भन्यो, दाजु, हामी अहिले युवा छौं । यति धेरै मेहनत गर्नसक्छौं । हामी कडाभन्दा कडा तपस्यामा तपेर भगवान्लाई खुसी पार्न पनि सक्छौं । यो यस्तो उमेरमा साधारण काममा अलमलिएर समय नफालौं ।

शतायुधको कुरा सुनेर भीमायुध जुरुक्कै भयो । ठीक भन्यौ भाइ, जाऊँ, भोलिबाटै जाऊँ तपस्या गर्न । आशुतोष भगवान्को तप गरौं र चमत्कारी शक्तिको  वरदान मागौं । भीमायुधले भन्यो ।

ठीक भोलिपल्ट भीमायुध र शतायुध बस्तीको छाप्रो छोडेर जङ्गल पसे । कठिन तपस्या थाले । तपस्या असाधारण थियो । आशुतोष शङ्कर छिट्टै प्रसन्न हुनुभयो । एकदिन बिहानै यी तपस्वीहरुका अगाडि धपधप बलेको उज्यालो अनुहारमा पार्बतीका साथ प्रकट भएर  भगवान् शिवले भन्नुभयो,  “तिमीहरुको तपस्या देखेर  हामी आयौं, के चाहिएको छ राम्ररी सोचेर माग ।”

तपस्यामा जति तपे पनि भीमायुधले आफ्नो पुरानो स्वभाव सँच्याएको थिएन । अर्काको डाहा गर्ने, ईष्र्या गर्ने जस्ता तामसी प्रवृत्ति पखालेको थिएन । आफ्नो प्रवृत्ति अनुसार उसले सोच्यो, यत्रा ठुला भगवान्सँग माग्न पाएको मौका मामूली कुरा किन मागूँ ? बेजोडको चमत्कारी शक्ति माग्छु ।

मनको भाव बुझेर आशुतोष शिवले भन्नुभयो, “ल माग, राम्ररी साचेर माग ।” “राम्ररी सोचरै माग्दैछु भगवन्,” भीमायुधले भन्यो, “मेरो हत्केलामा भस्मकारी शक्ति दिनुहोस् । जसको थाप्लामा म मेरो हत्केला राख्छु त्यो तत्काल त्यहीँ भस्म खरानी होस् । मलाई यही वरदान दिनुहोस् हे आशुतोष, हे भोलेबाबा !”

आशुतोष शङ्करले  शतायुघतिर फर्केर मुस्कुराउँदै सोध्नुभयो, “तिमी के माग्छौ नि ?” “मेरो हत्केलामा आधिव्याधि नाशक शक्ति दिनुहोस् भगवन्, म जसको शिरमा हात राख्छु त्यसको मानसिक शारीरिक तमाम रोगहरु तत्काल निको होस् । मलाई सेवाभाव र रोगनाशक शक्ति दिनुहोस् ।”

दुवै तपस्वीका अनुहारमा हेर्दै भगवान् आशुतोषले भन्नुभयो , “ल, तिमीहरु दुवैको माग पूरा हुन्छ । मैले तथास्तु वरदान दिएँ । भीमायुध, तिम्रो नाम चाहिँ आजबाट भष्मासुर भयो है । आइन्दा तिमीलाई सवैले यसै नामले चिन्नेछन् । अव हामी कैलास जान्छौं ।” यति भनेर शिवपार्बती त्यहाँबाट हिँड्नुभयो र हेर्दाहेर्दै  आँखाबाहिर पुग्नुभयो ।

भष्मासुर अव विश्वविजयमा निस्यो । विभिन्न बहाना बनाएर एक एक शत्रुलाई भेट्यो । टाउका टाउकामा हात राख्यो । खरानी बनायो । अव उसको नाम सुनेरै मानिसहरु तर्सन थाले । उसको अगाडि परिन्छ कि भनेर मानिसहरु एकदमै चनाखो भएर हिँड्न थाले । उ आउँदैछ भन्ने सुनेपछि मानिसहरु फुक्काफाल भाग्थे ।

यसरी सवैलाई थर्काएपछि उसलाई अव विवाह गर्ने रहर जागेर आयो । कति युवतिलाई आफैले भेटेर विवाहको प्रस्ताव राख्यो । देख्दा राम्रो थियो, युवा थियो, वहादूर थियो, धनसम्पत्तिको लेखाजोखा थिएन । तर पनि उससित विहा गर्न कुनै पनि युवति राजी भइनन् । ‘माया गर्दागर्दै टाउकामा हात पु¥याइदियो भने के गर्ने ? खरानी भइहालिन्छ । भो बाबा यस्तासित विहा गरेर खरानी हुने बाटो नलिउँ ।’ सवै युवतिको सोच यस्तै बन्थ्यो । कति कोसिस गर्दा पनि भष्मासुरले विहा गर्ने केटी पाएन । उ थाक्यो ।

थकाइ मार्न एक दिन लामीडाँडाको चौतारीमा बसेको थियो । उत्तरतिर सक्कली हीराको थुप्रोजस्तै टल्किरहेको हिमचुली देख्यो । झल्याँस्स हुँदै एकाएक पार्बतीलाई सम्झ्यो । उठेर सरासर बस्तीमा गयो र एक दूतद्वारा पार्बतीलाई विवाहको प्रस्ताव पठायो । “यस विषयमा एक दिन भेटेरै कुरा गरौंला नि । म समय मिलाएर खवर गरुँला ।” दूतसँग पार्बतीले भन्नुभयो ।

कहिले खबर आउला र पार्बतीलाई भेटुँला भन्ने हुटहुटीले भष्मासुरलाई निद्रा पर्न छोड्यो ।

यता शतायुध अशक्त पीडित बिरामीको खोजीमा  गाउँ,बस्ती, झुप्राछाप्रा चहार्न थाल्यो । शहरका पिछडिएका टोलहरुमा पुग्न थाल्यो । एक एक बिरामीलाई भेटेर सान्त्वना दिने, शिरमा हात राखेर तत्काल सुस्वास्थ्यको शुभकामना दिने अभियानै  चलायो । उसका हातलाई मानिसहरु मायाममताको हात ठान्थे । ओखतीको हात ठान्थे । जहाँ उ पुग्थ्यो त्यहाँ जनस्वास्थ्यको वरदान पुग्थ्यो । उसका हातको स्पर्श पाएर दुनियाँका लाखौं कराडौं बिरामीहरु स्वस्थ भए । सक्रिय भए । स्वावलम्वी भए । जहाँ पनि दुई जना मानिस भेटिए भने शतायुधकै कुरा गर्थे । उसकै कामको बखान गर्थे । इतिहासमा कसैले नपाएको माया ममता र प्रशंसा पायो शतायुधले । जनता उलाई महात्मा शतायुध भन्न थाले । उसको नाम साँच्चिकै दृष्टान्त बन्यो । बाआमाहरु आफ्ना छोराछोरीलाई अर्ती बुद्धि दिँदा भन्न थाले, “भष्मासुरजस्तो विनाशकारी बन्ने होइन मान्छे त शतायुधजस्तो निर्माणकारी बन्नु पर्छ, परोपकारी बन्नु पर्छ, परोपकारीलाई जगत्संसारले मायागर्छ , सम्मान गर्छ ।”

यता भष्मासुरले धैर्य गरिरहन सकेन । सोच्यो, धेरै सोच्यो, जुरुक्क उठ्यो, खास्टो काँधमा हाल्यो र फटाफट कैलाशतिर  दगु¥यो ।

महादेवपार्बती अलकापुरीबाट फर्केर कैलाश उक्लँदै हुनुहुन्थ्यो । परैबाट देखेर हतारमा चिच्याउँदै भष्मासुरले भन्यो, पख महादेव, म तिम्रो थाप्लामा हात राख्छु । मलाई पार्बती चाहियो । ल बित्यास पर्न लाग्यो भन्ने ठान्दै महादव छिटछिटो लम्कनु भयो । अवस्थाको जटिलता बुझेर पार्बती धैर्यसाथ उभिनुभयो र नजिकै आइपुगेको भष्मासुरलाई सम्बोधन गर्र्दै मुसुक्क हाँसेर भन्नुभयो, “तपाइँ बहादूर हुनुहुन्छ, जगत्विजेता हुनुहुन्छ । तपाइँ सवै सवै ऐश्वर्यले भरिपूर्ण हुनुहुन्छ । तपाइँसँग के छैन ? सवै कुरा छ । मलाई भने नृत्य मन पर्छ । अति नै मन पर्छ । नाच भनेपछि म हुरुक्कै हुन्छु । महादेव शङ्कर बडो राम्रो नाच्नुहुन्छ । वहाँको नाच हेरेरै मैले वहाँसँग विहे गरेको ।  तपाइँ पनि नाच्नुस् न । म तपाइँको नाच हेर्छु ।” पार्बतीले आफ्नो  शिरतिर हात लाँदै नृत्यसङ्केत गर्नुभयो ।

पार्बतीका कुरामा लठ्ठ भयो भष्मासुर । उहाँको उज्यालो अनुहारमा पिलिक्क हे¥यो र सवै कुरा बिर्सेर त्यहीँ नाच्नथाल्यो । नाच्दानाच्दै नाचकै तालमा भष्मासुर अनायास आफ्नो टाउकामा हात राख्न पुग्यो ।  एक्कासि चट्याङ् परेजसरी झिलिक्क बिजुली चम्क्यो । भष्मासुर क्षणभरमै डढेर त्यहीँ  भष्मखरानी भयो । 

घटनाक्रम थाहा पाउने मानिसहरुले आपसमा टिप्पणी गरे, “तपस्या त दाजुभाइ दुवैको तपस्या नै हो । आआफ्ना प्रवृत्तिगत विशेषताका कारण एउटा लोकविख्यात आरोग्यदाता व्यक्तित्व बन्न पुग्योे भने अर्को निन्दित घृणित खरानीको थुप्रो ।”  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...