केन्द्रीय संस्करण

कविता : मुटुको मरण हुँदैन रे

person explore access_timeमाघ २६, २०७५ chat_bubble_outline0

अनिल नेपाली 

एक दिन
मेरो मृत्युदूत बनेर
स्वर्गतिर दौडिए 
त्यो फूलजस्तो जोवन जलेको
खरानीको खोजीमा
जहाँ, 
पृथ्वी फोड्न मडारिरहेका
शितको नदी र सुनको बगर
जल–थलको भिषण लडाइँमा 
तिमी भनी होमिएँ तर
कटुसको पुरानो डुङ्गा भई 
लागे फुस्रो किनार
जीवनको विशाल चोकमा 

सूर्यको सातौं प्रकाश विमानमा
अर्कै संसारबाट आएझैं भो 
मेरी ज्वालामुखी
बोक्छ प्रियसीको ढुकढुकी
खरानीबाट उठेर मुटु
प्रेमको यो सविता शृङ्गारमा
हाँसी–हाँसी आगो लाएझैं भो 

हाडमासुको तिम्रो सुन्दर बगैंचामा 
वसन्तको पहिलो विशालता 
पोखिन्थ्यौं सृष्टिभर शिशिरको घामझैं
ईष्र्याको राँकोले जलेको बैंस
पगली तापले गलेको होस्
कोमामा छ मुटु कोमामा
बहुला सागरझैं आकाशे जलमुल
असिना तलाको खुस्केर चुकुल
हुरी र जलको भीषण लडाइँले 
माटोमा मिले कलिला फूल
प्रभातको फुस्रा बटुवा घाम
रोइरोइ–रोइरोइ दयाको भिखले
नयाँ जीवनको खोजीमा कता–कता
तङ्ग्रिएझैं कलिला फूल
आत्मा तङ्ग्रियो, आत्मा उड्यो 
स्वर्गतिर खोज्दै छुटेको मुटु
हावामा मेरो खरानी  
स्वर्गको मेरो आत्मासँग
कसरी छुटु ? 

सुनसान वनमा मुरलीवादकका
पङ्खाझैँ औँला चलेझैँ
तिम्रो केशमा प्रेमको 
बास्नादार हावा चल्थ्यो 
समुन्द्रको वाफीलो हुरीझैं
स्वर्गको ईन्द्रेणी बगैंचामा 
हामी भुवाको भयले 
चट्टानझैं कसिन्थ्यौँ 
र, साँझाको कालो प्रकाशमा
प्रचण्ड सूर्य भासिएझैं
फूलहरुको विचित्र गुफामा 
हामी पनि भासिन्थ्यौं 
चन्द्रमामा चाँदनी गाँसिए झँै 

मेरा दिनहरुले अब
घाम देख्नेछैनन्
रातमा जुनको उज्यालोमा 
प्रकृतिको मार्मिक धुनहरु सुनेर
बिहान, जुनको आँसु पुछ्ने छैनन् 
मेरो स्वास अब 
बिछोडको धुन लिएर 
पहरोमा ठोक्किने छ । 
ढुक्क हुनु, ज्वालामुखी
यो संसारबाट बगाइदिनेछन्
नदीहरुले हाम्रो कथा
शिशिरको हुरीले उडाइदिनेछ 
हाम्रा पैतालाबाट छुटेको धुलो 
भन्ज्याङ्तिर जराहरुले 
गाइदिनेछन्
हाम्रो नलेखेको मार्मिक गीत
फूलहरुले फूलिदिनेछन्
हाम्रो बाँकी हाँसो
ताराहरुले देख्नेछन्
हाम्रो निदका सुनौला सपना 
अनिदा पहाडहरुले साँचिदिनेछन्
हाम्रा अनन्त विपना

तिमी तल आइनौं वर्षौं 
अनि म आएँ माथि
हुँदैन रे मुटुको मरण
तलको बिदाइ, माथिको मिलन
साक्षी छ मेरो ब्रह्मनाल
अन्तिम गीत गाएँ साथी 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