केन्द्रीय संस्करण

‘कविता बिनाको जीवन स्ट्रोक बिनाको क्यानभास’

person explore access_timeफागुन १६, २०७५ chat_bubble_outline0

प्रध्यापन पेसामा रहेर नेपाली साहित्यमा प्रभावशाली उपस्थिति जनाउन सफल चर्चित कवि, निबन्धकार र अब छिट्टै बन्दैछन् उपन्यासकार भूपिन

नेपाली साहित्यमा हस्तक्षेपकारी भूमिकाका लागि राजधानीमै हुनपर्छ भन्ने स्थापित मान्यतालाई चितवनमा बसेर गलत सावित गरिरहेका छन् उनी । उनको हजार वर्षको निद्रा, सुप्लाको हवाइजहाज लगायतका कविता कृति तथा चौबिस रिल निबन्धको रूपमा प्रकाशित भइसकेका छन् । उनको लेखन यात्रा र प्रकासोन्मुख उपन्यास मैदारो लगायतको सेरोफेरोमा रही उनीसँग गरिएको कुराकानी । 

उपन्यास प्रकाशनको तयारी कस्तो भैरहेको छ ?
बुकहिलका बोस प्रिय भूपेन्द्र खड्काले ‘किताब आइपुग्यो नि’ भनेको खबर सुन्न र कुरियर गरेर चितवन पठाएको ‘मैदारो’को पहिलो कपी छाम्न ब्यग्रतापूर्वक पर्खिरहेछु । किताब आएपछि विमोचनबारे सल्लाह हुनेछ । 

एउटा भनाइ छ ‘साहित्यको सुरुवात कविताबाट  र अन्त्य निबन्धबाट हुन्छ’ तपाईं कविता लेखेर निबन्धमा आउनुुभयो । अहिले उपन्यासमा किन ? कविता र निबन्धमा त्यस्तो के भेटिएन र उपन्यासले तान्यो ?

हरेक विधाका आआफ्ना शक्ति र सौन्दर्य छन् । म ती हरेक सौन्दर्यको प्रेमी हुँ । मेरो यही प्रेमलाई अभिव्यक्त गर्न विभिन्न विधामा लेख्न मन पराउँछु । यो मेरो चाहना र विषयको आवश्यकता दुवै हो । खासमा निबन्ध र उपन्यास नलेख्ने कसम खाएर मैले कविता लेखिरहेको होइन । सकेँ भने र आँट आयो भने नाटक पनि लेख्ने रहर छ । 

मलाई लाग्छ, हामीले लेख्न चाहेको विषयवस्तुले सर्वोपयुक्त विधाको माग गर्छ । सबै विषयलाई सबै विधामा उत्तिकै बलियोसँग लेख्न सकिन्न । ‘मैदारो’ मैले अरू विधामा लेख्न सक्दिनथेँ । काव्यमा लेखौँ कि भन्ने नसोचेको होइन तर निकै जटिल हुने खतरा देखेँ । नाटकमा मेरो अभ्यास थिएन । 

बिक्री र आर्थिक हिसाबले हेर्दा उपन्यास लेखनमा लाग्नुभएको त होइन ?

तपाईंको अघिल्लो प्रश्नमा नै यसको जवाफ छ । म कविता र निबन्ध हुँदै उपन्यासमा आएको हुँ । उपन्यास लेख्दैमा आर्थिक उन्नति भइहाल्ने कुरामा मलाई शङ्का छ । उन्नति हुने रहेछ भने राम्रै भयो । भ्रष्टहरूले अकुत कमाउने देशमा लेखकले पनि अलिअलि कमायो भनेर मानिसहरू खुसी नै होलान् । वास्तवमा बजारलाई ध्यानदिएर लेख्नुपर्छ भन्ने मलाई कहिल्यै लागेन । कविता र निबन्धको बजार छैन भन्ने समयमा मैले कविता र निबन्ध नै लेखेँ । पुस्तक छापिए । धेरै ढिला गरी उपन्यास आउँदैछ । कमाइको कुरा गर्ने हो भने पनि कविता र निबन्ध लेखेर मैले धेरथोर रोयल्टी पाएको छु । पर्याप्त छैन तर पाएको छु । 

मेरा लागि लेखनको मूल प्रयोजन अर्थ (मनी)  होइन, अर्थ (मिनिङ) हो । उपन्यासले दुवै ‘अर्थ’ दिन्छ भने मिहिनेतको फल पाएँ भनेर दुई चार खेप मुस्कुराउँला । जोगी नै हुन त म साहित्यमा लागेको होइन । 

 मैदारोको विषयबारे जानकारी गराइदिनु न ?
 हाम्रो विभेदकारी समाजले अछुत मान्ने मानिसको आँखाबाट देखिने जीवन, समाज र समयप्रतिको दृष्टिकोण नै समग्रमा ‘मैदारो’ हो । यो पिँधमा पारिएका मानिसहरूको अनुभूति, सङ्घर्ष, संवेदना र विचारको कथा हो । छोटोमा यो उपन्यास सामाजिक यथार्थलाई प्रयोगशील ढाँचामा प्रस्तुत गरिएको एक पेन्टरको प्रेम कथा हो । 

 मूलतः कविता र निबन्धमा कल्पना बढी हाबी हुन्छ । उपन्यासमा केही तथ्य पनि चाहिन्छ । त्यस्तो केही खोज अनुसन्धान गर्नुभयो ?

कल्पनाशीलताबिनाको कुनै पनि साहित्य हिमाल नदेखिने पोखरा जस्तै हो । जून नदेखिने पूर्णिमाको आकाशजस्तै हो । सिर्जनाका हरेक विधामा कल्पनाशीलताको विशेष महत्त्व हुन्छ । सत्य हो, आख्यानका लागि अनुसन्धान र तथ्यहरूको प्रयोग पनि चाहिन्छ । अश्पृष्यता (अनटचअबिलिटी) मा आधारित कथा भएकाले उपन्यास लेखनका लागि मलाई आवश्यक लागेका केही कृतिहरू पढेको छु । केही डकुमेन्ट्री, टीभी कार्यक्रम र फिल्महरू हेरेको छु । विज्ञहरूका वार्ताहरू सुनेको छु र समाचारहरू पछ्याएको छु । मूल कुरा पात्र निर्माणका लागि मानिसहरूसँग संवाद गरेको छु । सूक्ष्म निरीक्षण गरेको छु । अन्यौल भएका कतिपय कुरामा विज्ञहरूसँग सल्लाह मागेको छु । लगभग दुई वर्ष मैले यसरी नै बिताएको छु । 
छुवाछूत हाम्रा लागि समुद्र भेटेजस्तो नौलो विषय होइन । दुर्भाग्यबस हामी त्यस्तो देशमा जन्मिएका छौँ, जहाँ छुवाछूतको सङ्क्रमण व्याप्त छ । त्यसले नयाँ नयाँ अवतारमा आफूलाई जन्माइरहेको छ । बाल्यकालदेखि नै यस्तो विभेद बोध गरी आएकाले पनि मलाई यस विषयमा लेख्ने आँट आएको हो । 

कविता, उपन्यास र निबन्ध लेखनबीच लेखनका हिसाबले के फरक पाउनुभयो ?
उपन्यासमा तपाईं मूलत पात्र र घटनासँग खेल्नुहुन्छ, निबन्धमा बुद्धिसँग र कवितामा हृदयसँग । तर यी कुराहरू (पात्र र घटना, बुद्धि र हृदय) सबै विधामा आइदिन सक्छन् । भाषा र भन्ने शैलीले त्यसलाई फरक पारिदिन्छ । 

कवितामा विम्ब अलङ्कारको सघन उपस्थितिमार्फत् थोरैमा धेरै भन्ने कोसिस हुन्छ । निबन्धमा निर्बन्धतापूर्वक अलिक खुकुलो गरी भन्न सकिन्छ । कविता र निबन्ध ग्यालरीका एउटा क्यानभास जस्ता हुन जहाँ सानो भागमा खँदिलो तुलिकाघात गरिन्छ । 

उपन्यासमा तपाईं पात्र, परिवेश र घटनालाई लिएर अनेक क्यानभासको निर्माण गर्नुहुन्छ । यो एक ग्यालरी हो, जुन एक क्यानभासले मात्र बन्दैन । 
सार्थकताबारे चाहिँ छुट्टै बहस गर्नुपर्छ । कहिलेकाहीँ एक क्यानभास नै एक ग्यालरी जत्तिकै वा त्योभन्दा बढी सुन्दर र सार्थक बनिदिन सक्छ । मतलब, त्यस्ता कैयौँ कविताहरू, छन् जो एक विशाल उपन्यास वा निबन्ध भन्दा कैयौँ गुना बलशाली लाग्छन् । 

मोफसलमा रहेर पनि केन्द्रलाई प्रभाव पारिरहनुहुन्छ । के मोफसल र केन्द्रबीचको दूरी कम भएको हो ? वा लेखकको प्रभाव हो ?

मोफसल अब लोपोन्मुख शब्द हो । समय र प्रविधिको बीचमा च्यापिएर यो विलुप्त हुँदै गइरहेको छ । साहित्यमा न अब पहिलाको जस्तो दम्भी राजधानी वा केन्द्र छ, न छायामा परिरहन अभिसप्त मोफसल । साइबर स्पेसमा उडिरहेको डिजिटल दुनियाँ, वैकल्पिक मिडियाको रूपमा आएको सामाजिक सञ्जालको लहर, हातहातमा आइपुगेका मोबाइल सेट र ग्याजेटहरूले यसलाई ध्वस्त पार्दै लगिरहेछन् । यो सुन्दर कुरा हो ।

बजारमा आइरहेका उपन्यास र मैदारोमा फरक के छ ?
यसको जिम्मा मैले प्रिय पाठक र समयलाई छोडिदिएको छु । 

एउटा कुरा चाहिँ भन्न मन छ । पछिल्लो समय नेपाली साहित्यमा चल्ने गरेको एक विषय छ, ‘सामाजिक र मनोवैज्ञानिक यथार्थवादले नेपाली आख्यान ध्वस्त बनाइदियो ।’ मलाई पनि केही हदमा यो कुरा सत्य लाग्छ । सामाजिक विषयवस्तु प्रभावकारी भएर पनि कथा भन्ने शैली, कमजोर आख्यानात्मकता र कलाको न्यूनताका कारण कैयौँ नेपाली उपन्यास कोरा जीवनी मात्र बने । प्रयोगशीलतामा हामीहरू अल्छी भयौँ । मलाई विश्वास छ, मैदारोले यस अभावलाई थोरै भए पनि पूर्ति गर्ने छ । पाठकहरूले यसमा सामाजिक यथार्थलाई प्रयोगशील फ्रेममा लेख्दाको स्वाद पाउनुहुनेछ । बागलुङ पर्वततिर बोलिने भाषिकाको प्रयोगले पनि पाठकहरूलाई भिन्न स्वाद दिनेछ । 

एउटा लेखक फरक फरक विधामा कलम चलाइरहँदा निश्चित विधाको उन्नयनमा असर पर्छ कि पर्दैन ? 
केही न केही असर त अवश्य पर्छ होला । यसको मूल्य चुकाउन परे पनि तयार रहेर नै विधान्तर गर्ने हो । यसको विकल्प छैन तर मेरो अधिकतम प्रयास सबै विधामा सन्तुलन राख्ने नै हो । यो लेखकिय क्षमतामा निर्भर हुने कुरा भयो । प्रयासरत छु । व्यक्तिगत रूपमा मसँग न धेरै विधामा कलम चलाएको अहंकार छ, न कवितामा मात्र नलागेको पछुतो । म हरेक विधालाई सेलिब्रेट गर्न चाहन्छु । 

 कवि, निबन्धकार र उपन्यासकारमा आफूलाई के हुँ जस्तो लाग्छ ?
म मूलतः कवि हुँ । निबन्धमा पनि धेरै कविताकै चिन्तन र चर्चा गरेको छु । उपन्यासमा पनि काव्यकारिताको अधिकतम प्रयोग गर्ने कोसिस गरेको छु । कविताबिनाको मेरो जीवन स्ट्रोकबिनाको क्यानभास जस्तो हो । 

सत्य हो कि निबन्ध र आख्यान लेखनमा पनि मैले गजब आनन्दको अनुभूति गरेको छु । पाठकहरूले मलाई के सोच्नुहुन्छ ? कवि, निबन्धकार कि उपन्यासकार ? या सबै ? त्यो उहाँहरूको स्वतन्त्रताको कुरा भयो । 

 अध्यापन पनि गर्दै हुनुहुन्छ । पेसालाई निरन्तरता दिँदै लेखनमा लाग्नु कत्तिको सहज असहज महशुस गर्नुभएको छ ? 
–धेरै लेख्न नसक्ने भएर होला, लेखनका लागि पेसाले कहिल्यै डिस्टर्ब गरेन मलाई । बरू क्याम्पसमा लेखनका लागि धेरै विषयहरू भेट्छु । क्याम्पस समाजको एक विशिष्ट रूप हो, जहाँ विभिन्न समुदाय, वर्ग, धर्म, जाति र संस्कृतिका विद्यार्थीहरूसँग सङ्गत र छलफल गर्न पाइन्छ । उनीहरूका जीवन र समाजप्रतिका धारणा र विचार बुझ्न पाइन्छ । उनीहरूका सुखदुःख र संवेदना छाम्न पाइन्छ । एक लेखकका लागि यी महत्त्वपूर्ण कुराहरू हुन् ।

लेखकको जीवनमा लेख्नुको आनन्द त विशेष हुने नै भयो, कहिलेकाहीँ नलेख्नुको आनन्द पनि खोज्छ लेखकले । आम मानिसले झैँ लेखन इतरका बहुल आनन्दहरूमा रमाउन खोज्छ ऊ । स्वाभाविक म पनि खोज्छु । फेरि प्राध्यापनबाट प्राप्त हुने आनन्द मलाई विशिष्ट लाग्छ । 

पूर्णकालीन लेखनमा लाग्नेबारे सोच्नुभएको छ ? नेपालमा यो कत्तिको सहज देख्नुहुन्छ ?

लेखन पूर्णकालीन र अल्पकालीन होला कि नहोला ? मलाई शङ्का छ । कोही पनि लेखकले ननस्टप लेखिरहनसक्छ जस्तो मलाई लाग्दैन । लेख्नु पनि हुन्न । लेखनले एक विशिष्ट मनोदशाको माग गर्छ, जुन जति बेलासुकै उपलब्ध हुन्न । जबरजस्ती कोही लेखि मात्र रहन्छ भने ऊ लेखक कम र मेसिन बढी हो । मेसिनबाट एकै प्रकारको सामान उत्पादन हुन्छ र सिर्जना एकै प्रकारको उत्पादन गर्ने उद्योग होइन । लेखक मेसिन बन्नु हुन्न । 

साँचो हो, लेखनका लागि निरीक्षण, अध्ययन र अनुसन्धान गर्न प्रशस्त समय चाहिन्छ । कहिलेकाहीँ पेसाका कारण सिर्जनामा पर्याप्त समय लगानी गर्न नसकिएको बोध गर्छु म पनि । छटपटी र औडाहा हुन्छ । तर लेखन यस्तो क्षेत्र हो, जहाँ यही छटपटी र औडाहा नै सिर्जनाको स्रोत बनिदिन्छ । लेखकलाई सन्तुष्टिले भन्दा बढी अभावले नै लेखाउँछ । 
 
