केन्द्रीय संस्करण
विज्ञानका कुरा

यस्तो पो रहेछ कपाल सेतै फुल्नुको रहस्य

person explore access_timeमाघ १९, २०७५ chat_bubble_outline0
Photo: Cosmopolitan

के तपाईँले कसैले कपाल डाइ गरेर वा कपालमा रङ्ग लगाएर आफ्नो फुलेको कपाललाई लुकाउन खोजेको देख्नुभएको छ ? या आफ्नो हजुरबुबाको फुलेर सेतै भएको कपाल देख्नु भएको छ ? अवश्य पनि देख्नु भएको छ होला । यो त हाम्रो लागि सामान्य कुरा नै हो । हामी सबैलाई थाहा नै छ, हाम्रो उमेर बढ्दै गएपछि हाम्रो कपालको रंग पनि आफैं बद्लिन्छ । पहिले कालो रङ्ग भएको कपाल पछि फुलेर सेतै हुने गर्छ । आखिर यस्तो किन हुन्छ ? के हाम्रो उमेरकै कारणले हाम्रो कपाल फुल्छ त ?

यो प्रश्नको उत्तर जान्नुभन्दा पहिले हाम्रो कपालको बारेमा केही कुरा जान्न जरुरी छ । हाम्रो टाउकोमा रहको कपाललाई साफ्ट (पाइप) र जरा गरेर दुई भागमा बाँड्न सकिन्छ । साफ्ट भनेको हाम्रो टाउकोको बाहिरी भागमा देखिने कपालको रङ्गिन भाग हो । कपालको जरा चाहिँ हाम्रो टाउकोको भित्री भागमा रहेको हुन्छ । यसले कपाललाई अडाए राख्ने काम गर्छ । कपालको जरालाई फलिकल  (Folicle) ले घेरेको हुन्छ ।

तपाईंहरुलाई सुन्दा अचम्म लाग्न सक्छ तर हाम्रो कपालको वास्तविक रङ्ग सेतो हुन्छ । त्यसो भए हाम्रो कपाल रङ्ग कसरी विभिन्न प्रकारका हुन्छन् त ? हाम्रो कपालको जरामा रहेको हरेक फलिकलमा निश्चित मात्रामा पिग्मेन्टहरु हुन्छन् । यस्ता पिग्मेन्टहरु मुख्य रुपमा दुई प्रकारका हुन्छन् : गाढा (Eumelanin) र हल्का (Pheomelanin) । कपालको रंग निर्धारण गर्ने मेलानिन रसायनका आधार हुन् ।  यही रसायनकै कारणले गर्दा हाम्रो कपालको रङ्ग सेतो नभएर विभिन्न खाले रङ्गको हुने गर्छ । यो रसायन हामी जन्मेदेखि नै बनिन थाल्छ । कपालको रङ्ग कस्तो हुन्छ भन्ने कुरा चाहिँ हाम्रो कपालको साफ्टमा मेलालिनको फैलावटको मात्रामा भर पर्छ । साफ्टमा जति धेरै मेलालिन हुन्छ, त्यति नै हाम्रो कपालको रङ्ग गाढा हुन्छ । यसको मात्रा कम भयो भने हाम्रो कपालको रङ्ग खैरो अथवा हल्का रङ्ग भएको हुन्छ । मेलानिनले नै घाममा परेपछि हाम्रो छालाको रङ्ग पनि निर्धारण गर्ने काम गर्छ ।

मेलानिन मेलानोसाइट नामक विशेष पिग्मेन्टबाट बनेका हुन्छन् । तिनीहरु हाम्रो छालाको कपाल निक्लने भाग (फलिकल) मा रहेका हुन्छन् । एउटा फलिकलबाट एउटैमात्र कपाल बने गर्छ ।

हाम्रो कपाल मुख्य रुपमा तीन चरण गरेर बढ्नेगर्छ । ती निम्न रहेका छन्:

१) एनाजिन: यो सबैभन्दा सुरुको चरण हो । यो २ देखि ७ वर्षको अवधिसम्म चलिरन्छ । यो चरणमा हाम्रो कपाल निकै छिटो गतिको साथ बढ्ने गर्छ । हाम्रो कपालको ८०–८५ प्रतिशत कपाल यही चरणमा पलाउने गर्छ ।

२) क्याटाजिन: यो चरणमा भने हाम्रो कपालको बढ्ने प्रक्रिया रोकिने गर्छ ।  यो चरण १० देखि २० दिनको छाटो समयको मात्र हुन्छ ।

३) टेलोजिन: यो चरणपछि हाम्रो कपालको  बढ्ने प्रक्रिया पूर्ण रुपमा बन्द हुन्छ । यही चरणमा हाम्रो कपालको फाइबर पनि झरेर जान्छ । यो चरण १०० दिनसम्म चल्छ । यो चरण पछि फेरि सुरु कै एनाजिन चरण दोहोरिन्छ ।

टाउकोमा कपाल बनेपछि मेलानोसाइटले केराटिन नामक प्रोटिन हाम्रो  छालामा पठाउँछ । यही केराटिन प्रोटिन कै कारणले नै हाम्रो नङ्ग, छाला र कपाल बनिन्छ । वर्षैभरि मेलानोसाइटले हाम्रो कपालमा केराटिन पठाउँछ । यसैले गर्दा पनि हाम्रो कपालमा रङ्ग आउन थाल्छ ।

हामी बुढो भएपछि हाम्रो कपालको फलिकलमा रहेको पिग्मेन्ट विस्तारै मर्दै जान्छ । जब त्यहाँ पिग्मेन्टको मात्रा घटेर निकै कम हुन्छ, हाम्रो कपालममा मेलानिनको मात्रा पनि कम हुन्छ । अनि विस्तारै हाम्रो कपालको रङ्ग हल्का हुँदै खैरो हुन्छ । जति धेरै बुढो भयो कपालमा मेलानिनको मात्रा त्यति नै कम हुँदै जान्छ । धेरै बुढो भएपछि हाम्रो कपालको रङ्ग पुरै सेतो हुन्छ । यसलाई नै हामी हाम्रो कपाल फुल्यो भनेर भन्छौँ ।

कपाल फुल्ने विभिन्न कारणहरु

सन् २००५ को फेब्रुवरीमा हवार्ड विश्वविद्यालयका वैज्ञानिकहरुले कपाल फुल्ने विभिन्न कारणहरुका बारेमा एउटा लेख प्रकाशित गरेका थिए । जसमा उनीहरुले हाम्रो जीन (Gene) ले पनि हाम्रो कपाल कहिले फुल्छ भन्ने कुराको निर्धारण गर्छ भनेर उल्लेख गरेका थिए । कोही मानिसको कपाल छिटै फुल्छ छ त कसैको धेरै ढिलो फुल्ने गर्छ । हजुरबुबा वा हजुरआमाको कपाल फुल्ने समयको अध्ययन गरेर छोराछोरी वा नातानातिनाहरुको कपाल फुल्ने उमेरको अनुमान गर्न सकिन्छ । किनभने बाबु बाजेको जीन उनीहरुको सन्ततिमा भेटाउन सकिन्छ । उदाहरणका लागि क्वकासियन समूहका महिलाहरुको कपाल ३५ वर्षको उमेरमा फुल्छ । कपाल फुल्ने प्रक्रिया निकै लामो हुन्छ । हामीले पहिलो सेतो कपाल भेटेको धेरै वर्षपछि मात्र पुरै कपाल फुल्ने गर्छ ।  

जीनको साथसाथै अन्य थुप्रै कारणहरुले हाम्रो कपाल फुल्ने कुराको निर्धारण गर्छ । कपालमा भिटामिन बीको कमी भयो भने पनि त्यो चाँडै फुल्ने गर्छ । रगतमा आइरनको कमी वा थाइरोड ग्ल्यान्डमा खराबी भयो भने पनि कपाल फुल्छ । चुरोट खानेहरुको कपाल पनि चुरोट नखाने मानिसकोभन्दा चाँडै फुल्छ । चुरोट खाने मानिसको शरीरमा अक्सिजनको मात्रा कम हुन्छ । त्यही भएर तिनीहरुको कपाल अलिक चाँडै फुल्ने गर्छ । त्यसै गरी, प्रदूषणको असरका कारण पनि कपाल फुल्ने गर्छ ।

क्यान्सर, एड्स जस्ता रोग लाग्यो भने पनि कहिलेकाहीँ हाम्रो कपाल फुल्ने गर्छ । पहिले मानिस तर्सियो भने पनि कपाल फुल्छ भनेर विश्वास गरिन्थ्यो । तर यो कुरालाई वैज्ञानिकहरुले आजसम्म पनि मान्यता दिएका छैनन् । 

कपालसम्बन्धी केही रोचक तथ्यहरु

हाम्रो तालुमा सामान्य रुपमा एक लाखदेखि लिएर एक लाख पचास हजारसम्म कपाल हुन्छ ।

हाम्रो कपाल निकै दह्रो हुन्छ । यसले १०० ग्राम सम्मको तौल थाम्न सक्छ । हाम्रो तालु दह्रो हुने हो भने त टाउकोमा भएको पुरै कपाले १० देखि १५ टनसम्मको तौल थाम्न सक्छ ।

कपालमा निकै तीव्र गतिमा कोषहरुको विभाजन हुन्छ । जसलाई माइटोसिस भनिन्छ ।

एक दिनमा हाम्रो कपाल ०.३ मिलिमिटर र एक महिनामा १ सेन्टिमिटर बढ्छ ।

सामान्यतः एउटा वयस्क मानिसको शरीरमा १ लाखदेखि डेढलाखसम्म कपाल हुन सक्छ । प्रतिदिन ५० देखि १५० वटासम्म कपाल झरिरहेको हुन्छ ।

मानव शरीरमा सबैभन्दा छिटो बढ्ने कोषमा कपाल दोस्रो नम्बरमा आउँछ । सबैभन्दा छिटो बढ्ने कोष चाहिँ मासी  (Bone marrow) हो ।

एउटा स्वस्थ कपाल भिजेको अवस्थामा त्यसको फैलावट ३० प्रतिशतसम्म बढ्न सक्छ ।

आफ्नो जराबाट कपाल झर्नेबित्तिकै नयाँ कपाल बन्ने प्रक्रिया शुरु भइहाल्छ ।

शरीरमा विभिन्न समयमा ९० प्रतिशत कपाल बढिरहँदा १० प्रतिशत कपालको बढ्ने प्रक्रिया चाहिँ रोकिइरहेको वा आराम गरिरहेको अवस्थामा हुन्छ ।

एउटा कपालको आयु करिब ५ वर्षसम्म पनि हुन सक्छ ।

एउटा कपालको त्यान्द्रो त्यही आकारको तामाको तारभन्दा पनि बलियो हुने गर्छ ।

हामी डराउँदा वा चिसो हुँदा शरीरमा काँडा उम्रने गर्छ । त्यो हुनको लागि कपालको जरा भएको स्थानको मांसपेशी खुम्चनुपर्छ ।

गर्मी मौसममा कपाल अलि चाँडो बढ्छ भने जाडोमा कम । यसो हुनुको कारण चाहिँ तातोले कपालको जरामा रगत छिटो पुग्छ र कपालले चाँचाडो पोषण प्राप्त गर्ने गर्छ ।

हाम्रो छालाको भित्र तहबाट बाहिर निस्केपछि कपाल मरिसकेको हुन्छ ।

कपालमा हाम्रो रगतमा भइरहेका तथा विगतमा भएका औषधी लगायत सबै तत्त्वरुको जानकारी विद्यमान हुन्छ । त्यसैले फोरेन्सिक विज्ञानमा कपाललाई एउटा प्रमुख प्रमाणको रुपमा लिने गरिन्छ ।

कपालको आधारमा मानिसको लिंग छुट्याउन सकिँदैन । महिला तथा पुरुष दुबैको कपाल एउटै खालको तत्त्वहरु मिलेर बनेको हुन्छ ।

संसार भरिमा कालो सबैभन्दा बढी वा सामान्यतः पाइने कपालको रंग हो । त्यसैगरी, रातो चाहिँ सबैभन्दा दुर्लंभ । संसारभरिका मानिसहरुमा १ प्रतिशतको कपालको रंगमात्रै प्राकृतिक रुपमा रातो हुन्छ । त्यसो त आजभोलि विभिन्न रसायनहरुको प्रयोग गरेर कपाल रंगाउने फेसन नै चलेको छ ।

कपालमा ५० प्रतिशत कार्बन, २१ प्रतिशत अक्सिजन, १७ प्रतिशत नाइट्रोजन, ६ प्रतिशत हाइड्रोजन र ५ प्रतिशत सल्फर हुन्छ ।

मानिसको शरीरको बाहिरी आवरणमा हत्केला, पाइताला, आँखाको ढकनी, ओठ र म्युकस मेम्ब्रान्स बाहेक सबैतिर कपाल उम्रन सक्छ ।

टाउकोको ५० प्रतिशतभन्दा बढी कपाल झर्यो भने मानिस तालुखुइले देखिन्छ ।

कपालले हाम्रो टाउकोलाई चिसोबाट बचाउने काम गर्छ । शरीरमा चाहिँ त्यो काम छालाको पत्रमुनि हुने बोसोले गरिरहेको हुन्छ । 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...