शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एक पत्नीपीडितको कथा : सम्पत्ति सिध्याएर श्रीमतीले पराई रोजेपछि बहु–विवाहको मुद्दा !

शुक्रबार, १५ चैत २०७५, १३ : २८
शुक्रबार, १५ चैत २०७५

सिन्धुलीका प्रज्वल खत्री (नाम परिवर्तन) हङकङ बस्थे । हङकङस्थित अमेरिकी दुतावासमा जागिर भएका प्रज्वलका दुई सन्तान र श्रीमती नेपालमै थिए । हङकङबाट पठाएको पैसाले काठमाडौँको नैकापमा घर बनाएका थिए, छोरा–छोरीलाई राम्रो स्कूलमा पढाएका थिए ।

वर्षमा एक दुईपटक नेपाल आउँथे, केही दिनको छुट्टी सकेर उनी पुनः परदेश फर्कन्थे । हङकङमा पसिना बगाएर बनाएको नैकापको घर श्रीमतीको नाममा राखेका थिए ।

सव ठीकठाक चलिरहेको प्रज्वलको खुसी परिवारमा यसै वर्ष ठूलो भूकम्प आयो । नैकापको घर श्रीमतीले बेचिन्, अनि त्यो पैसा छिमेकी च्याम्बा तामाङ्गलाई दिइन् । च्याम्बाले त्यही पैसाले सितापाईलामा पेट्रोल पम्प सञ्चालन गरे, नाम राखे ‘नारायणी पेट्रोल पम्प’ ।

त्यतिमात्रै हो र ? प्रज्वलको श्रीमतीलाई च्याम्बाले आफ्नो बनाए । १६ वर्ष र १४ बर्षका छोरा–छोरी पनी च्याम्बासँगै बस्न थाले ।

सँधैजसो प्रज्वल हङकङबाट यसपटक छुट्टीमा आउँदा थाहा भयो, उनीसँग न सम्पत्ति थियो न श्रीमती न छोरा छोरी ! सवै कुरा च्याम्बाले आफ्नो बनाइसकेका थिए ।

त्यसपछि उनी श्रीमतीबिरुद्ध बहु–विवाहको जाहेरी बोकेर प्रहरी कार्यालय धाउन थाले । प्रहरीले पटक–पटक च्याम्बाको जेठी श्रीमतीको तर्फबाट जाहेरी आउनुपर्ने भन्दै उनलाई फर्काइरह्यो ।

एकदिन उनले महानगरीय प्रहरी परिसर टेकुमा गएर आफ्नो संसार कसरी उजाडियो भन्नेबारे कथा सुनाए । उनको कथा सुनेर प्रहरी कर्मचारी स्तब्ध भए, अनि प्रज्वलालाई न्याय दिनका लागि संभवत नेपालमै पहिलोपटक पत्नीपीडित श्रीमानको तर्फबाट श्रीमतीबिरुद्ध बहु–विवाहको उजुरी दर्ता भयो ।

‘श्रीमानले दिएको बहु–विवाहको उजुरीका आधारमा हामीले च्याम्बा र उसँग विवाह गर्ने महिलालाई नियन्त्रणमा लिएका छौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले भने, ‘बहु–विवाह मुद्दामा म्याद लिएर थप अनुसन्धान गरिरहेका छौँ ।’

च्याम्बा नैकापका रैथाने हुन् । श्रीमान् विदेश गएको थाहा पाएपछि उनले प्रज्वलको श्रीमतीलाई मायाजालमा फँसाएका थिए । उनकै मायामा फस्दा प्रज्वलकी श्रीमतीले नैकापको साढे दुई तले घर समेत बेचेको सबै पैसा पेट्रोल पम्प खोल्न भन्दै च्याम्बालाई नै सुम्पेकी थिइन् । च्याम्बाको जेठी श्रीमती र दुई बच्चा छन् ।

फागुन ३० गते महानगरीय प्रहरी परिसर काठमाडौँ मातहतको महिला तथा बालवालिका सेवा केन्द्रमा जाहेरी दर्ता भएपछि प्रहरीले च्याम्बा र प्रज्वलको श्रीमतीलाई स्वयम्भुबाट पक्राउ गरेको थियो ।

विवाह गरेर स्वयम्भुमा फ्ल्याट लिएर बसेको खुलेपछि प्रहरीले नव विवाहित जोडीलाई पक्राउ गरेको थियो । कालिमाटीस्थित महिला तथा बालवालिका सेवा केन्द्रले घट्नाबारे अनुसन्धान गरिरहेको छ ।

च्याम्बा तामाङ्गको तर्फबाट उनका आफन्तले सर्वोच्चमा ‘बन्दी प्रत्यक्षीकरण’ रिट हालेका थिए, तर उक्त रिट खारेज भएको छ ।

कानुन अनुसार पुरुषले पनि आफ्नो श्रीमती अर्कैसँग विवाह गरेर गएमा बहु–विवाहको जाहेरी दिन सक्ने व्यवस्था छ । तर, अहिलेसम्मको अभ्यासमा जेठी श्रीमतीले आफ्नो श्रीमान र कान्छीबिरुद्ध जाहेरी लिएर प्रहरीसमक्ष पुग्ने गरेका थिए । कानुनले अपराध भएको देख्ने जान्ने जो सुकैले जाहेरी दिन सक्ने व्यवस्था गरेको छ ।

मुलुकी अपराध संहिता–२०७४ को दफा १७५ अनुसार कुनै पुरुष विवाहित छ भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नुहुँदैन । बहु–विवाह गर्ने पुरुष र महिला दुवैलाई १ वर्षदेखि ५ बर्ष कैद र १० देखि ५० हजार जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप