शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पटक पटक किन थपिन्छ गौतमबुद्ध विमानस्थलको म्याद ?

फेरि समय थप गर्ने तयारी
आइतबार, ०८ असार २०७६, १५ : ३४
आइतबार, ०८ असार २०७६

बुटबल– नेपालमा सानादेखि ठूलासम्मका आयोजना सम्झौता गरेको मितिमै सम्पन भएका उदाहरण निकै कम छन् । यस्तैमा सन् २०११÷१२ देखि चर्चा सुरु भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद अहिले तेस्रो पटक थप गर्ने तयारी भएको छ । 

विमानस्थलको भौतिक संरचना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सनलाई तेस्रो पटक ६ महिना म्याद थप्ने तयारी भएको हो ।

म्याद थपका लागि गौतमबुद्ध विमानस्थल निर्माण आयोजनाले प्रस्ताव पठाएको छ । आयोजना प्रमुख प्रवेश अधिकारले आफूहरुले प्राधिकरणलाई प्रस्ताव पठाइसकेको भए पनि निर्णय भने हुन बाँकी रहेको रातोपाटीलाई जानकारी दिए । 

सन् २०१३ मा टेन्डर आह्वान गरी सन् २०१४  चिनियाँ कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच काम गर्ने सम्झौता भएको थियो ।
त्यसपछि सन् २०१५ अर्थात् २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थलको  शिलान्यास गरेका थिए ।  तीन वर्षभित्र सम्पन गर्ने गरी उक्त आयोजनाको जिम्मेवारी चिनियाँ कम्पनीले पाएको थियो । 

तर चिनियाँ कम्पनीले राखेको सर्त र स्थानीय कम्पनीबीचको तालमेल नममिल्दा निर्माणको कामले तीव्रता पाउन सकेन ।  जसअनुसार तीन वर्षको अवधिमा  आयोजनाको काम जम्मा २७ प्रतिशत मात्र हुन नसकेको आयोजना प्रमुख अधिकारी स्मरण गर्छन् । 

त्यसपछि पहिलो पटक ६ महिनाको अर्थात  २०१८ जुनसम्म म्याद थप गरिएकोमा सो अवधिका  काम ४७ प्रतिशत पूरा भएको  थियो ।

 फेरि  दोस्रो पटक सन् २०१९ जुन अर्थात असार १५ सम्मको अवधिका लागि म्याद थप गरिएकोमा सो अवधिको म्याद पनि गुज्रिसकेको छ । 

२०७१ सालबाट निर्माण सुरु भएको उक्त आयोजनाको काम २०७४ सालमै सम्पन्न गर्नुपर्ने थियो । यसअघि २ पटक समय थप गर्दै ठेकेदारले असार १५ सम्मको समयसीमा पाएको थियो ।

यो अवधिमा उल्लेख्य काम भएको छ । भौतिक पूर्वाधारको रूपमा ७३ प्रतिशत काम सम्पन्न भएको मानिएको छ भने अन्य विद्युतीय, शौचालय पाइप फिटिङ, रङरोगनका काम पनि सुरु भएका छन् । अब थपिएको म्यादमा कुनै पनि हालतमा काम सक्ने परियोजना प्रमुख अधिकारीको दाबी रहेको छ । 

धावनमार्ग निर्माण सम्पन्न भए पनि टर्मिनल भवनको फाइनल फिनिसिङ तथा टावर तथा अन्य पूर्वाधारको काम पनि बाँकी रहेकाले कम्पनीले प्राधिकरणसँग सन् २०१९ को डिसेम्बरसम्मको थप समय माग गरेको उनले खुलाए ।  

भौतिक निर्माणको काम सुरुमा ६ अर्ब २२ करोडमा सम्झौता भएको थियो । गत वर्ष मात्र साढे ९ प्रतिशतको भेरियसन पास गरी करिब ७ अर्ब लागत पुगेको छ ।

सिस्टम जडान र भौतिक पूर्वाधारको कामसँगै जोडिएकाले पनि समय थप गर्नुपर्ने अवस्था आएको भन्दै आयोजनाले ठेकेदारको मागलाई सपोर्ट गर्दै पत्राचार गरेको  प्राधिकरणले जनाएको छ । 
पटक पटक म्याद थपका कारण यस्ता छन् 

२०७१ सालबाट निर्माण सुरु गरिएको विमानस्थल २०७४ सालमै सम्पन्न गर्नुपर्ने थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले  शिलान्यास गरेका थिए ।

ठेकेदारको ढिलासुस्ती मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीचको आपसी मतभेदका कारणले काम सम्पन गर्ने मितिसम्म आधा पनि काम भएन् । अनि चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले यहाँ स्थानीय कम्पनी हटाउनुपरेको थियो । 

जुन बेला तराई–मधेस आन्दोलन, भारतीय नाकाबन्दी, नदीजन्य सामग्रीको अभाव जस्ता कारणले आयोजना निकै पछि धकेलिएको थियो । यस्तै पेट्रोलियम पदार्थको अभाव पनि कारण रह्यो । 

 पछिल्लो समय आएर बुटवलमा नदीजन्य पदार्थ उत्खननमा विवाद र चितवनका क्रसरबाट ल्याउने  समानमा पनि ढिलाइ थियो । 

अहिले काम तीव्र रूपमा अगाडि बढेकाले म्याद थप गर्न गर्नुपर्ने ठेकेदार कम्पनीको माग छ । सोही  मागलाई समर्थन गर्दै प्राधिकरणले म्याद थप गर्नका लागि प्रस्ताव पठाएको हो । 

लागत नबढ्ने
  निर्माणको  सम्झौतामा  म्याद थपसँगै प्रायः लागत वृद्धि हुने गर्छ ।  विगतमा पनि  भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तै भएको थियो ।  तर अहिले म्याद थप गर्दा नेपाल सरकारलाई कुनै आर्थिक थप व्यायभार नबढ्ने भएको छ । 

म्याद थप भए पनि निर्माण कम्पनीले सुरुको सम्झौता रकम ६ अर्ब २२ करोड ५१ लाखमै काम गर्ने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । 

उनले म्याद थपपछि भेरिएसनको सम्भावना छ भनेर जुन किसिमको हल्ला छ, त्यो यथार्थ नभएको जनाए । तथापि भेरिएसनका बारेमा स्थलगत अध्ययनका लागि नागरिक उड्डयनको टोली आयोजनास्थल आइसकेको बुझिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप