केन्द्रीय संस्करण

मैमत्ता सत्ता  ? (व्यङ्ग्य)

person explore access_timeपुस २९, २०७५ chat_bubble_outline0

वैधानिक बाटोबाट सत्ताको डाडुपुन्यु हात  लागेपछि लाटो पनि बाठो हुँदो रहेछ । पहिलेदेखि नै चम्बु भएका जम्बुहरूको त कुरै बेग्लै । राज्यशक्ति लिएछि कतिपय राजनीतिक मान्छे भैँमा न भाँडा भएर मैमत्ता हुने अपसंस्कृति अविकसित राजनीतिक देशको दीर्घरोग नै भएको छ । यही दशालाई झापड हान्दै कलमवीर लियो टाल्सटायले ब्रह्म खोलेरै भनिदिए– ‘सत्ताले जति हिंसा हुन्छ, त्यति धेरै हिंसा सत्ताको अस्तित्व नरहेमा हुँदैन’ ।

त्यसै भएर नेपाली राजनीतिमा ‘जुन जोगी आयो कानै चिरेका, बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्यो बाङ्गाको बाङ्गै, खोल्यो तर्यो लौरो बिस्र्यो, तैँ रानी मै रानी कसले भर्ने कुवाको पानी ।’ यी उखानहरू सदावहार भएर श्रुति–बगैँचामा फुलेको फुल्यै छन् बा ? नेपाली राजनीतिज्ञहरू आपूm सत्ताबाहिर रहँदा जसरी वैराग्यवादको स्वाँङ रच्छन् सत्तामा समाधिस्थ हुनेबित्तिकै भोगवादको भ्वाँङमा जाक्किन मजा मान्दछन् गाँठे ! कमिसन र थरीथरीका भत्ता = मैमत्ता बनाउने सत्ता हुन पुग्ने रहेछ ।

लोकतान्त्रिक गणतन्त्रको नाममा दिइएका सूचनाका हक, नागरिकका मौलिक अधिकार र प्रकाशन स्वतन्त्रता प्रायः सत्तासीनहरूका लागि थकथक, कचकच, भ्mयाउ, टण्टा र लण्ठामा पो रूपान्तरण हुने रहेछ । यतिखेर नेपालका  सत्ताधिकारीहरूमाझ  ताजा, ताता र पेचिला मुद्दाहरू क्रमशः निर्मला हत्याकाण्ड, बाइडबडीको चार अर्बभन्दा माथिको घोटाला, बूढी गण्डकीको छ अर्ब, एनसेलको तेत्तीस अर्ब, तेत्तीस किलो सुन काण्ड, भूत, प्रेत र ब्रह्मराक्षस भएर तर्साइरहेका छन् ।

अर्कोतिर आलङ्कारिक राष्ट्रपतिका लागि अठार करोडको गाडी, झन्नै डेढ अर्बको सुविधासम्पन्न हेलिकप्टेर, प्रहरी तालिम केन्द्रमा हेलिप्याड बनाउने खाले परिचर्चाले सरकार टाउको दुखाइमा परेको छ । मन्त्री र सांसदहरूले राज्यबाट पाएको सुविधाको दुरूपयोग (घरभाडा, स्वकीय सचिवहरूको नियुक्तिमा नातावाद, पेट्रोल र डिजेलहरूको दोहोरो दोहन आदि) भएका कुरा सञ्चारमा आउँदा ठूलै व्यभिचार भो भनी प्रधानमन्त्रीले संसदमा निकै दरिद्र सम्बोधन गरेर इम्परर न्यु क्लथ भन्ने कथाको झलक दिएको परिचर्चा आधुनिक नारदमुनिहरूले न्वारनदेखिकै बल लगाएर छिरिलबिरिल बनाइदिएका  छन् । चौध वर्ष जेलनेल खाएका प्रमको यो भाषणलाई कतिपय कलम्चीहरूले भूतलाई विर्सिएर वाचाबाट उतर्सिएर थिङ्कट्याङ्करहरूकै दिमाग भुटाइ भनी टिप्पणीको गुलेली हानेका छन् । 

सत्ता चलाउन ढङ्ग नपुगेर आफ्ना महाभुलले  बाटो  बिराएका गतिविधिहरूको उठान आमसञ्चार र सामाजिक सञ्जालमा असारे भेल भएर उर्लिएपछि सत्ताको मैमत्तापनले गाँजेर ओेली बोली गोलीझैँ पटट्ट भो– ‘ल है सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि बर्बर हमला हुँदैछ ।

षड्यन्त्रको तानाबाना बुनिँदैछ, प्रतिगमनका मतियार छँटाउँदै छन् । पदीय हैसियतमा रहेकाहरू अमर्यादित र अशोभनीय भए भनेर प्रमाणसहित घन्किएका आलोचना के लोकतन्त्रमाथिको हमला हो ? गणतन्त्रविरुद्धको ग्रहण हो ? सङ्घीयता खुइल्याउने तातो पानी भनेर बुझिदिने ? हे हरि ! सत्ताको भत्ताले मैमत्ता बनेर जे पनि बकबास गर्न पाइने अधिकार हो लोकतन्त्र ? आलोचना हमला हो भनेर घोषणा गर्नु राणा राजा बन्ने सर्वसत्तावादतिरको पश्चगमन हैन ? प्रतिगामी चिन्तनको सहोदर भाइ हैन ? राणा राजा र  निर्दलीय पञ्चातका शासकसित मितेरी गाँस्न पुगिँदैन । के फुस्सा हो त लामो काराबास, के भुस्सा हो त भूमिगतको चिरकाल ? छातीमा हात राखेर उखानशिरोमणिहरूले सम्झन परेन– नाच्न जान्दैन, आगन टेढो । ढङ्ग मरु, कसो गरुँ ? भाषणले मात्र  रासन पाइँदैन । जो गाउँका मुखिया उही बाटा हगुवा ? 

आलोचना हमला होइन, यो त पौष्टिक आहार हो । आजको चीनको  राजनीतिक यात्रा माओको हैन कन्फ्युसियसको हो । कन्फ्युसियसले आलोचनालाई स्वागत गर्दै भने– ‘जब तिम्रो आफ्नै ढोकाका सिँढीहरू फोहोर छन् भने छिमेकीको छतमाथि रहेको गन्धे फोहोरको निन्दा नगर’ । राज्य चालकमाथि नागरिक रखबारी हुनै पर्छ, यो लोकतन्त्रको लक्षण हो । आम सञ्चारले कमी कमजोरी उजागर गर्नैपर्छ किनकि उसको नामै सुन्दर ढङ्गले आम रूपमा सबैतिर सञ्चरण गर्नु हो । 

सत्ताधारी मात्र भत्तारूपी भेटी थाप्ने परमात्मा हैन र मैमत्ता बनेर हिँड्ने छाडा हात्तीको गति पनि हैन । सरकार  भनेको त जन सरोकारको उपकार गर्ने यन्त्र हो । लोकतन्त्रमा सत्ताधारीहरू नागरिक निगरानी र राज्यदायित्वको पासोबाट अनुबन्धित हुन्छन् । बोलीमा बेलगाम बन्नै पाइन्न ।

देश चलाउन जिम्मा लिएकाहरूले कामक्रोध लोभ मोह मद मात्सर्यजस्ता  छ, शत्रुलाई पत्रु बनाउन कम्मर कस्नै पर्छ । कमिसनको झुसिलो डकारमा, स्मग्लरका कफ र खकारमा हुङ्कारले डुक्रनु   ॐ कारको नाद हैन । ज्यान छोडेर दलीय आदर्श गोल गर्न साथ दिने हिजोका होल प्रतिबद्ध कार्यकर्तालाई जिल्ल्याएर साला, साली, भतिजा, छोरी, ससुरा, दुलहा, दुलहीलाई स्वकीय र निजी सचिवको खिप लगाइदिएर चिफ बनाउने स्वार्थलम्पट जन्तुले लोकतन्त्रको तन्तु चुँडाल्दैन ? चुनावी समयमा मनी, मसल र निकटमा टिकट थमाउने वैश्य गणले लोकतन्त्रको मुटु खलबल्याउँदैन ? अनि यही दिउँसै रात पार्ने कुकामलाई जनता जनार्दनको मुकाम पु-याउने नागरिक चेतना र आम सञ्चार लोकतन्त्र र गणतन्त्रका सही मलजल हैनन् ? 

सत्ता के सबै आफ्ना गल्ती कमजोरीलाई बेपत्ता बनाएर निहत्था जनताका टाउकामा शासनको जाँतो रिँङ्ग्याउने शक्ति हो ? त्यसैले कालो कमिसन र अनधिकार भत्तामा बेपत्ता हुने प्रवृत्तिको पत्ता साफ गर्ने अधिकार दिएको छ लोकतन्त्रले गणतन्त्रले । सत्ताको शीर्षाशन तीर्थाशन हुनैपर्छ । त्यसैले त चेतनका विम्बहरू भन्छन्– कमिसन र भत्ता हैन है मैमत्ता सत्ता, राज्यसत्ता । जय लोकतन्त्र ! जय जनगणतन्त्र ! तब त हुनसक्छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.