शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा

बिहीबार, ०५ वैशाख २०७६, १५ : ३७
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौं– ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो । 

करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारी साधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी आवतजावतमा सहज हुनाका साथै दुर्घटनामा कमी आएको महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिए । 

गत चैत २१ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौँ उपत्यकालाई नमूना राजधानीका रुपमा विकास गर्न गरेको प्रतिबद्धताअनुसार ट्राफिक प्रहरीले तीनमहीने कार्ययोजना बनाएर काम शुरु गरेको हो । 

महाशाखाले हालसम्म सुकेधारा, गौशालाचोक, धुम्बाराही, चप्पलकारखाना र शङ्खपार्कमा आठवटा जेब्राक्रसिङ निर्माण, चाबहिल र सुकेधारामा स्टप लाइन निर्माण, दुई हजार ६७० मोटरसाइकल तथा स्कुटरलाई ट्राफिक सचेतना कक्ष सञ्चालन गरिसकेको छ । 

यस्तै ५०१ प्रदूषण फेल भएका सवारी साधनलाई कारवाही, चावहिलदेखि सुकेधारासम्म सडकको बीच भागमा लाइन निर्माण तथा नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म, थापाथलीदेखि सोल्टीमोडसम्म र लाजिम्पाट क्षेत्रका फुटपाथ हटाइएको महाशाखाले जनाएको छ ।  

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले तीनमहीने कार्ययोजना बनाएर काम गरेको जानकारी दिए । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उपत्यकाभित्रको ट्राफिक सुधारका लागि कार्ययोजना महत्वपूर्ण भएको बताए । 

यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारी साधन सञ्चालनमा रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप