सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास

शुक्रबार, १४ वैशाख २०८१, १७ : २९
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा कतारका स्थापित व्यवसायी राजेन्द्र कुमार शर्मा (आरके) ले कतारी अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपाल भ्रमणसँगै दुई देशबिचको सम्बन्ध उच्च तहमा स्थापित हुने बताएका छन् ।

 उनले नेपाल र कतारबिच पहिलेदेखि नै सम्बन्ध राम्रो भए पनि अबचाहिँ आर्थिक क्रान्तिका पाटाहरूमा समेत बलियो सम्बन्ध स्थापित हुन सुरुवात भएको प्रतिक्रिया दिए । 

‘दुई देशबिच अहिले हेर्दा धेरै सम्झौता नभए पनि राष्ट्र विकासका पाटाहरूमा यो अर्थपूर्ण छ’, उनले भने, ‘सहकार्यका लागि दुई पक्षीय टिम बनाउने कुरा भएको छ । यो टिमले गति लिएर पक्कै पनि नेपालको विकासमा कतार बलियो साझेदार बन्ने छ भन्ने विश्वास छ ।’ 

कतारी राजाको भ्रमण दुई देशबिचको सम्बन्धको विस्तारका साथसाथै आर्थिक विकासमा सुरुवाती बिन्दु भएको रूपमा आफूले ठानेको शर्माको भनाइ छ ।  ‘भ्रमणले बाटाहरू खुलेका छन् । दुई देशका राष्ट्र प्रमुखहरूको भेट भइसकेपछि दुई देशको बिचको सम्बन्ध अझ उचाइमा पुगेको त छ नै, निकट भविष्यमा आर्थिक पाटामा पनि फड्को मार्ने विश्वास छ ।’

शर्माले कर्मभूमिका अमिरलाई जन्मभूमिमा स्वागत गर्ने सुवर्ण अवसर प्राप्त गरेको भन्दै खुसी समेत प्रकट गरे । ‘यसले मलाई थप जिम्मेवारी थपिएको महसुस भएको छ । यसको लागि म सम्मानित नेपाल सरकार सहित सरकारी निकाय प्रति आभारी छु’, शर्माले भने, ‘कतारका अमिरको भ्रमणले नेपाल र खाडी क्षेत्रबिच थप उच्च तहमा सम्बन्ध स्थापित भएको छ र आगामी दिनमा आर्थिक सम्वृद्धिका लागि  लगानी  टेक्नोलोजी ट्रान्सफर पर्यटन बृद्धि  लगायत समेत बढ्ने अपेक्षा गर्न सकिन्छ ।’ 

यस्तै रासायनिक मलको विषयमा दुई देशबिच सम्झौता नभए पनि यसले निकास पाउने उनको विश्वास छ । दुवै देशबाट यसबारे एउटा टोली बनाउने भन्ने भएको र त्यही टोलीले निकास दिने उनले बताए  । यसमा काम सुरु भइसकेकाले पहलमा भरपर्ने शर्माको भनाइ छ।  कतारले रासायनिक मल निर्यात गर्दै आएको छ भने नेपालमा आयात गर्नेबारे दुई देशबिच छलफल भए पनि अहिले नतिजा नकिस्किसकेको अवस्थामा शर्माले यस्तो बताएका हुन् ।

कतारका अमिरको दुई दिने नेपाल भ्रमणका क्रममा दुई देशबिच ८ बुँदे सहमति भएको थियो । बुधवार स्वदेश फर्किएका अमिरले थानीले आफ्नो नेपाल भ्रमण सफल बनाएकोमा नेपाल सरकार र यहाँका जनतालाई धन्यावाद समेत दिएका थिए । 

आफ्नो एक्समार्फत उनले मित्र राष्ट्र नेपालको पहिलो भ्रमणको क्रममा यहाँको ऐतिहासिक कुरा तथा आर्थिक अवस्थाको बारेमा जानकारी प्राप्त भएको पनि बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप