केन्द्रीय संस्करण

कथा : अपराधी मनोभाव

person explore access_timeअसार ३, २०७४ chat_bubble_outline1

-सूचना तिमल्सिना 
शिक्षा, मेरी छोरीको ट्युसन मास्टर, मेरो अफिसको सहकर्मी अहिले मेरो छोरीलाई पढाउँदै छे । म पत्रिका पढेको बाहनामा उनीहरुलाई चिहाइरहेछु । आजकल मेरो सोचाइलाई मैले नियन्त्रणमा राख्न सकेको छैन । जब शिक्षालाई देख्छु, मलाई कता कता उसलाई छुने भाव जागेर आउँछ । मैले आफूलाई मनोरोगी भनेर पोल लगाएँ । त्यो शिक्षाभन्दा तेरी बूढी धेरै राम्री छे भनेर सम्झाएँ । तर पनि मबाट उसलाई छुने चाहना हटाउन सकेको छैन । आज पनि शिक्षाले फ्रक लगाएकी छे । आजकल त यसलाई वान पिस भन्छन क्यारे । उसको गहुगोरो तिघ्रा, सेतो यो फ्रक वास्तवमै राम्रो देखिएको छ । घुँडासम्म आएको फ्रकलाई अझ लामो बनाउन सकिन्छ जसरी ऊ तानिरहन्छे । यति अप्ठ्यारो लाग्ने भए सुरुवाल लगाउनु नि । म मनमनै टिप्पणी गर्छु । उफ ! निहुँरिदा उसको फ्रक त सरेर छातीको आधा भाग पो देखिरहेको छ । सरेको फ्रक देब्रे हातले माथि सार्छे र दाइने हात कापीमा दगुराउँछे । उसको यो क्रम दोहोरिरहन्छ । कस्तो कपडा लगाएकी हो ? मलाई उदेक लागेर आउँछ । तर बेला बेला ऊ निहुरिँदा चियाउन भुल्दिनँ । “आज बिदाको दिन कति पत्रिका मात्र हेरेर बसेको बाहिरतिर निस्किए हुन्छ नि” मेरो क्रमलाई भङ्ग गर्न श्रीमती आइपुग्छे । बिना प्रतिवाद म बाहिर निस्कन्छु । 


घर आइपुग्नासाथ श्रीमतीले उर्दी लगाउछे । “शिक्षा मिसलाई पुर्याइदिनु पर्यो रे । अर्को ठाउँमा पनि ट्युसन पढाउनु छ रे ।” म हेल्मेट लिएर बाइक स्टार्ट गर्छु । ऊ छोरीलाई बाइबाई गरी फ्रक समात्दै बाइकमा बस्छे । अलि लामो कपडा लगाउँदा पनि राम्रै देखिन्छ होला नि । म खरो भाषामा सुझाव दिन्छु । मैले दिएको यो सुझाव आफुलाई बचाउन हो या उसलाई बचाउन हो, म दोधारमा छु । उसबाट कुनै प्रतिउत्तर आउदैन । अनुत्तरित उसको मौनताले मलाई जङ्ग चलाउछ । त्यसैले आफ्नो मनोबादमा सामेल भई दुखेसो पोख्छु, म पैत्तिस वर्षको पुरुषले २२ वर्षकी केटीलाई सुझाव दिन मिल्दैन र ? ऊ चाहिँ मेरो सोचाइलाई भंङ्ग गर्दै अर्को ठाउँमा पुग्न अबेला भएको जानकारी दिन्छे । 

“अमर सर, मैले विधार्थीलाई दिन राखेको प्रश्न पत्र भुलेँछु । कोठामा पुर्याइदिनुहुन्छ ?” म मिनेट पनि नलगाई उसलाई बाइकमा राखेर लिएर जान्छु । तपाईंले चाडो ल्याउनु भएछ । चिया खानुहुन्छ ? म खानेमा इसारा जनाउछु । मेरो हर्कत र सोचाइले मलाई अपराधी बनाउन खोज्दैछन् । त्यसैले म मनमनै शिक्षालाई गाली गर्छु, “एक्लै बस्ने भएपछि किन अरु ल्याउनु पर्ने ?” आफ्नो अपराधको मनोभावबाट बच्न उसलाई हतार भएको जनाउछु । ऊ बेमतलबका साथ चिया पकाउन तल्लिन छे । म आफूले आफैलाई सम्झाउदै भन्छु– उ मेरो आफ्नो बहिनी जस्तै हो, छोरी जस्तै हो । तर जब मेरा आँखा उसका यौवन मस्त शरीरमा पर्छ । तब छोरी, बहिनी भन्ने भाव बिलय हुन्छ । त्यतिबेला म आफूलाई केवल एक पुरुषको रुपमा पाउँछु । आफ्ना दूषित भावनाबाट भाग्न बाहिर निस्कन्छु । “सर चिया”, शिक्षा चिया लिएर आउँछे । भनिन्छ मान्छे आफूले चाहेको पुर्याएर छाड्छ । चिया लिन लाग्दा अनायासै मेरो हात उसको छातीमा ठोक्किन्छ । म अतालिँदै सरी भन्छु । ऊ मुस्काएर इट्स ओके भन्छे । 

मलाई उसको मुस्कानसहितको इट्स ओके भन्ने शब्दले तीन दिनदेखि घुमाएको छ । के उसले ठीक छ, छुन पाइन्छ भनेकी हो ? कि अरु केही हो ? अर्थ जे भए पनि उसबाट पर भाग्ने निर्क्यौल गर्छु । तर घर पुग्नासाथ श्रीमती उसैगरी शिक्षा मिसलाई पुर्याइदिन पर्यो भन्छे । एक मन त लाग्छ नमानु । फेरि जाने निर्णय गर्छु । आज पनि ऊ उसै गरेर चिया खान आग्रह गर्छे । मन नमान्दा नमान्दै पनि चिया खान राजी हुन्छु । अस्तिको इट्स ओकेको निक्र्यौल निकाल्न झुक्किएको भान पार्दै उसको छातीमा हात पुर्याउछु र उसको भाव नियाल्छु । सशङ्कित उसका आँखा मेरा आँखासँग ठक्कर खान्छन् । केही नभएको भान पार्दै पर भाग्छन् । अनि म बबुरो निष्कर्ष निकाल्छु । उसको इट्स ओके मिन्स यस यु क्यान टच मी हो ।

ठाउँ र बहाना मिलेसम्म म उसको जिउमा विभिन्न भागमा छुन्छु । मैले यसो गर्दा उसको अनुहारको भाव बदलिने बाहेक अरु कुनै प्रतिक्रिया आउँदैन । यही बिना प्रतिक्रियाले मलाई झन् उक्साउँछ । त्यसैले त आजकाल मेरो ध्यान उसलाई कहाँ भेट्ने, कसरी भेट्ने बहाना खोज्दैमा जान्छ । आजकल मैले जिउने नयाँ सिद्धान्त प्रतिपादन गरेको छु र जुन उपयोग गरेर खुशी बन्दै छु । शिक्षाले उसको कोठा लान बन्द गरेकी छ । “चिया खुवाउँदैनौ ?” भन्ने मेरो आग्रहलाइ नकार्दै ऊ मौनतासाथ आफ्नो कोठातिर लाग्छे । उसलाई भेट्ने गतिलो उपाय निकाल्छु । श्रीमती नभएको दिन पारेर उसलाई ट्युसनको पैसा लिन आफ्नो कोठा बोलाउँछु । तर उसले छोरी साथ लिइ आइछ । अघिल्लो पटक यसैगरी ट्युसन पैसा दिँदा उसको एक्लोपनको फाइदा उठाएको थिए । ऊ मेरो पहिलो जालमा मात्र पर्छे । दोहोरियार गरेको मेरो प्रयास सबै विफल हुन्छन् । तर जे भए पनि यसले मेरो पोल लगाएकी छैन । बेला बेलामा उसले मेरो श्रीमतीलाई गरेको फोनले आतङ्कित बनाउँछ । त्यसैले त उसले फोन नाराखुन्जेलसम्म उनीहरुको कुरा सुनिरहन्छु ।

आज शिक्षा कोठा जाने प्रस्ताव राख्छे । मेरो मुटु ढुक्क भुल्छ । म पत्याउनै सक्दिन । म खुशी हँुदै उसको पछि लाग्छु । आज वास्तवमा नै मेरो सोच मबाट अनियन्त्रण भई छाड्छ । धेरै दिनको इच्छा पूरा गर्ने आजको दिन ठहर्दै म शिक्षालाई ग्वार्लम्म अँगालो हाल्छु । अपसोच म डङरङ्ग लड्न पुग्छु । के भयो भनेर सोच्न नपाउँदै शिक्षा चक्कु बोकेर आउँछे । म भाग्न खोच्छु तर मेरा खुट्टा लरबरिन्छ । म उठ्न नसकी त्यही पल्टिरहन्छु । ऊ चाहि चक्कु मेरो आँखातिर देखाउँदै भन्छे– मलाई हेर्ने गिद्ध आँखा यही होइन । म तेरो आँखा निकाल्छु र कहिले देख्न नसक्ने बनाउँछु । मेरो आँखा निकालुला जसरी चक्कु घुमाउँछे । उसको आँखाको रिस, रुप, र हाउभाउ हेर्दा लाग्छ मैले सानामा सुनेको देवी उही हो । म डरले बोल्न सक्दिन । शिथिल र काँपिरहेको शरीर भाग्न आँट गर्दैन तर दिमाग भाग्न साथ मागिरहन्छ । ऊ मेरो हात तान्दै भन्छे– मेरो जिउमा मनोमानी तरिकाले छुने हात यही होइन । म यसलाई टुक्रा टुक्का पार्छु र कहिले छुन नसक्ने बनाउँछु । ऊ बोल्दै जान्छे । तैले मलाई ‘शिरिषको फूलको’ सकम्बरी सोचिस । जसलाई छुदैमा ओइलाएर जाने । सत्य बरु तलाई मारेर अपराधी बन्छु तर तेरो अनि पुरुष जातिको बैमानी सहदिन । धरोधर्म म सकम्बरी बन्दिन । ऊ के भन्छे म बुझ्दिन । एकछिन कराएपछि उ रुँदै भुइँमा बस्छे । अघिदेखि ढोका ताकिरहेको म बल्ल उठेर भाग्ने साहस आउँछ । हेल्मेट छुटेछ तर फर्किने आँट आउदैन ।

कालीको स्वरूप शिक्षाको आकृतिले तीन दिनदेखि मेरो निद्रा हराएको छ । अनि दुई दिनदेखि ऊ गायब छे । अफिस, ट्युसन ऊ कतै देखा परेकी छैन । आज त साथीहरुले उसको कोठासमेत हेरेर आएछन् । उसले कोठा छोडी रे । घरमा श्रीमती र छोरी पनि उसको खोजी गर्दैछन । मलाई भने उसको अनुस्पथितिले सान्त्वना दिएको छ । र त मनमनै कामना गर्दै छु । ऊ नफर्कोस कहिले नफर्कोस । तैपनि एकमन उसले केही गर्ने त होइन भन्ने कुराले झस्काइरहन्छ । के यसमा गल्ति मेरो मात्र छ ? उसको गल्ती छैन र ? मैले उसलाई त्यसरी छुँदा राम्रो लाग्दैन भनेको भए हुन्थ्यो । उसले मलाई सुरुमै अस्तिको रुप देखाएकी भए सत्य म उसलाई छुन त के नजिक जाने आँटसमेत गर्दैन्थे । ऊ किन मौन बसी ? उसको व्यहोरा प्रति दिक्दारी लाग्छ । हुन त मैले उसलाई छोएको राम्रो लाग्दैन भन्ने कुरा थाहा नपाएको होइन । मनको अभिव्यक्ति बोली मात्र होइन, मैले नबुझेको होइन । मैले प्रत्येक पटक छुँदा उसको बिग्रिएको अनुहार ननियालेको होइन । मबाट ऊ टाढा भाग्दै गएको कुरा पनि चाल नपाएको होइन । तर पनि उसको मौनता मेरो साहस बन्यो । उसको मनौता मेरो कौतुहलताको शिकार बन्यो । जसले गर्दा हामी दुवैले अपराधी मनोभाव पालिरह्यौ । 

एक महिनापछि श्रीमतीले अर्को ट्युसन टिचर फेला पारिछ । पहिलो दिन उनीहरुको गफमा सामेल हुन श्रीमती बोलाउँदै छे । म सामेल हुन्छु तर मत प्रकट राख्दिन । श्रीमतीले नयाँ मिसलाई किन रोजेको अभिव्यक्त गरेकी छ । छोरी किशोर उमेरमा टेक्दै छे । केटा मान्छे भर छैन । यौन दुव्र्यवहारबाट बचाउन पनि केटी मास्टर हुनुपर्ने उसको धारणा छ । नयाँ मिसले पनि सहमति जनाएकी छे । अझ थापेकी छे । अझै पनि यौन दुव्र्यवहार बारे खुलेर बोल्ने हामी केटीहरु भइसकेका छैनौँ । उसको बठ्याइँ देखेर मलाई उदेक लाग्छ । त्यति मात्र नभएर पहिलेको टिचरको बारेमा समेत खोजी खबर गरेकी छे । मेरी श्रीमती शिक्षा हराएको गुनासो पोख्छे । म चाहिँ उनीहरुलाई त्यही छाडेर बाहिर निस्कन्छु । 

भोलिपल्टदेखि नयाँ मिस त्यही ठाउँ बसेर शिक्षाले जसरी पढाउँछे । म शिक्षालाइ जसरी चियाएर हेर्छु । लामो फ्रकम सुरुवाल लगाउन भुलेकी रैनेछे । अग्ली, शिक्षाको उमेरभन्दा दुई चार वर्ष जेठी, शिक्षा जस्ती छैन तर नराम्री पनि होइन । मैले कुन बेलादेखि नजर लगाएँछु कुन्नि हाम्रो आँखा जुध्छ । “सर केही थियो कि ?” उसको प्रश्नले मलाई अप्ठ्यारो पार्छ । म केही नभएको कुरा बताउँछु । केही भन्नु छ भने सिधा भन्नु होला । म खुलेयाम कुरा राखेको मन पराउँछु । जाने बेला उसले नजिकै आएर फुस्फुसाई– बेला बेलामा त्यसरी चिहाएर नहेर्नुहोला सर । यो त यौन दुव्र्यवहार सङ्केत हो । कति मात्र बोल्ड हो यो केटी । मलाई आगोमा हात हाल्न उपयुक्त लाग्दैन । त्यसैले म वास्ता गर्न छाडिदिन्छु ।

एक वर्ष हुँदा पनि शिक्षाको खबर आएन । न उसले फेसबुक खोली न साथीहरुलाई खबर पठाई । मैले चाहेजस्तै गरी ऊ गायब भएकी छे । मैले चाहना गरेको कुरा त यही थियो । तैपनि म यसमा किन खुशी हुन सक्दिन ? उसले आवेग कुनै नराम्रो निर्णय त लिइन ? मलाई यावत सभावनाले चिथोर्छन् र घाइते बनाउँछन् । म ती सम्भावनाहरु कपोलकल्पित होस् भन्ने प्रार्थना गरिरहन्छु । ममा उसले देखेको राक्षसीपन उसको चक्कुले अत्ताएको छ । जसले गर्दा म अरुलाई त्यस्तो व्यवहार मात्र होइन कि म धेरै बेर कोह िकेटी अगाडि उभिरहन सक्दिन । कतै यो केटीले पनि शिक्षाले जस्तै चक्कु बोकेकी त छैन भन्ने डरले सताउँछ । 


बिहान छोरी चिच्याएको आवाजले मेरो निन्द्रा भङ्ग हुन्छ । म दौडँदै छोरीतिर जान्छु । उसै गरेर श्रीमती पनि आइपुग्छे । “के भयो ?” हामी एकसाथ सोध्न पुग्छौँ । पत्रिकातिर देखाउँदै भन्छे– शिक्षा मिस ! मैले हेर्न नपाउँदै श्रीमतीले पत्रिका लिन्छे र पढ्छे । ‘यौन दुव्र्यवहार बारे महिला अधिकार कर्मीसँग अन्तर्वार्ता’ । म विश्वास गर्न सक्दिनँ । श्रीमती अन्तर्वार्ता पढ्न थाल्छे । मलाई भनन्न रिँगटा छुट्छ । म उसले पढेको केही केही मात्र सुन्छु । पहिले मैले पनि यौन दुव्र्यवहार भोग्नु परेको थियो । सुरुसुरुमा मेरो जिउमा हात आइपुग्दा लाग्थ्यो सायद झुक्किएको होला भन्ठानेर मैले वास्ता गरिन । पटक पटक दोहोरिन थाले पछि मैले चाल पाएँ कि उसले नियतवस गरिरहेछ । तर ममा खुलेर बोल्ने आँट थिएन । त्येसैले म ऊबाट टाढा भाग्दै जान्थेँ । जति म टाढा भाग्थे उति ऊ बहाना बस मेरो नजिक आइपुग्थ्यो । मैले त्यो मान्छेलाई यति घृणा गर्न थालेँ कि उसलाई भेट्न साथ मलाई घाइते बनाऊ जस्तै लाथ्यो । यौन दुव्र्यवहार बारे हामी सबै जना बोल्न पर्छ । यस सम्बन्धी ज्ञान बच्चादेखि सबै उमेरको हुनुपर्छ । आफूलाई पर्दा बोल्न सक्नुपर्छ । नत्र यसबाट अपराधी जन्मिन सक्छ । 


श्रीमती खुय्य गर्दै थ्याच्च बस्छे । उहाँलाई त्यस्तो हुँदा पनि, कस्तो हामीले थाहा पाएनौ । म वरफ झैँ गरि सोफामा जमिरहन्छु । न बोल्ने आँट आउँछ न हिँड्ने सहास आउँछ । फेरि छोरीको रुन्चे आवाज सुन्छु– शिक्षा मिसलाई त्यस्तो गर्ने को होला त्यो मानव रुपी राक्षस ? को होला त्यो अपराधी ? यसपछि म केही सुन्दिन । वरिपरि अन्धकार छाउँछ ।

कमेन्ट

  1. Jan. 21, 2018, 3:33 p.m. samjhana
    malai yo katha sahi lagyo . samaya anusarkoa yasta katha pathak majh pugnu jaruri chha. janachgetanako kami ta chadsai chha tyo bhanda pani bujruk haruko sankhya badhi xa. harek kishwari yo samasyaabata gujriraheka chhan. malai yo katha man paro ajha gahiriyos...
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...