शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अनशनरत नर्सहरुको जीवन रक्षाको अपिल

मङ्गलबार, ०७ जेठ २०७६, १६ : ५३
मङ्गलबार, ०७ जेठ २०७६

काठमाडौं– ‘नेपालका लागि नेपाली’ अभियानले नर्सहरुको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारकाबिरुद्ध सत्याग्रहमा रहेका नर्सद्धय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल गरेको छ । नर्सद्धय बराल र शेर्पा भक्तपुरस्थित् शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा अनशनरत छन् । 

मंगलबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त अभियानले यस्तो अपिल गरेको हो । कार्यक्रममा बोल्दै ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता डा.सुरेन्द्र भण्डारीले अनशनरत नर्सको जीवन रक्षाको सवालमा राज्य गम्भिर बन्नुपर्ने धारणा राखे । 

सरकारी पक्ष र अनशनरत पक्षबीच चाँडोभन्दा चाँडो वार्ता हुनुपर्ने र पेशागत हकहितमा रहेका जायज मागहरु पुरा गर्न सरकार गम्भिर बन्नुपर्ने भण्डारीको आग्रह छ ।  त्यस्तै, कार्यक्रममा बोल्दै नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले देशमा अहिले लगभग ४० हजार नर्सको आवश्यकत्ता रहेको बताउँदै एउटा नर्सले आइसियुमा आठ जना बिरामीहरुलाई हेर्नुपर्ने बाध्यता रहेको सुनाईन् ।

सरकारी कोटामा विदेश पढ्न जाने अवसर सरकारले नदिएपनि व्यक्तिगत रूपमा अध्ययनका लागि विदेश जान चाहने नर्सहरुलाई सरकारले अवसर प्रदान गर्नुपर्ने उनको माग छ । नर्सहरुको कार्यस्थलमा सुरक्षाको प्रत्याभूति पनि नभएको भन्दै उनले नर्सहरुमाथि अत्याचार कायमनै रहेको पनि गुनासो पोखिन् । सरकारले देशभरिका नर्सहरुको हकहित र भोग्दै आएका समस्याहरुको सम्बोधन हुनेगरि जारी गरेका मागहरु लागू हुनुपर्ने उनको धारणा छ ।

त्यस्तै, नर्सिङ युनियनकी अध्यक्ष जानकी केसीले स्नातकोत्तर गरिसकेको नर्सहरुले अहिले नेपालमा स्टार्फ नर्सले गर्र्ने व्यवहार भोग्दै आइरहेको बताइन् । जारी आन्दोलन नर्सिङ सेवा क्षेत्रभित्र रहेका समस्याहरुको आवाजको रुपमा रहेका बताउँदै उनले नर्सिङ पेशालाई मर्यादित बनाउन माग गरिन् ।

अहिले आफुहरुले पाउनुपर्ने मानव अधिकार नपाइरहेको बताउदै उनले दुर–दराजमा रहेका नर्सहरुको अवस्था के होला भन्दै सम्बन्धित क्षेत्रलाई बेलैमा सोच्न आग्रह गरिन् । त्यस्तै कार्यक्रममा बोल्दै नर्स सिमा धतान बिश्वकर्माले अनशनरत नर्सद्धय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको माग राखिन् ।

त्यस्तै, कार्यक्रममा बोल्दै नर्स कविता आचार्यले आफुहरुको पीडा पोख्नकै लागि सडकमा आउनुुपरेको जानकारी गराइन् । कार्यस्थलमा हुनुपर्ने सुरक्षालगायत आफ्ना समस्यामाथि ध्यान नपु¥याएको बताउँदै आफुहरुलाई नागरिकको रुपमा हेर्न आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै अर्की नर्स सम्झना डङगोलले अनसनरत नर्सहरुको जीवन रक्षामा ध्यान दिन आग्रह गरेकी छिन् । स्वास्थ क्षेत्रसँग सम्बन्धित सम्पूर्ण कर्मचारीको हकअधिकारको सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिइन्  । 

अनशनरत नर्सद्धय बराल र शेपाले अघि सारेका मागहरु 

१ विश्व स्वास्थ संगठनको नीति बमोजिम नर्स र बिरामीको अनुपात मिलाउने ।

२ नर्सहरुको उचित सम्मान गर्दे तहगत पारिश्रमिक तथा सेवा सूविधाको व्यवस्था सबै स्वास्थ संस्थाहरुमा गराउने ।

३ नर्सिङ परिषद्मा सबै पदका पदपुर्ति गरी नर्सिङ शिक्षाका गुणस्तरीयता र नर्सिङ शिक्षाको गुणस्तरियत सुरक्षित गर्ने ।

४ नर्सिङ महाशाखालाई क्रियाशील बनाई नर्सिङ पेसा व्यवस्थित गर्ने ।

५ नर्स तथा स्वास्थकर्मीमा कुनै भेदभाव नगर्ने ।

६ नर्सको मानव अधिकार स्थापित गराउने ।

७ नर्सहरुमाथि हुने कार्यस्थल हिंसाको विशेष कानुन निर्माण गर्ने ।

८ नर्सिङ सेवा सम्बन्धित कानुन निमार्ण गर्ने ।

९ प्रत्येक स्थानीय निकाय र स्वास्थ चौकीहरुमा कम्तिमा चारजना नर्सहरुको दरबन्दी हुनुपर्ने ।

१० संघ, प्रदेश र स्थानिय निकायहरुमा नर्सिङको छुट्टै शाखा बनाउनुपर्ने र समायोजन समितिमा नर्स हुनुपर्ने ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप