बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

डिग्री पास कोरियाको आस, कति हुन्छ कमाई ?

शुक्रबार, ०८ चैत २०७५, १६ : १५
शुक्रबार, ०८ चैत २०७५

शुक्रबार बिहान कैलालीका रामबहादुर चौधरीलाई मध्यबानेश्वरमा रहेको ग्लोबल आईएमई बैङ्कमा कोरिया जाने आवेदन फारम भर्न हतारो थियो । शिक्षा सङ्कायमा स्नातक पास गरेका उनलाई कोरियाले राम्रैसँग लोभ्याएको उनको हउभाउबाटै प्रष्ट हुन्थ्यो । रातोपाटीसँग कुरा गर्दै चौधरीले भने ‘गत साल मेरा केही साथी कोरिया गए  । उनीहरूको राम्रो कमाइ देखेर मलाई पनि कोरिया जाने रहर पलायो । त्यही भएर आज सबेरै फर्म भर्न बैङ्क आएको हुँ ।’ 

अहिले  बैङ्कले टोकन सिस्टम लागू गरेकाले उभिएर लाइन बसिरहनुपर्दैन । आफ्नो पालो आएपछि आवेदन फारम बुझाए पुग्छ । 

उनलाई अनलाइनबाट फर्म बुझाउन मिल्छ भन्ने कुरा बैङ्कमा पुगेपछि मात्रै थाहा भयो । उनी मात्र होइन रोजीरोटी टार्न कुनै समस्या नभएका परिवारका छोराछोरी पनि कोरिया मोहबाट अछुतो छैनन् ।  कोरियाका लागि आवेदन दिन जानेहरु अधिकांश बाध्यताले भन्दा पनि अरुको  देखासिकी र धेरै पैसा कमाउने लोभमा परेको देखिन्छ ।

सिन्धुपाल्चोककी कल्पना गुरुङ (प्लस टु पास) पनि  कोरिया भाषा परीक्षाका लागि आवेदन दिन पुगेकी वानेश्वरमै भेटिइन् । उनलाई कोरिया गएर के काम गर्न पाइन्छ, मासिक आम्दानी कति हुन्छ भन्ने बारे कुनै ज्ञान छैन । तैपनि कोरिया मोहमा राम्रैसँग रुमल्लिएकी उनी भन्छिन्, ‘मेरो काका पनि कोरियामा हुनुहुन्छ । उहाँले राम्रै कमाएको देखेर मलाई जान मन लाग्यो । त्यही भएर आवेदन दिन आएकी हुँ । के काम गर्नुपर्छ, कतिको सहज छ, मलाई केही थाहा छैन ।’

३ वर्ष कोरिया बसेर आएका अर्का श्याम लामा फेरि पनि कोरिया जाने तयारीमा लागेका छन् । उनी भन्छन्, ‘नेपालमा जति दुःख गरे पनि पैसा राम्रो कमाउन सकिँदैन त्यही दुःख कोरियामा गर्ने हो भने कमाइ राम्रै हुन्छ । त्यही भएर म फेरि जाने सोचमा छु । 

यसैगरी कीर्तिपूरमा ग्लोबल आईएमई बैंक अगाडि फारम भर्नका लागि बसेका दोलखाका रमेश रिमाल देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा कोरिया जाने योजना बनाएको बताए । 

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण उनले सिरानीमा प्रमाणपत्र राखेर मात्रै आर्थिक उन्नती नहुने देखिएकाले बाध्य भएर भाषा पढी कोरिया जाने योजना बनाएको सुनाए । 

१२ घण्टामा ३० हजारको आवेदन

बिहीबार १२ बजेदेखि खुला गरिएको कोरिया भाषा परीक्षाको आवेदन शुक्रबार १२ बजेसम्म झण्डै ३० हजारले भरिसकेको ईपीएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले बताए ।  बैङ्क खुल्नुअघिसम्म (शुक्रबार बिहान ८ बजेसम्म) १५ हजार जनाले अनलाइनमार्फत आवेदन दिएका थिए । यता, बैङ्कमा बिहान ४ बजेदेखि नै लाइन लाग्नेहरुको भीड पनि उत्तिकै छ ।

 बैङ्कमा भीड हुनुलाई खनाल अनलाइन पेमेन्ट भन्दा पनि बैङ्कलाई नै धेरैले विश्वास गरिएको बुझिएको बताउँछन् । पहिलो दिनमा आवेदकहरुको भीड हुने यो पहिलो होइन । हरेक साल अन्य दिनको तुलनामा पहिलो दिन भीड हुने गरेको ईपीएस प्रमुख खनाल बताउँछन् । 

पहिलो चरणको परीक्षामा १० हजार ५० जना पास हुन्छन् र उनीहरुलाई दोस्रो चरणको परीक्षामा सामेल गराइन्छ । दोस्रो चरणमा सीप परीक्षण हुन्छ । त्यसपछि मात्र कोरिया जानका लागि योग्य मानिन्छन् । पास भएका सबै कोरिया जान पाउँछन् भन्ने छैन । खनालका अनुसार सन २०१९ को अन्त्यतिर कामदारहरु कोरिया जानेछन् । आजबाट खुलेको कोरियान भाषा परीक्षाको आवेदन चैत १७ गते रातको  १२ बजेसमम भर्न पाइनेछ । उनीहरुको परीक्षा भने जेठमा हुनेछ । 

कति हुन्छ कमाइ ?

सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) सुरु गरेको हो । सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार कोरियाले लैजाने जनाइएको छ । त्यसैको भाषा परीक्षाको लागि बिहीबार साँझ १२ बजेबाट आवेदन खुला भएको हो ।

कोरियामा कृषि, म्यानुफ्याक्चरिङ कम्पनीलगायतका लागि नेपाली कामदार लगिँदै आएको छ । कोरियामा भाषा परीक्षा उत्तीर्ण गरेर गएकाले न्यूनतम १ लाख ५० हजारदेखि अधिकतम ३, ४ लाखसम्म कमाउन सक्छन् । कोरियाले नेपाली कामदार इमानदार र मिहिनेती भएको भन्दै नैपालबाट लैजाने कामदारको सङ्ख्या पछिल्लो समय बढाउँदै लगेको छ । 

आवेदन भर्ने तरिका

कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ । 

विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायत प्रणालीबाट आवेदकले कुनै लाइन नबसी दरखास्त दस्तुर बुझाउन सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । 

शाखाका निर्देशक कृष्णप्रसाद खनालले गतवर्षदेखि आवेदन फाराम भर्ने प्रक्रिया अनलाइनबाटै बनाइएको र यस वर्षदेखि परीक्षा दस्तुर अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको बताए । 

उनले भने, ‘गत वर्ष परीक्षा दस्तुर बुझाउने क्रममा आवेदकले निकै सास्ती खेप्नुपरेको थियो, बैंकमा निकै लामो लाइन थियो, तर यसपटकदेखि अनलाइन प्रणालीबाट तिर्न सकिने व्यवस्था गरिएको छ, अनलाइन पहुँच हुनेले अनलाइनबाटै भुक्तानी गर्न सक्नेछन् भने अन्यले ग्लोबल आइएमई बैंकका कमलादीबाहेकको सम्पूर्ण काउन्टरबाट भुक्तानी गर्न सक्नेछन् ।’ 

आवेदन फाराम भर्ने र अनलाइन भुक्तानी गर्ने प्रक्रियाको जानकारी इपिएस कोरिया शाखाको वेबसाइट eoers.epsnepal.gov.np  लगइन गरी लिन सकिनेछ । आवेदन फाराम भर्ने समयावधि झन्डै १० दिनको रहेको भन्दै उनले आवेदकलाई आतुर नगर्न आग्रह गरे । 

फाराम निःशुल्क भर्न सकिने

परीक्षा दस्तुरबाहेक आवेदकले अन्य कुनै थप शुल्क व्यहोर्नु नपर्ने इपिएस कोरिया शाखाले स्पष्ट पारेको छ । 

फाराम भर्ने नाउँमा बिचौलियाको प्रभाव पर्न सक्ने भन्दै शाखाले आवेदकलाई तोकिएको परीक्षा दस्तुर २४ अमेरिकी डलरबाहेकको अतिरिक्त शुल्क नबुझाउन आग्रहसमेत गरेको छ । 

आवेदकले दरखास्त भर्ने अघिल्लो दिन नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसारको दरखास्त दस्तुर बुझाउनुपर्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप