बुटवलमा ‘एक वन एक पोखरी’ अभियान: पानीका प्राकृतिक मुल जोगिने विश्वास
बुटवल– बुटवल उपमहानगरपालिकाले पर्यावरण जोगाउन ‘एक वन एक पोखरी निर्माण’ अभियान सुरु गरेको छ । यहाँका चुरे पहाड र फेदीमा रहेका सामुदायिक वनहरुमा पोखरी निर्माण सुरु गरिएको छ ।
जलवायु परिवर्तनले नकारात्मक असर पारेको र पानीका स्रोतहरु पनि सुक्दै गइरहेकाले त्यसलाई सुधार गर्न र वातावरण संरक्षणका लागि पोखरी निर्माण अभियान सुरु गरिएको उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए ।
प्रमुख सुवेदीका अनुसार वनमा निर्माण गरिएका पोखरीले वन्यजन्तु तथा पशुपन्छीलाई आहार हुने र त्यहाँबाट सिंचने पानीले जमिन मुनीको पानीलाई रिचार्ज गर्नेछ । जलवायु परिवर्तनका कारण पानीका प्रकृतिक स्रोतहरु सुक्दै गइरहेका बेला बुटवल उपमहानगरले यस्तो नुमना अभियान सुरु गरेको हो ।
बुटवलमा २० वटा सामुदायिक वन छन् । यीमध्ये हाल सात वटा वनमा पोखरी निर्माण भएको छ । हालसम्म चारपाला, शिवनगर, बुटवल, चुरे, जितेश्वरी, रामनगर र तिनाउखोला नियन्त्रण सामुदायिक वनमा पोखरी निर्माण भइसकेका छन् । बाँकी वनमा थप अध्ययनपछि अर्को वर्ष पोखरी निर्माणको काम अघि बढाइनेछ ।
यी सबै वनमा पोखरी निर्माणका लागि उपमहानगरले चालु आवमा बजेट विनियोजन गरेको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । उपमहानगरको यो अभियानमा प्रदेश सरकार र सामुदायिक वन उपभोक्ताहरुको पनि सहभागिता छ ।
यसका लागि उपमहानगरले चालु आवमा मात्रै २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । गत वर्षको नगरसभाबाट पारित भएको कार्यक्रम अन्तर्गत पोखरी निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।
चुरे सामुदायिक वनका अध्यक्ष कमल केसीले चिडियाखोलाको माथि रहेको चिसापानी भन्ने ठाउँमा पोखरी निर्माण गरिएको बताए । ‘यो ठाउँमा पानीको पुरानो प्राकृत्तिक मूल छ । त्यहाँ १५ मिटर लम्बाई र १२ मिटर चौडाईको पोखरी खनिएको छ । यो ठाउँको तलतिर पानीका मुलहरु पनि छन् ।
यहीँ पोखरीमा झण्डै एक किलोमिटर परबाट पाइपमार्फत पानी ल्याएर पोखरीमा खन्याइएको छ । यस्तै चारपाला सामुदायिक वनको प्रगतिनगरदेखि पानी रहेको पुरानो नर्सरीमा पोखरी खनिएको छ’ केसीले बताए ।
शिवनगर सामुदायिक वनमा आँपखोलामा पनि पोखरी खनिएको छ । त्यहाँ नजिकै रहेको पानीको प्राकृत्तिक मुललाई संरक्षण गर्दै पोखरीमा ल्याइने छ । वन्यजन्तुका लागि र पानीको सिमसार बढाउनका लागि पोखरी खनिएको अध्यक्ष नारायणबाबु बस्नेतले बताए ।
पर्यावरणमैत्री नमुना काम : विज्ञ
वनहरुमा पोखरी निर्माणको कामलाई वातावरण विद्हरुले पर्यावरणमैत्री रहेको टिप्पणी गरेका छन् । वातावरणविद् डा.इन्जिनियर खेटराज दाहालले ‘एक वन एक पोखरी’ को नीति पर्यावरणमैत्री रहेको बताए ।
वन विनास,जलवायू परिवर्तन,सुख्खा खडेरी तथा विना प्राविधिक इस्टीमेट खनिएका सडकका कारण भूमिगत मुहान सुक्ने र दबिने क्रमले खानेपानी समस्या बढेको भन्दै वनमा पोखरी बनाउने काम उदाहरणीय रहेको उनको भनाइ छ ।
चासो बढाउँदै प्रदेश सरकार
प्रदेश सरकारले पनि पर्यावरण सन्तुलनका काममा चासो दिएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वातावरणको क्षेत्रमा चालू आर्थिक वर्षमा २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा सहरी जलाधार क्षेत्र संरक्षण कार्यक्रमका लागि ६ करोडसम्म बजेट विनियोजन भएको छ ।
बुटवलको हरियाली प्रतिशत सबैभन्दा धेरै
मुलुकका कुनै पनि नगरको हरियाली क्षेत्रमा बुटवलको हरियाली सबैभन्दा धेरै रहेको पाइएको छ । हालै भएको एक प्राविधिक अध्ययनले यहाँको हरियाली ५३ प्रतिशत भन्दा माथि रहेको पाइएको छ । अध्ययनमा खटिएका इन्जिनियर कुमार धमलाका अनुसार गत वर्ष गरिएको अध्यय्नमा हरियाली क्षेत्र बुटवलको धेरै पाइएको हो ।
धमलाको नेतृत्वमा रहेको प्राविधिकहरुको टोलीले मुलुकका महानगर, उपमहानगर र नगरपालिकाको हरियाली क्षेत्र, पानीका प्राकृत्तिक स्रोतको क्षेत्रको अध्यय्न गरेको थियो । बुटवलमा पानीको सतह भन कमजोर रहेको इन्जिनियर धमलाले बताए । पानीका प्राकृतिक स्रोतहरुको संरक्षण गर्दै मुल जोगाउने काममा वनमा पोखरी निर्माण एउटा महत्वपूर्ण माध्यम हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा