केन्द्रीय संस्करण

छिमेक नीतिमा भारतको ठूलदाइपनः विमानस्थलमा अवरोध !

person explore access_timeजेठ २६, २०७६ chat_bubble_outline1
कमल रिजाल

रातोपाटी

प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो पटकको शपथग्रहणसँगै छिमेकमा भारतीय दादागिरी पुनः सुरु भएको छ । भारतीय जनतापाटी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले हालै सम्पन्न सत्रौँ लोकसभा निर्वाचनमा सानदार विजय हासिल गरेको थियो । भारत यतिखेर त्यसैको दम्भ प्रदर्शन गर्दैैछ । गत शुक्रबारबाट यसको विधिवत सुरुवात गरेको छ सप्तरी हनुमान नगरबाट ।

यसैका कारण कङ्कालिनी नगरपालिका १३ गोबरगाढाका ९० घरपरिवार कोसी नदीको बहावमा घेरिन पुगेका छन् । नदीको प्राकृतिक बहाव हनुमान नगरको पूर्वी भागमा पर्छ तर उसले एकतर्फी बनाएको पश्चिमतर्फको पाइलट च्यानलमा विनासूचना पानी छाडिदिँदा यस्तो अवस्था आएको हो । गोबरगाढामा करिब ३०० घरधुरी नेपाली बस्दै आएका छन् । 

यसको लगत्तै उसले नेपालीमाथि अर्को दम्भ प्रस्तुत गरेको छ । उसको मिचाहा प्रवृत्तिका कारण ११ जना नेपाली तीर्थयात्री इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिनुपरेको थियो । बोर्डिङ्पास लिएर उड्ने तरखरमा रहेका उनीहरूलाई यस कहिल्यै नसुनिएको नियम तेस्र्याएर जुन बाटो आएको हो, त्यही बाटो जानुपर्छ भन्यो, फिर्ता गरिदियो  । केही समय अघि तीर्थयात्रका लागि त्यता लागेका यी नेपाली तीर्थयात्रीले जाँदा आफू अनुकूल रेल तथा बस प्रयोग गरेका थिए तर फर्कंदा भने अत्यधिक गर्मीका कारण विमानको टिकट लिएका थिए । न उनीहरूले टिकटको पैसा फिर्ता पाए न बस्ने खाने व्यवस्था नै भयो । चर्को गर्मीको मार आफ्नो स्थानमा छँदैछ । 

 पहिले भारत हुँदै तेस्रो मुलुक जाने नेपालीहरूले घर फर्कंदा सजिलै प्रवेश पाउँथे भारतीय नाकामा । उनीहरूले न रोकतोक गर्थे न सोधखोज नै तर हाल उनीहरूसँग समेत राहदानी माग्न थालिएको छ । त्यही मुलुक हुँदै तेस्रो मुलुक जाँदा राहदानी नचाहिने उताबाट घर फर्किंदा भने राहदानी देखाउनुपर्ने कस्तो नियम हो यो ? यसलाई अनावश्यक दुःख दिने अचाडु र मिचाहा प्रवृत्ति नभनेर के भन्ने ?  यी केही प्रतिनिधि घटना हुन् । यस्ता उदारहण अनगिन्ती छन् जसले गर्दा विनाकारण सिधासाधा नेपालीले दुःख पाउनुपरेको छ । कहिले कोसी बाँध एकलौटी पूरै थनिदिन्छ, कहिले पूरै खोलिदिन्छ । कहिले नेपाली घरआगनमा प्रवेश गरी आतङ्क मचाउने गर्छन् । यसैका लागि हेटौँडासम्म आइपुगेका थिए केही समय अघि बर्दीसहित भारतीय सुरक्षाकर्मी ।  

मोदीको अगिल्लो पटकको सत्तारोहणसँगै अनपेक्षित नाकाबन्दी ब्योहोर्नुपरेको थियो । अनेका बाहनामा यतिबेला पुनः त्यसैलाई निरन्तरता दिन खोजिँदै छ । उनको २५ सदस्यीय वर्तमान मन्त्रिपरिषद्का विदेश मन्त्रीमा पूर्वपरराष्ट्र सचिव सुब्रह्मण्यम जयशङ्कर छनोट भएका छन् । यो उनीहरूको आन्तरिक मामिला हो तर जयशङ्करको नियुक्तिलाई सहज मान्न सकिरहेका छैनन् अधिकांश नेपालीले । जयशङ्कर लोकसभाका निर्वाचित सदस्य पनि होइनन्, भाजपाका खाटी कार्यकर्तामा पनि पर्दैनन् । उनी जत्तिकै काविल व्यक्ति अरू नभएका पनि होइनन् । तैपनि आठवटा देशसित सीमा जोडिएको भारत जस्तो विशाल मुलुकको विदेशमन्त्रीमा उनकै खोजी हुनुले आशङ्का गर्ने ठाउँ दिएको छ । जयशङ्कर नेपालका लागि त्यति प्रिय नाम होइन । उनले संविधानसभाबाट संविधान जारी गर्ने बेला जुन किसिमको कूटनीतिक मर्यादा विपरीत हर्कत प्रस्तुत गरेका थिए, त्यसलाई नेपालीले अझै विर्सेका छैनन् ।  

छिमेकमा भारतीय दृष्टिकोण कहिल्यै सन्तुलित छैन, हुन सकेको छैन । उसको छिमेक नीतिमा सदैव ठूलदाइपन हाबी छ, हुन्छ भन्छन् जानिफकारहरू । व्यवहारमा पनि त्यस्तै देखिँदै आएको छ । सिक्किम यसै पनि पहिले नै लिसकेको छ, भुटानमा दबदबा कायमै छ । बङ्गलादेशसित बेलाबेलामा खटपट हुने गरेकै छ । श्रीलङ्का र मालदिभ्ससित पनि खासै राम्रो छैन । उसका लागि पाकिस्तान त यसै पनि जानी दुस्मन नै हो । दक्षिण एसियामा उसलाई टक्कर दिन सक्ने कुनै देश छ भने पाकिस्तान नै छ, बेलाबेलामा दिँदै आएको पनि । मोदीले शपथग्रहण समारोहमा त्यसैको केही तुष ओकलेका छन् । 

शपथग्रहण समारोहमा विमस्टेकका सदस्य राष्ट्रलाई निम्तो गर्न भ्याउने मोदी प्रशासनले सार्कका सदस्य राष्ट्र पाकिस्तानलाई देखेन छ । हजारभन्दा बढी पाहुना अटेका मोदीका अतिथिगृहमा छिमेकी मुलुक पाकिस्तानका समकक्षी इमरान खान अटेनन् । इमरान खान विगतका तुलनामा बढी नै उदारवादी पाकिस्तानी नेतृत्व मानिएका छन् । छिमेकमा विशेषगरी भारतसित मित्रता बढाउन चाहेको देखाउँछ उनको पछिल्लो गतिविधिले तर भारत त्यसलाई अनदेखि गर्दै आएको मात्र छैन भेट्नघाटलाई नै रुचाइरहेको छैन ।  

मोदी प्रशासनले विदेशी फोरममा पाकिस्तानलाई एक्ल्याउन चाहेको प्रतीत हुन्छ । कहिले पाकिस्तानले विदेशी पाहुनालाई दुव्र्यवहार गर्यो भन्छ कहिले देशभित्र र बाहिर भएको आतङ्कवादी घटनामा पाकिस्तानी हातको आरोप लगाउन पछि पर्दैन । घटनामा ‘इस्लामिक स्टेट’ को आशङ्का गर्ने वित्तिकै उसको हेराई पाकिस्तानतिर सोझिने गर्छ । हालै श्रीलङ्काको कोलम्बोमा भएको शृङ्खलाबद्ध बम विस्फोटमा पनि यस्तै भएको थियो, जतिबेला करिब ३५० भन्दा बढीको ज्यान गएको थियो । 

यी केही यस्ता उदाहरण हुन्, जुन भारतको छिमेक नीतिमा प्रयोग हुँदै आएको छ । विश्व अर्थतन्त्रमा उदीयमान राष्ट्रको हैसियत बनाएको भारत भौगोलिक र जनसङ्ख्याको हिसाबले पनि ठूलो राष्ट्र हो तर उसको सोच भने सो अनुरूप हुन सकिरहेको छैन । ऊ कुरो त छिमेकीको हितकै गर्छ तर व्यवहार भने त्यसको ठीक विपरीत हुने गर्छ । जति ठूलो भयो दिल पनि त्यति नै उदार हुनुपर्ने हो तर स्थिति त्यस्तो छैन । यसले अन्ततः अरूलाई भन्दा हानि भारतलाई गर्छ, जुन कुरो भारतले खासगरी मोदी प्रशासनले जति चाँडो मनन गर्यो त्यति नै राम्रो हुनेछ ।  
 

कमेन्ट

  1. June 9, 2019, 5:43 p.m. Shiv kr shrestha
    Mr Kamal Rijal You have a very good report But I works also like to request you that please check the website http://www.nepalimmigration.gov.np/ You will find that the revision of decision was taken by Nepal government of Immigration And thus the normal people of Nepal are suffering in transit via India Road ways or airways If it so then either Nepal gov should practice if visa or make travel free from India to third country Please report this as well in your presentation ..... Kind regards
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...