एक लेखकका लागि अध्ययन के हो ?
लेखकका दुई ठूला सम्पत्तिमध्ये एक हो अध्ययन । दोस्रो सम्पत्ति हो लेख्ने शिल्प । 

अध्ययन नगरी कुनै पनि लेखकले राम्रो लेख्न सक्दैन । यस्तो सम्भव नै हुन्न । म अध्ययन नगरी राम्रो लेखक बन्छु भन्नु दौडिन जानेकाले स्विमिङको मेडल जित्छु भनेजस्तै हो । 

अध्ययनको अर्थ व्यापक हुन्छ । यसलाई किताबका पृष्ठहरू फर्काउनुसँग मात्र जोडिनु हुन्न । समाज र समयका घर्षण र झिल्काहरू बुझ्न, द्वन्द्वहरू खुट्याउन, मानव जीवनमा रहस्यका प्रभावहरू महशुस गर्न र प्रकृतिको विराटता अनुभव गर्न तपाईंले आफूमा गहिरो निरीक्षण क्षमता विकशित गर्नै पर्छ । तर जीवन र प्रकृतिमा कति धेरै रहस्यहरू हुन्छन्, जसलाई अनुभवले मात्रै पर्गेल्न सकिन्न । त्यसलाई निकास दिन पुस्तकहरूको शरण पर्नैपर्छ । यसपछि मात्र लेखन शिल्पले उत्कर्ष प्राप्त गर्दछ । अध्यनबिनाको शिल्प र शिल्पबिनाको अध्ययन दुवै लेखनका लागि घातक छन् । 

लेखनको सामाजिक दायित्व हुन्छ ? वा स्वान्त सुखाय मात्र हो ?
–लेखकले पाठकसँग संवाद स्थापना गर्न चाहन्छ कि चाहन्न ? यति कुरा बुझे यसको उत्तर सायद फेला पर्छ । यदि लेखकले पाठकसँग संवाद गर्न चाहन्छ भने लेखन स्वान्त सुखाय मात्र रहँदैन । 

प्रारम्भिक चरणमा सिर्जना स्वान्त सुखाय नै हो । आफ्नो सिर्जना पढ्यो, मख्ख पर्यो, बस्यो । तर लेखक यही चरणमा मात्र बसिरहन सक्दैन । ऊ पाठकहरूसम्म पुग्न चाहन्छ, कोसिस गर्छ र पुग्छ । आत्मसुखका लागि मात्र लेख्ने हो भने पाठकसम्म पुग्न जरुरत नै पर्दैन । पाठकसँग पुग्नु भनेको संवादका लागि तैयार हुनु हो । संवाद प्रभावशाली सामाजिक प्रकृया भयो । फेरि लेख्नुका विभिन्न फिलोसफी र फिलोसफी अनुसारका स्कुल छन् । मूलत अनेक तरिकाले संसार र जीवनलाई सुन्दर बनाउन लेखिने भएकाले यो व्यक्तिगत आत्मसन्तुष्टि मात्र नभएर एक सामाजिक दायित्व बनिदिन्छ । 

 मैदारोको खास अर्थ के हो ?
–मानक भाषामा भनिने मैझारोको स्थानविशेष भाषिक रूप हो मैदारो । मेरो गृहजिल्ला बागलुङतिर चल्छ यो शब्द । यसको पछि एक किंवदन्ती छ । कथित छुत अछुतबीचको प्रेमकथा छ । यही किंवदन्ती नै उपन्यासको मेरुदण्ड हो । 

अन्त्यमा मैदारोको विषयमा वा पाठकलाई केही भन्न चाहनुहुन्छ ?
दुई वर्ष मिहिनेत गरेर लेखेको छु मैदारो । मायाले पढिदिनु होला । पढेपछि भन्नुहोला, ‘के तपाईंले मैदारोका चित्रहरू उल्टाएर हेर्नु भयो ? किनकि हरेक उल्टोलाई उल्ट्यायो भने त्यो सुल्टो हुन्छ ।’ 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...