केन्द्रीय संस्करण
मेराे जीवन

व्यवसायी उपेन्द्र महतोको जीवन : केही व्यक्तिलाई विश्वास गर्नु मेरो भूल रहेछ

person explore access_timeचैत २३, २०७५ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

उपेन्द्र महतो उद्योगपति हुन् । जो रसिया र नेपालमा बसोबास गर्ने गर्छन् । रसियामा उनी रसिया नेपाल उद्योग व्यवसाय सङ्घका अध्यक्ष समेत रहेका छन् । एनआरएनका संस्थापक अध्यक्ष समेत रहेका उनी १९९० देखि व्यवसायमा आबद्ध छन् । महतोको रसियामा इलेक्ट्रोनिक्स, तेल, भवन निर्माण, बैङ्क, तथा मेसिनहरुको कारोबार रहेको छ । यसको अलवा युरोप, अफ्रिका, एसिया, नेपाललगायत देशमा समेत उनको लगानी छ । भारतको प्रसिद्ध ब्रान्ड पताञ्जली आयुर्वेद नेपाल समेत भित्र्याएका उनको एनसेलमा पनि सेयर रहेको छ । सिराहा जिल्लाको एउटा सामान्य गाउँ कर्जनहामा १९६० मा  जन्मिएका महतोसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

मेरो खाना
म गाउँमा जन्मिएको मानिस हुँ । त्यसैले खिचडी र आलुको चोक्रा नै बढी मनपर्छ । सानैदेखि मेरो अगाडि जे खानेकुरा राखिदिए पनि खान्थेँ । यो कुरा अहिले पनि घरमा आफूभन्दा ठूलाले गर्ने गर्नुहुन्छ । यो खाना नराम्रो, यो नमिठो मैले कहिल्यै महशुस गरेको छैन । सबैभन्दा बढी मीठो लाग्ने भनेको खसीको मासु हो । त्योबाहेक अन्य सबै उस्तै ।
१९८२ मा अध्ययनका लागि रसिया जानुपूर्व म केही पनि पकाउन सक्दिन थिएँ । पकाउन उता गएपछि सिकेँ । पकाउन रमाइलो लाग्छ । विदेश हुँदा परिवारसँग रेस्टुरेन्ट गएर पनि खान्छु । तर नेपालमा घरमै खान मनपर्छ ।

मेरो पोसाक
अफिसमा बाध्यताले टाईसुट लगाउनै पर्छ । अन्य समय मनपर्ने पहिरन सर्ट पाइट नै हो । मनपर्ने कलर निलो हो । पहिरनका लागि ब्रान्ड कन्सेस छैन । तर विदेशमा बाध्यताले ब्रान्ड रुचाउनुपर्छ । राम्रोभन्दा पनि एक किसिमका सेट देखाउन पनि ब्रान्ड रोज्नुपर्ने बाध्यता छ । म बिरोडी ब्रान्ड मन पराउँछु । पोसाकमा वार्षिक ६०, ७० हजारभन्दा बढी खर्च छ ।

मेरो फिट्नेस
नियमित रूपमा बिहान योगा गर्छुु । मर्निङ वाक पनि गर्ने गरेको छु । ध्यान पनि गर्छु ।

मेरो अध्ययन
म अध्यायन रुचाउने मानिस हुँ । पुस्तकहरु बढी पढ्छु । मेरो जीवनमा ट्राभल बढी हुन्छ । ट्राभल गर्ने बेलामा अध्ययन गर्ने बानी छ । अहिले वैज्ञानिक गुरु आदित्यको ‘ज्योती पथ’ भन्ने पुस्तक अध्ययन गरिहेको छु । बिजनेससम्बन्धी पुस्तक बढी रुचाउँछु ।

मेरो घुमफिर
घुमफिर मेरो सबैभन्दा बढी रुचिको विषय हो । घुमफिर टुरिस्ट एरियाभन्दा पनि व्यावसायिक सेन्टरहरु गर्छु र मनपर्छ । अहिलेसम्म देशको ५५ जिल्ला घुमेँ होला । विदेशका कुरा गर्ने हो भने नेपालका जिल्लाभन्दा बढी विदेशी मुलुक घुमेको छु । त्यस्तै ८० राष्ट्र पुगेँ होला ।

मेरो फुर्सद
फुर्सद हुने होइन, निकाल्ने हो । मलाई फुर्सद कमै हुन्छ । एक्लै बस्न पाए हुन्थ्यो । आराम गर्न पाए हुन्थ्यो । कहिले काहीँ मन त लाग्छ । तर फुर्सद कमै हुन्छ । फुसर्दको समय रसिया हुँदा लङ टेनिस खेल्छु । साथीहरुसँग स्विमिङ जाने गर्छु । परिवारसँग घुम्न जान्छु । 


  
मेरो मोबाइल
अहिले मसँग ३ वटा मोबाइल छ । दुईवटामा नेपाली सिम र एउटा जुन देशमा हुन्छु । त्यही देशको सिम प्रयोग गर्छु । कुराकानी र इमेलका लागि मात्र हो मोबाइल । म कुनै पनि सामाजिक सञ्जाल चलाउँदिनँ । सामाजिक सञ्जालमा रमाउने समय पनि छैन । समय नभएपछि त्यसमा रह्यो भने अप्ठ्यारो हँुदो रहेछ । समय नभएको मानिसले यो चलाउने पनि होइन जस्तो लाग्छ । 

मेरो खेलकुद
खेलकुद ठिकै लाग्छ । म लङ टेनिस खेल्छु । पहिला पहिला फुटबल र भलिबल खेल्थेँ । स्कुलमा हुँदा जिल्ला स्तरीय प्रगियोगितामा पनि भाग लिन्थेँ । पुरस्कार पनि जित्थँे । खेलमा पहिलो भएको छैन । दोस्रासम्म भएको रेकर्ड छ । अहिले हेर्न पनि फुटबल मनपर्छ । पछिल्लो समय नेपालले क्रिकेटमा प्रगति पनि गरिरहेको हुनाले क्रिकेटमा पनि स्वाद बढेको छ । 

मेरो टिभी
प्रायः साँझ टिभी हेर्ने गरेको छु । टिभीमा बढी हेर्ने भनेको देश विदेशका समाचार नै हुन् । सिरियलहरु मन पर्दैन । आर्थिक विषयका कुरा, विकास निर्माणका कुरा, पोजेटिभ डेभलपभेन्टका कुरामा बढी रुचि राख्छु । मेरो घरमा ७२ इन्चको सोनी ब्रान्डको टिभी छ । 

मेरो चलचित्र
चलचित्र हेर्छु । पछिल्लो समय नेपालमा रहँदा नेपाली फिल्म पनि हेर्ने गरेको छु । बढी हेर्ने भनेको हिन्दी चलचित्र हो । त्यो पनि प्लेनमा । नेपालमा चाहिँ कहिले कहिले हलमा गएर हेर्ने गरेको छु । पछिल्लो समय हेरेको फिल्म ‘सत्रु गते’ हो । 

फिल्ममा अहिले नै लगानी गरिहाल्ने सोच त छैन । नेपाल र नेपालभन्दा बाहिर नेपाली चलचित्र र गीत सङ्गीत मन पराउने जत्था धेरै छन् । त्यसबाट मैले नेपाली फिल्म र गीतसङ्गीतको एउटा ठूलो मार्केट रहेको सम्भावना देखेको छु । 

मेरो रोग
सानै उमेरमा आमा गुमाउनुपर्यो । त्यो समय सक्ड भएर होला सायद ब्लड प्रेसर छ । अन्य रोग केही छैन, नहोस् पनि । 

मेरो भाषाशैली
मलाई शुद्ध नेपाली नै बोल्न मनपर्छ । बढी म नेपाली बोल्छु । त्यसपछि रसियन र अङ्ग्रेजी पनि । चाप्लुसी गरेर बोलेको, भूमिका बाधेर, समय लिएर बोलेको मनपर्दैन । बुझ्ने गरेर बोल्नुपर्यो घुमाएर कुरा गरेको भन्दा सिधा भनेको मनपर्छ । 

मेरो प्रेम
मैले एरेन्ज म्यारिज गरेको हो । प्रेम गर्ने मौका पाइएन । सायद त्यसैले त्यसको अनुभव पनि भएन । विवाहपछि श्रीमतीसँग प्रेम भयो । त्यो अहिले पनि जारी छ । 

मेरो मापसे 
मापसे गर्दिनँ भनेर भन्यो भने ढाँटेको जस्तो हुन्छ । तर कहिलेकाहीँ धेरै कम खान्छु । रसियामा एउटा परम्परा नै थियो । प्रायः बिजनेस म्यानले मापसे गर्नुपर्ने । भर्खर बिजनेस सुरु गर्दा म पनि त्यो समहुमा थिए । पछिल्लो समय कहिलेकाहीँ मात्र लिन्छु । घरमा त्यस्तो रक्सी सजाएर राख्ने बानी पनि छैन । ब्रान्ड कन्सेस छैन । खानै परे चिभास् मनपर्छ । 

मेरो सङ्गीत
सङ्गीत मनपर्छ । पुराना, जीवनका बारेमा गहिरियर लेखिएका, यथार्थपरक गीतसङ्गीत नै मनपर्छ । पुराना हिन्दी फिल्म हेर्ने गरेर होला सायद यस्ता गीत पनि धेरै सुन्छु । गीतसङ्गीत मानिसको जीवनको एउटा फिलिङ हो । यसले मनको भावना उजागर गर्ने काम गर्छ । मनको घाउमा पनि मल्हमको काम पनि गर्छ । सङ्गीत सुख, दुःख दुवैको साथी हो । 

मेरो खुसी 
आफू सन्तुष्टि भएको, आफैले आफूलाई नढाँटे जस्तो भयो भने त्यो नै खुसी हो । १९८२ मा अध्ययनका लागि मैले रसिया जाने छात्रवृत्ति पाएको दिन जीवनको सबैभन्दा खुसीको क्षण हो ।

मेरो भूल
भूल त धेरै गरिएको होला । मेरो विचारमा कोही मानिस छैन होला, जसले गल्ती नगरेको होस् । ग्रन्थ हेर्ने हो भने पनि भगवानले त गल्ती गरेको देख्न सकिन्छ । भूलबाट सिक्न सकिएन भने त्यो सबैभन्दा ठूलो गल्ती हो । मैले केही व्यक्तिलाई आँखा बन्द गरेर विश्वास गरेको थिए । ती व्यक्तिलाई विश्वास गर्नु मेरो भूल रहेछ । त्यो मलाई पछुतो छ । कसैलाई आँखा बन्द गरेर विश्वास गर्नु हुँदैन भनेर पनि पाठ सिकेँ ।

मेरो घर
घर काठमाडौँमा पनि छ । गाउँमा पनि छ । काठमाडौँमा १९८९ मा जब व्यवसाय सुरु गरेँ तब जग्गा किनेँ । तीन वर्ष जग्गा किन्न लाग्यो । पहिलो घर भैँसेपाटीमा बनाए । अहिले बस्दै आएको घर त्यही हो । 
धेरै मोडन छैन । राम्रो तथा साधारण बनाएको छु । हेराउने जुराउने गरिनँ । रसियामा पढेको भएर होला सायद मेरो मन यसतिर गएन । शङ्का भयो भने डर हुन्छ । त्यसैले मैले हेराउने काम कहिल्यै गरिनँ । 

मेरो राशि
राशि मेरो वृष हो । ग्रहदशा हेराउनु भनेको मन डराउनु हो भन्ने लाग्छ ।  त्यसैले हेराउँदिन । पूजापाठभन्दा पनि बिहान ध्यान गर्छु । ध्यान गर्दा मन्दिर भएको कोठामा गर्यो भने ध्यान लाग्दो रहेछ । 

मेरो सपना
भन्दा धेरै ठूलो देखिन्छ, म जिउँदै छँदा नेपाल एउटा समृद्ध देश भएको हेर्ने सपना छ । यो सैद्धान्तिक सपना हो जस्तो पनि लाग्दैन । हामीले यो पूरा गर्नुपर्छ । म एक्लैले सक्दिनँ । 

मेरो मृत्यु
मृत्यलाई सहज लिन्छु । दोस्रो जन्म छ कि छैन । मृत्यु ध्रुव सत्य हो । जन्मेपछि मर्नुपर्छ भन्ने निश्चित छ । दोस्रो जन्म छ । त्यसैले यो जन्ममा नराम्रो काम गर्नु हुँदैन । त्यो कामले अर्काे जन्ममा पनि पिर्न सक्छ । मृत्युपछि पनि बाँचिरहने गर्न सधँै कोसिस गर्नुपर्छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...