पुलिसबाट भागेका चोरलाई जब पुलिसले नै उद्दार गर्नुपर्यो (भिडियो)
चीनको हुनान प्रान्तको जियांगमा पुलिसबाट भागेका चोरलाई पुलिसले नै उद्दार गर्नुपरेको छ । पुलिसले समात्ने डरले आफू बसेको भवनको झ्यालबाट भाग्ने कोसिस गर्ने क्रममा उनी २२ औं तल्लामा नराम्रोसँग फसे ।
पुलिसका अनुसार चोर पर्वतारोही झैं भवनबाट तल ओर्लिरहेका थिए । यसैबीच सन्तुलन बिग्रिएपछि उनी झ्यालमा झुण्डिए । आफूलाई बचाउनका लागि उनी चिच्याइरहेका थिए । उनलाई पक्राउ गर्न आएका पुलिस उनको उद्दारमा खटे ।
युवकको आपराधिक रेकर्ड पनि भएको र उनी लागूऔषधका दुर्व्यवसनी पनि रहेको बताइन्छ ।
युवकले मार्च २४ तारिखमा चक्कु देखाउँदै एक स्थानीय पसलमा लुटपाट गरेका थिए । आरोपीले स्टोरबाट एटिएम कार्ड चोरेर खाताबाट १० हजार युआन (एक लाख ६५ हजार रुपैयाँ) निकालेका थिए । घटनापछि उनको व्यापक खोजी भइरहेको थियो ।
करिब तीन दिनअघि पुलिसले अनुसन्धानको क्रममा स्टोरमा चोरी गर्ने व्यक्ति उक्त भवनमा लुकेको जानकारी पायो । त्यसपछि पुलिस साइरन बजाउँदै अपार्टमेन्टमा छापा मार्न पुग्यो । यद्यपि, साइरन सुनेपछि आरोपीले सिँढी र लिफ्टको साटो भवनको झ्यालबाट भाग्ने कोसिस गरे । बाहिर निस्कने क्रममा उनी एक भ्यालमा फसे ।
उद्दार अघि एक पुलिस अधिकारीले उनलाई आत्मसमर्पण गर्नका लागि सम्झाए । उनले भने, ‘यदि तिमी आत्मसमर्पण गर्छौ भने तिमीसँग बाँच्ने एउटा मौका छ । तिमी जवान छौं, तिम्रो अगाडि पूरा जीवन छ ।’
पुलिसका अनुसार यी युवक सन् २००३ मा पनि चोरीको आरोपमा तीन वर्षका लागि जेल गइसकेका छन् । पाँच वर्षपछि उनलाई लागुऔषध सेवन गरिरहेका बेला पक्राउ गरिएको थियो । त्यसपछि उनलाई तीन महिनाका लागि पुनर्वास केन्द्र पठाइएको थियो ।
आरोपी २०१७ मा पनि जेल गइसकेका छन् । उनका अनुसार जेलबाट निस्किएपछि उनी आफ्ना साथीसँग मिलेर व्यापार सुरु गर्न चाहन्थे । यसका लागि पैसाको आवश्यक पर्दथ्यो त्यसैले उनले स्टोरमा चोरी गरेको बताए ।