पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज सञ्चालन गरिने बताएका छन् । उनले विराटनगर चक्रपथ निर्माणको योजना पनि अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन् ।
मोरङको सुन्दरहरैंचामा शुक्रबार आयोजित पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गोठगाउँस्थित विश्वविद्यालय हाताभित्र ३०० बेडको अस्पताल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्षमा अगाडि बढाउने घोषणा गरे । प्रधानमन्त्री प्रचण्डले मेडिकल कलेज सञ्चालनको निर्णय कार्यान्वयन गर्न सुविधायुक्त अस्पतालको लागि पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गर्ने बताएका हुन् ।
प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए । ‘पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयारगरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ । यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ,’ प्रचण्डले भने, ‘मेरै पहलमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गरेको हो । आगामी दिनमा यस क्षेत्रको अधिक जनसंख्यालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नेछु ।’
कृषि, उद्योग र पर्यटन विकासमा टेवा पुर्याउने र जनताको जीवनस्तरमा सुधार ल्याउनेगरी सडक सञ्जाल विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले रणनीतिक महत्त्व बोकेको विराटनगर चक्रपथ निर्माणलाई आगामी आर्थिक वर्षदेखि योजनाबद्ध तवरले अगाडि बढाइने जानकारी दिए ।
विश्वविद्यालयमा मेडिकल कलेज संचालनगर्ने र चक्रपथ बनाउने दुबै आयोजना अगाडि बढाउन सो क्षेत्रका प्रदेशसभा सदस्य जीवन आचार्यले पहल गर्दै आएका थिए । संघीय सरकारको अर्थ मन्त्रालयबाट पनि दुबै आयोजना अगाडि बढाउने सहमति प्राप्त भइसकेको अचार्यले जानकारी दिए । प्रधानमन्त्रीको घोषणासँगै यस क्षेत्रका जनताको लामो प्रतीक्षा समाप्त हुने अवस्था बनेको उनको दाबी छ ।
यस्तै प्रधानमन्त्री प्रचण्डले अलैँची, चिया, रुद्राक्ष, जडिबुटी, जुट, फलफूल लगायतका मौलिक बालीहरूका बारेमा सूक्ष्म शोध–अनुसन्धानका साथै उत्पादनको अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारका लागि विश्वविद्यालयले महत्त्वपूर्ण योगदान दिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण