शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आमाछोरीको रहस्यमय मृत्यु : हत्या कि आत्महत्या ?

शुक्रबार, ११ माघ २०७५, १८ : २६
शुक्रबार, ११ माघ २०७५

जनकपुर– डेढ साताअघि जनकपुरमा एक महिलाले २ वर्षीया छोरीसहित आत्महत्या गरेको भनिएको घटना अझै सेलाएको छैन ।

जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने २५ वर्षीया सीमा शर्माको शव विष सेवन गरेको अवस्थामा प्रहरीले भेटेको थियो । उनीसँगै रहेकी २ वर्षीया छोरी गौरी मिश्रको शव समेत प्रहरीले बरामद गर्यो ।

सीमा र उनकी छोरीको मृत्यु आत्महत्याको कारण भएको भनिएपनि पीडित पक्षले हत्या गरेको आरोप लगाएका छन् ।

पीडित पक्षले पत्रकार सम्मेलन नै गरेर यस्तो बताएपछि स्थानीयस्तरमा विभिन्न अधिकारकर्मीहरुले सडकमार्फत न्यायका लागि गुहार माग्दै प्रहरीलाई दवाव दिन थालेका छन् ।

उनीहरुको मृत्युपछि सीमाका माइती पक्षले मृतक सीमा शर्माको हत्या भएको भन्दै  पक्षमाथि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् ।

उनीहरुको उजुरीपछि प्रहरीले घरपक्षका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएपनि अनुसन्धान नटुंगिएको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलन

विवाह र हत्यादेखि पत्रकार सम्मेलनसम्म

महोत्तरी लोहरपट्टी नरपालिका–७ भ्रमपुरा बस्ने सीमा शर्माको वि.स.२०७० साल वैशाख ११ गते महोत्तरीको हलखोरी गाउँ बस्ने समिर मिश्रसँग विवाह भएको थियो । 

समिर एरिष्टो कम्पनीमा मेडिकल रिप्रजेन्टेटिभ (एमआर) पदमा बुटवलमा कार्यरत छन् । उनी प्रायः बुटबलमै बस्ने गर्छन् ।

सीमाको बुबा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमै बस्दै आएका थिए । मध्यम वर्गीय परिवारको रुपमा रहेको यो परिवारमा सीमा एउटै छोरी भएकाले सीमाको विवाहमा दाइजो दिन ७ कट्ठा जग्गा बेचेर विवाह भयो ।

विवाहपूर्व दाईजोको रुपमा ८ लाख नगद, २ लाख २५ हजार पर्ने एक थान मोटरसाइकल, र त्यत्तिकै मूल्यको सुनचाँदीका गरगहनालगायतका जिन्सी सामाग्री तथा नगद बेहुला पक्षलाई दिइएको थियो ।

सीमाको बिहे भएको १ वर्षसम्म परिवारिक सम्बन्ध राम्रै थियो । घरपरिवारको एक मात्र छोरी सीमालाई विभिन्न पटक हाँसो ठट््टा गर्दा दाइजो ल्याउन भन्दै ससुरा पक्षबाट तनाव दिने गरिएको थियो । उनले यो कुरा माइती पक्षलाई समेत भनेकी थिइन् । 

सीमाको भाइको विवाहको लागि माइतबाट मोवाइलबाट आएको निम्तोमा सीमाको ससुरा पक्षबाट एक तोला सुनको सिक्री दिएमात्रै विवाहमा सरिक हुन दिने जवाफ पठाइएको थियो ।

एक वर्षपछि भाई सुजितले आफ्नो विवाहको निम्तो दिन फोन गर्दा सीमाकी सासुले छोरो समिरलाई डेढ तोलाको सुनको सिक्री दिएपछि मात्रै विवाहमा पठाउने जवाफ दिएको सीमाको भाई सुजित शर्माले बताए । सिक्री दिन राजी भएपछि सुजितको विवाहमा बहिनी सीमासँगै समिर पनि पुगे । एक वर्षपछि सीमाले छोरी गौरी जन्माइन् ।

सीमाका बुबा विदेशबाट फर्किएपछि छोरी लिन जनकपुर आए ।  तर ‘सिमाकी सासुले आफ्नो लागि पायल, ठेसा र छोरी गौरीका लागि दुर्गाजी (सुनको माला), पायल र चाँदीको बाला ल्याउन भनेकी थिइन् । यी सामान नल्याए घरमा बस्न नदिने भनेकाले आफूले ती सबै दिएको सीमाका बाबुले बताए ।

‘सामान मागेर ल्याउन पटक–पटक यातना दिएपछि उजुरी दिन पनि भनेका थियौँ, तर बदनामी हुने डरले सीमाले मानिनन् ।  केही दिन अघि वासिङ मेसिन ल्याउन भन्दै यातना दिएको पत्ता लाग्यो । तर, आफूहरुको आर्थिक स्थिति समान्य रहेकाले दिन नसकेको जवाफ दियौं’ सीमाका भाई सुजितले भने ।

सुजितका अनुसार बहिनी (सीमा)को श्रीमान् समिरले जागिर छाडेकोले आफ्नै व्यापार व्यवसायका लागि ३ लाख रुपैयाँ मागेका थिए । तत्काल सो रकम दिन नसकेपछि सीमालाई शारीरिक यातना दिएर मृत्यु हुनु एकसाता अघि दाँत भाँचिदिएको उनले आरोप लगाए ।

आमाछोरीको सम्झनामा दिप प्रज्वलन ।

आरोप अस्वीकर

तर सीमाका घरपक्षका मानिसहरुले माइतीपक्षले लगाएको आरोप अस्वीकार गरेका छन् । उनीहरुले घटनालाई श्रीमान श्रीमतिको विवादको रुपमा लिएका छन् ।

‘समिर एमआरको काम छोडिसकेका थिए र उनी बाहिर काम गर्ने सोच्दै थिए, यही विषयलाई लिएर दुवैजना बीच समान्य विवाद भएपछि आवेशमा आएर सिमाले विष सेवन गरेको हुन सक्छ’ सीमाको देवर शशी मिश्रले बताए । 

उनले सीमालाई रक्तचाप भएकाले घरकै सिँढीबाट लडेर दाँत भाँचिएको दावी समेत गरे ।

विष सेवनको घटना

सीमाको विष सेवनबाट राति १२ बजे जनकपुरस्थित राम जानकी हस्पिटलमा मृत्यु भएको थियो । यसअघि उनलाई पहिले जनकपुरकै जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा उपचारको लागि लगिएको थियो । तर त्यहाँ आइसियु सेवाको सुविधा नभएपछि राम जानकी हस्पिटलमा लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी उपरीक्षक गोविन्द थपालियाले जानकारी दिए ।

२ वर्षीया छोरी गौरीको माघ १ गतेको बेलुका ८ बजे नै मृत्यु भइसकेको थियो । सीमाको मृत्युको खबर अर्को दिन २ बजेपछि मात्र जानकारी गराइएको हो । 

जनकपुर उपमहानगरपालिका–४ बस्ने ६४ वर्षीय श्यामसुन्दर मिश्र र उनकी श्रीमती ५५ वर्षीया किरणदेवी मिश्रलाई बुहारी २५ वर्षीया सीमालाई विष खुवाएर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी उपरीक्षक थपालियाले दाइजोकै कारण परिवारले पटक–पटक यातना दिएपछि विष सेवन गर्न बाध्य भएको हुनसक्ने अनुमान लगाएका छन् । प्रहरीले सासु र ससुरालाई नियन्त्रणमा लिई घटनाबारे सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा फरार समिरको खोजीकार्य जारी रहेको जनाएको छ ।

जाहेरीमा हत्या गरेको किटानी

पीडित पक्षले सीमा र बच्चाको समिर, ससुरा र सासुले निवासमै बिष सेवन गराई हत्या गरेको किटानी जहेरी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप