केन्द्रीय संस्करण
विपद् बहस

बाढी पहिरो प्राकृतिक प्रक्रिया, मानिस नै त्यसले गर्ने क्षतिको मुख्य दोषी

बाढी, पहिरो, पानीको संकटसँग जुघ्ने उपायः जलाधार क्षेत्रको सही व्यवस्थापन

person explore access_timeसाउन ५, २०७६ chat_bubble_outline0

नेपाल वर्षेनी प्राकृतिक प्रकोप वा विपद्को चपेटामा पर्ने गर्छ । विपद् भन्नाले अहिलेको सन्दर्भमा सामान्यतः बाढी पहिरो नै बुझ्ने गरिन्छ । गृहमन्त्रालयको परिभाषामा विपद्अन्तर्गत भुइँचालो, आगलागी  आदि पनि राख्ने गरेको पाइन्छ । यद्यपि यतिखेरको मुल समस्या बाढी पहिरोमा नै केन्द्रीत रहेर कुरा गरौं ।

बाढी पहिरो आउनु अत्यन्तै सामान्य प्राकृतिक कुरा हो । यो हरेक वर्ष आइरहन्छ । यो कुरालाई सजिलैसँग बुझ्नको लागि म एउटा उदाहरण दिन चाहन्छु ।

५० करोड हाराहारी मानिसहरु बसोबास गर्ने र तिनका लागि आवश्यक खाद्यान्न उत्पादन गर्न सक्ने अत्यन्तै उर्वर गंगाको मैदानी भूभाग र हाम्रो तराईसमेतको निर्माण बाढी पहिरोबाटै भएको हो । त्यहाँ हिमाली क्षेत्रकै माटो बगेर गएको हो । यो रातारात सम्पन्न भएको नभई लाखौं वर्षका दौरानमा बाढी पहिरोको चक्रबाट निर्माण भएको प्रक्रिया हो ।


https://www.newsweek.com

अत्यन्तै उर्वर गंगाको मैदानी भूभाग र हाम्रो तराईसमेतको निर्माण बाढी पहिरोबाटै भएको हो । त्यहाँ हिमाली क्षेत्रकै माटो बगेर गएको हो ।

*******

बाढीको एउटा महत्वपूर्ण काम नै माटोलाई ओसार्ने र सम्याइदिने हो । नदीनालाहरुमा बाढी आउनु र ती बाढीहरुले कटान गर्नु प्राकृतिक प्रक्रिया नै हो । माटोलाई मिलाउने त्यो प्रक्रियाअन्तर्गत नै हाम्रो कोशी नदीको धार गत २२० वर्षमा ११५ किलोमिटर पश्चिम सरेको छ । कुनै समयमा यो धार फेरि पूर्व लाग्ने छ । बाढीले निरन्तर खोलाको धार केही समय यता आउँछ, त्यसपछि फेरि उता जान्छ । हामीले हेर्दा बाढीले किनार कटान गर्यो भन्छौं तर वास्तवमा त्यो खोलाले माटो ओसार्ने र मिलाउने प्राकृतिक प्रक्रिया नै हो ।

हरेक वर्ष बाढीसँगसँगै माटोको लेदो अर्थात पाङ्गो पनि बगाएर ल्याउने गर्छ । त्यसरी ल्याउने लेदाले माटोको उर्बरा शक्ति बढाउने काम गर्छ । गंगाको मैदान विश्वकै सबैभन्दा उर्बर जमीनहरुमध्येमा पर्नुको एउटा कारण बाढीले बगाएर ल्याएको लेदोबाट त्यसको निर्माण हुनु पनि हो ।

यसरी हेर्दा परापूर्वकालदेखि नै यो क्षेत्र सधैं बाढी आउने क्षेत्रको रुपमा रहँदै आएको कुरा धु्रवसत्य हो । साथै, यस क्षेत्रमा बाढी आउनु उत्पादकत्वको दृष्टिले त आवश्यक पनि रहेछ ।

बाढीले बगाएर ल्याउने लेदो वा थिग्र्यानको मुख्य स्रोत भनेको पहाड हो । यस दृष्टिकोणले हेर्दा पहाडको भूक्षय अनि तराईको बाढी नियमित रुपमा चलिरहने प्राकृतिक प्रक्रियाका अभिन्न र परिपूरक अंग हुन् ।

बाढी पहिरोको प्रक्रिया आजभोलि मात्रै चलेको वा चल्ने प्रक्रिया होइन । यो विगत लाखौं करोडौं वर्षदेखि चल्दै आएको र आउँदो लाखौं करोडौं वर्षसम्म पनि निरन्तरनै चलिरहने नितान्त प्राकृतिक प्रक्रिया हो ।

*******

बाढी पहिरोको प्रक्रिया आजभोलि मात्रै चलेको वा चल्ने प्रक्रिया होइन । यो विगत लाखौं करोडौं वर्षदेखि चल्दै आएको र आउँदो लाखौं करोडौं वर्षसम्म पनि निरन्तरनै चलिरहने नितान्त प्राकृतिक प्रक्रिया हो । उदाहरणका लागि, सोही प्रक्रियाअन्तर्गत नै कुनै बेला विशाल दहको रुपमा रहेको अहिलेको काठमाडौंको निर्माण भएको हो  । यस अर्थमा पनि प्राकृतिक स्रोत व्यवस्थाको मुख्य भूमिकाको रुपमा बाढी पहिरो रहेको र त्यो अभिन्न अंगको रुपमा रहँदै आएको बुझ्न सकिन्छ ।

बाढी पहिरोको प्राकृतिक चक्रबाट हुने क्षतिलाई बढोत्तरी गर्नको लागि मानवीय पक्षको के कति योगदान रहेको छ त ? भरखरै मात्रै मुलुकमा आएको बाढी पहिरोले गरेको अरबौंको क्षति र त्यसमा परेर ९० जनाको मृत्यु समेत भइसकेको सन्दर्भमा यो प्रश्न उठ्नु स्वभाविकै हो । अझ भनौं, हाम्रो बाढी पहिरोले क्षति किन बढ्यो र त्यो बढेको क्षतिलाई हामी कति कम गर्न सक्छौं भन्ने प्रश्नमा हाम्रो ध्यान केन्द्रीत हुनु जरुरी छ ।

बाढी पहिरोले गर्ने क्षति बढ्नुको मुख्य कारण नै बाढी पहिरो बढी आउने क्षेत्रमा हामी बसेका छौं । विष्णुमती, बागमती वा अन्य कुनै पनि ठाउँको कुरा गरौं, नदीहरुमा पानीको प्राकृतिक बहाव जहाँसम्म थियो र जुन ठाउँसम्म बाढी आइपुग्थ्यो, ती ठाउँलाई मिचेर हामी बस्न गएका छौं वा त्यहाँ भौतिक संरचना बनाएका छौं ।  त्यसैले ती ठाउँहरुमा बाढी आउँदा स्वभाविक रुपले क्षति पुर्‍याउँछ ।

बाढी जस्तै पहाडमा पहिरो आउनु प्राकृतिक र सामान्य कुरा हो । त्यो प्रक्रिया हिजो पनि चल्थ्यो, आज पनि चल्छ र भोलि पनि चलिनैरहनेछ । भौगर्भिक दृष्टिकोणले पहिरो जानु सामान्य कुरा हो । त्यो सानो वा ठूलो जुनसुकै पनि हुन सक्छ ।

तस्विर: कृष्ण खड्का

पहाडको ८० प्रतिशत पहिरोहरु मानिसको वस्ती वा खेतिपाती वरिपरि छन् । त्यसको मुख्य कारण नै मानिसको चलखेल हो ।

*******

त्यसमा पनि हामीले हस्तक्षेप गर्‍यौं, विथोल्यौं । त्यस्ता पहाडी क्षेत्रहरुमा संरचनाहरु बनाउँदा पहाडी क्षेत्रमा पहिरो जाने प्रक्रियालाई बढाउने काम हामीले गरिदियौं, त्यसको प्राकृतिक चक्रलाई हामीले खज्मज्याइदियौं । हामीले बनाउने सडक, घर लगायतका गतिविधिहरुले त्यस क्षेत्रका प्राकृतिक रुपमा रहेका पानीका बहाव र गतिविधिहरुमा परिवर्तन आउँछ, पानीका मार्गहरु परिवर्तन भएर जान्छ । फलतः त्यसले पहिरोलाई निम्त्याइदिन्छ । रोचक कुरा के छ भने, पहाडको ८० प्रतिशत पहिरोहरु मानिसको वस्ती वा खेतिपाती वरिपरि छन् । त्यसको मुख्य कारण नै मानिसको चलखेल हो । सडक, कुलो, घरहरु बनाउने कुराले त्यहाँको पानीको मार्ग परिवर्तन गरिदिन्छ । त्यसले नयाँ नयाँ पहिरोहरु सिर्जना गरिदिन्छ, पहिरो जाने वा गल्छी बन्ने प्रक्रियालाई पनि तीब्र बनाइदिन्छ ।

पहाडको पहिरो र तल आउने पहिरोको ढुङ्गामाटोको सम्मिश्रणले बाढीमा लेदो थपिन  आउँछ । बाढीले ल्याउने लेदोले बेसीमा  रहेको खेतको उर्बरा बढाउने काम गरिरहेको हुन्छ । तर हिजोको नदी वरपरका खेतबारी र नदीको पानी निर्वाध स्वच्छन्द ढंगले बग्ने त्यसका किनारमा हामीले भौतिक संरचनाहरु बनाइदियौं । त्यसले खोला नदीको पानीको प्राकृतिक प्रवाहलाई छेकिदियो, रोकिदियो । त्यसैले बुझ्नु जरुरी छ : बाढी पहिरो आउनु पूर्णतः नियमित रुपमा चलिरहने प्राकृतिक प्रक्रिया नै हो । तर त्यसले गर्ने क्षतिको घनत्व बढ्नु चाहिँ पूर्णतः मानवीय कारणहरु नै जिम्मेवार हुन्छन् ।

बाढी पहिरो आउनु पूर्णतः नियमित रुपमा चलिरहने प्राकृतिक प्रक्रिया नै हो । तर त्यसले गर्ने क्षतिको घनत्व बढ्नु चाहिँ पूर्णतः मानवीय कारणहरु नै जिम्मेवार हुन्छन् ।

*******

बाढीको कुरा गर्दा ख्याल गर्नैपर्ने कुरा के हो भने प्रत्येक वर्ष बाढी एकै किसिमले वा उही खालको पनि आउँदैन । प्रत्येक ८–१० वर्ष वा २० वर्ष वा ५० वर्षमा ठूलो बाढीको रुपमा  दोहोरिएर आउने चक्र चलिरहेको हुन्छ । त्यो चक्रमा आइपुग्दा ठूला ठूला बाढी आउँछन् । त्यसका लागि जलवायु परिवर्तनमा अरु केही भइबस्नै पर्दैन । त्यस्ता ठूला ठूला बाढीहरु पहिला पहिला पनि  केही वर्षको अन्तरालमा आउने गर्थ्यो । त्यो प्रकृतिले जमीन सम्याउने र मिलाउने प्रक्रियाअन्तर्गत समयचक्रमा निरन्तर चलिरहने प्रक्रिया नै हो ।

उदाहरणको लागि, २०११ सालमा नेपालमा ठूलो बाढी आएको थियो । त्यो हाम्रा पिताहरुले भोगेका कुरा हुन् । अहिले पनि गाउँठाउँमा ११ सालको बाढीको कुरा कोट्याउनु भयो भने त्यो बेलामा भूस्वरुपमै परिवर्तन गर्ने गरी बाढी आएको थियो भन्ने बुझ्न र थाहा पाउन सकिन्छ । त्यसबेला अहिलेको तुलनामा जनसंख्या निक्कै कम हुँदा पनि करिब ३५० मानिसको मृत्यु भएको थियो । गाईबस्तु र धनहरुको पनि उत्तिकै क्षति भएको थियो । ३००० घर क्षतिग्रस्त भएको थियो भने दसौंलाख मानीस घरबार विहीन भएका थिए । त्यतिखेर बाढी पीडितलाई सहयोग गर्न ‘राष्ट्रिय  दुःख निवारण कोष’ को स्थापना गरी सहयोग संकलन गरिएको थियो ।

११ सालको सोही बाढीले गरेको क्षति पछि जनताको जिवनस्तर उकासि गरिवी कम गर्ने खाका निर्माणका लागि १५ सालमा नेपालमा पहिलो कृषि सम्मेलन भयो । बाढी र प्राकृतिक प्रकोपहरुले गर्ने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल गरेर उपाय पत्ता लगाउन त्यसबेलाका दिग्गज विशेषज्ञहरु, विचारकहरु बसेर उक्त सम्मेलन भएको छ । त्यही सम्मेलनको प्रभावस्वरुप पछि पहाडबाट तराईतिर मानिसलाई बसोबास गराउने काम समेत भएको थियो । बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपले मानिस बस्नै नसक्ने गरी भूस्वरुपमा ल्याएको परिवर्तन र जोखिमको कारण मानिसको बस्ती नै स्थानान्तरण गर्ने त्यो काम त्यतिखेर गरिएको थियो ।

समयको अन्तरालमा भूस्वरुपमै पनि परिवर्तन ल्याउने गरी बाढी पहिरोहरु दोहोरिएर आउन सक्छ । यस हिसाबले हेर्दा अरु समयमा वर्षेनी निरन्तर आउने बाढी पहिरोहरु सामान्य नै हुन् ।

*******

भन्नुको तात्पर्य के हो भने समयको अन्तरालमा भूस्वरुपमै पनि परिवर्तन ल्याउने गरी बाढी पहिरोहरु दोहोरिएर आउन सक्छ । यस हिसाबले हेर्दा अरु समयमा वर्षेनी निरन्तर आउने बाढी पहिरोहरु सामान्य नै हुन् ।

तर ध्यान योग्य कुरा के छ भने, त्यसरी सामान्य रुपमा आउने बाढी पहिरोहरुले नै पनि पछिल्लो समयमा चाहिँ बढी नै क्षति गर्न थालेको छ । किनभने, पहिले पहिले हिजो बाढी पहिरो आउँदा खेत वा खुला जमीन बगर डुबाउँथ्यो, खासै धेरै फरक पर्दैनथ्यो, अहिलेको जस्तो जनधनको प्रत्यक्ष र ठूलो मात्रामा क्षति हुँदैनथ्यो । तर बढ्दो शहरीकरण र जनसंख्याको चापको कारण सस्तो जग्गा खोज्ने क्रममा  हिजो बाढी बग्ने क्षेत्रमा जग्गाजमीन किन्ने र भौतिक संरचनाहरु ठडिन थाले । त्यसमाथि थप, खोलाको पानी बग्ने प्राकृतिक वहाव क्षेत्रलाई समेत खुम्च्याउँदै खोलालाई साँघुर्‍याउने काम पनि भयो । परिणाम के भयो भने, प्राकृतिक अवस्थामा धेरै क्षति नगर्ने, सामान्य प्रकृतिको बाढीको स्वरुपमै परिवर्तन आएर त्यो थप विध्वंशक पनि बन्दै गयो ।

पानीको गुण नै के हो भने जति यसलाई साँघुर्‍याइन्छ, त्यति नै त्यसको वेग र शक्तिमा बृद्धि भएर जान्छ । त्यसले पानीको क्षति गर्ने क्षमता समेत बढाइदिन्छ ।पानीको अर्को गुण के पनि हो भने, सामान्य पानीको तुलनामा माटो मिसिएको पानीको क्षति गर्ने गुण वा क्षमता बढोत्तरी भएर जान्छ । सामान्य पानीले २ गुना मात्रै क्षति गर्थ्यो भने त्यसमा निश्चित मात्रामा माटो मिसिने बित्तिकै त्यसको क्षति गर्ने क्षमतामा बढोत्तरी भएर त्यो ४ गुना पुग्छ । त्यो बढोत्तरी हुँदै २, ४, १६ को दरले ज्यामितीय अनुपातमा बढ्दै जान्छ ।

सामान्य पानीको तुलनामा माटो मिसिएको पानीको क्षति गर्ने गुण वा क्षमता बढोत्तरी भएर जान्छ । सामान्य पानीले २ गुना मात्रै क्षतिगर्थ्योभने त्यसमा निश्चित मात्रामा माटो मिसिने बित्तिकै त्यसको क्षति गर्ने क्षमतामा बढोत्तरी भएर त्यो ४ गुना पुग्छ ।

*******

केही दिनअघि काठमाडौंमा परेको पानीलाई नै लिऔं । त्यसले खोला छेउछाउका, कुलेश्वरस्थित ओरिएन्टल कोलोनीकै पर्खाल समेत भत्कायो । त्यो पानी एक दिन मात्रै बढी परेको भए पनि त्यसले गर्ने क्षति निक्कै बढी हुनेथियो । त्यहाँ थुप्रिँदै गएको लेदो, माटो, ढुंगाहरु अनि पानीको वेगको सम्मिश्रणले पैदा हुने शक्तिले पर्खाल मात्रै हैन, घर लगायत अन्य संरचनाहरु नै पनि भत्काउन सक्थ्यो ।पानीको प्राकृतिक वहावलाई मानवनिर्मित भौतिक संरचनाहरुले छेकिदिँदा त्यो किसिमको क्षति हुनु त अनिवार्य नै हुन्छ ।

बाढी पहिरो र जलाधार क्षेत्रको भूमिका

काठमाडौंमा बाढीको कुरा गर्दा जलाधार क्षेत्र र त्यसक्षेत्रमा हुने पानीको व्यवस्थापनको कुरा पनि महत्वपूर्ण ढंगले जोडिन पुग्छ । जलधार क्षेत्रमा के भयो, जसले गर्दा काठमाडौंको बाढीको चरित्रमा नै परिवर्तन आयो भन्ने सन्दर्भमा कुरा गर्दा पछिल्लो समयमा २, ४ वटा उल्लेख्य कुराहरु भएका छन् ।

जंगलको कुरा गर्दा त्यो व्यवस्थित भएको छ । जंगलको आफ्नो भूमिकामा खासै परिवर्तन आएको छैन भन्ने मेरो अनुमान हो ।

पछिल्ला समयमा बाटोहरु प्रशस्त बनेका छन् । ती बाटाहरुले पानीको स–साना तहमा छरिएर हुने पानीको प्राकृतिक वहावलाई एकत्रित गरिदिएको छ ।

हेक्का राख्नुपर्ने कुरा के हो भने छरिएको पानीलाई एक ठाउँमा ल्याउने काम जलाधारले प्राकृतिक रुपमा नै गरिरहेको हुन्छ । खोलामा  आउने पानी पनि त्यही प्रक्रियाअन्तर्गत नै माथिबाट सोहोरिएर एक ठाउँमा आउने हो । प्राकृतिक रुपमा र क्रमिक रुपमा विस्तारै हुने त्यो प्रक्रियालाई सडक आदि बनाउँदा ठाउँ ठाउँमा ढल हालिदिएर भललाई केन्द्रीत गरिएको कारण अब त्यो एकैचोटी सोहोरिएर छिटो नदीसम्म आइपुग्ने भएको छ ।

*******

विगत १०–१५ वर्षदेखि बाँझो रहेका पहाडका जग्गाहरु खेतीपातीको अभावमा हिजोजस्तो सजिलै र सहजै पानी सोसिन सक्ने अवस्था छैन । हिजो खेतीपाती,अन्न्नबाली लगाइँदा खुकुलो बनाइएको कारण माटोबाट सजिलै पानी भित्र छिर्न सक्थ्यो र त्यसले पानीको प्राकृतिक वहावलाई नियन्त्रित ढंगले सुचारु गरिरहेको हुन्थ्यो,जमीनभित्र पानी सोसिने वा पस्ने प्रक्रियाहरु सम्पन्नभइरहेको हुन्थ्यो । तर अहिले त्यो रोकिएको छ ।

*******

अर्को ख्याल गर्नुपर्ने कुरा के छ भने विगत १०–१५ वर्षदेखि बाँझो रहेका पहाडका जग्गाहरु खेतीपातीको अभावमा हिजोजस्तो सजिलै र सहजै पानी सोसिन सक्ने अवस्था छैन । हिजो खेतीपाती, अन्न्नबाली लगाइँदा खुकुलो बनाइएको कारण माटोबाट सजिलै पानी भित्र छिर्न सक्थ्यो र त्यसले पानीको प्राकृतिक वहावलाई नियन्त्रित ढंगले सुचारु गरिरहेको हुन्थ्यो, जमीनभित्र पानी सोसिने वा पस्ने प्रक्रियाहरु सम्पन्न भइरहेको हुन्थ्यो । तर अहिले त्यो रोकिएको छ । फलतः वर्षामासको पानी, खासगरी ठूलो पानी पर्दा जमीनभित्र पस्नै नसक्ने वा नपाउने, माथिमाथिबाट नै बगेर जाने प्रक्रिया बढेको छ । त्यही पानीलाई पनि अप्राकृतिक रुपमा एकत्रित गरेर डुँड वा ह्युमपाइपबाट बगाइँदा वर्षात्मा खोलानालामा पानीको भल मात्रै हैन, पानीको बेग बढाउने प्रक्रिया पनि विगत १०–१५ वर्षमा थपिएको छ ।

यसकै अर्को नकारात्मक पाटो पनि छ । खेत गराबाट पानी भित्र छिर्न नपाउँदा पहाडका मुलहरु सुक्दै गएका छन् । अहिले मूल सुकेर मान्छे विस्थापित बन्दै जानुपरेको घटना नेपालका कुनै पनि पहाडी जिल्ला बाँकी छैन होला । हिजो पानीको अभावमा खेतीपाती मात्रै गर्न नपाएर बाहिरबाट किन्दै खाएर भए पनि जीवन निर्वाह गरिरहेका पहाडका कतिपय ठाउँहरुमा त परम्परागत रुपमा पानी आउने मूल, कुवाहरुमा पानी सुकेपछि खानेपानीकै संकट पैदा हुन थालेको छ । वस्तुभाउ पाल्नै नसकिने, जीवन निर्वाह गर्नै नसकिने स्थिति उत्पन्न हुँदा पाँचथरका कतिपय स्थानका मानिसहरु लाखौं मूल्य पर्ने जग्गा कौडीको मोलमा बेचेर ऋणपान गरेर दमक झरेको दृष्टान्त त योजना आयोगले निकालेको एउटा पुस्तिकामा नै उल्लेख छ । एउटा परिवारको लागि त्यो भन्दा ठूलो पीडाको कुरा के हुन सक्ला ?

यस्तो किन भयो ?

यसको एउटै उत्तर हो पानीको संकट ।

पानीको संकट चाहिँ किन भयो त ?एउटै सोझो उत्तर आउँछ : जलवायु परिवर्तन भएर ।

तर के यो साँच्चै हो त ?

गमेर हेर्ने हो भने जलवायु परिवर्तनले एक वर्षमा आउने पानीको मात्रामा खासै केही परिवर्तन भएको छैन । अलिअलि होला, केही प्रतिशत कम पानी पर्यो पनि होला तर त्यसले समग्रमा खासै फरक पर्दैन । फरक चाहिँ के भयो भने पहिले अलि लामो समय लागेर, अलि बढी समयसम्म पर्ने पानी एकैचोटी ह्वारह्वारर्ती पर्न थाल्यो । पहिले झरीको रुपमा आउने पानी रोकिन थाल्यो । अर्थात् पानी पर्ने प्राकृतिक मार्ग र प्रक्रिया खलबलिएको छ । कैयन दिनसम्म लगातार ठिक्क मात्रामा पानी पर्ने प्रक्रियामा परिवर्तन भएर त्यसको सट्टामा ह्वार्र वर्षा हुने र लगत्तै टण्टलापुर घाम लाग्ने हुन थालेको छ । त्यसमाथि थप खण्डबृष्टि त छँदैछ ।  यो चाहिँ जलवायु परिवर्तनको असर हो । र, यो गम्भीर कुरा पनि हो ।

पहिले अलि लामो समय लागेर,अलि बढी समयसम्म पर्ने पानी एकैचोटी ह्वारह्वारर्ती पर्न थाल्यो । पहिले झरीको रुपमा आउने पानी रोकिन थाल्यो । अर्थात् पानी पर्ने प्राकृतिक मार्ग र प्रक्रिया खलबलिएको छ ।

*******

यसैको असर वर्षाको पानी जमीनभित्र पस्ने र भूमिगत पानीको सतह रिचार्ज हुने प्रक्रिया खल्बलिएको छ । सतहको पानी जमिनमा सोसिन निश्चित समय लाग्ने गर्छ । पहिले लगातार लामो समय लागेर वर्षा हुँदा त्यस पानी जमीनको सतहभित्र छिर्ने समय मिल्थ्यो । तर अहिले ह्वार्र पानी पर्ने प्रक्रियाले पानी जमीनको सतहभित्र छिर्ने प्रक्रिया बिथोलिएको छ । त्यसमाथि थप, अन्धधुन्ध खनिएका सडकहरु, जथाभावी ठडिएका भवनहरु तथा  पानी जमिनभित्र छिर्नै नपाउने गरी निर्माण गरिएका भौतिक संरचनाहरुले वर्षाका पानीले जमीनभित्रका पानी रिचार्ज हुने प्रक्रिया अवरुद्ध भएको छ । वर्षाको पानीले जमीनको भूमिगत पानीलाई रिचार्ज गर्नुको सट्टामा त्यो सोझै खोला, नदीतिर मिसाइएको छ । त्यसैको परिणति असारे, साउने मूलहरु पलाउन, फुट्नै छाडेका छन् वा कम भएका छन् । त्यसले खोलानालामा बाढीको घनत्वलाई बढाइदिएको छ ।

काठमाडौंका कुरा

काठमाडौंको जमिनमा वर्षाको पानी सोस्ने र भूमिगत पानीको स्रोतलाई भर्ने काम यहाँका रुखपात, जंगलहरुका साथसाथै यहाँ रहेका बालुवाका ढिस्काहरुले पनि गर्ने गरेको तथ्य पनि यहाँ उल्लेखनीय छ ।

पहिले पहिले काठमाडौं उपत्यकामा बालुवाको मागको आपूर्ति खोलाहरुबाट हुने गर्थ्यो । तर कालान्तरमा पुलहरु भाँसिएका कारण खोलाको बालुवा झिक्न नियन्त्रण गरिएपछि, जनघनत्व बढ्दै गएपछि र भौतिक संरचनाहरुको निर्माण क्रम तीब्र हुँदै गएपछि बालुवाको विकल्पका रुपमा ढिस्काका बालुवाहरु खनिन थालियो । त्यो झिक्ने क्रममा अब डाँडाको फेदैसम्म पुगिसकिएको छ । काठमाडौं वरिपरि मनग्गे पाइने बालुवाका ढिस्काहरु मासिँदै गएका छन् । व्यापारिक हिसाबले एकातिर बालुवा पनि पाइने, अर्कोतिर खण्डीकरण गरेर तुरुन्तै बेच्नका लागि समथल जग्गा पनि तयार हुने कुराले ढिस्कोको बालुवाको दोहोन चरम सीमामा पुगेको छ ।

*******

के कुरा च्वाट्टै भुलियो भने बालुवाको त्यो ढिस्को काठमाडौं उपत्यकाका लागि पानीको भण्डार थियो । त्यसलाई नै हामीले मासिखायौं । फलतः त्यहाँ भण्डार भएर बस्ने,खोलामा बाढी बढ्न नदिने पानी सोझै खोलामा नै आइपुग्यो ।

*******

के कुरा च्वाट्टै भुलियो भने बालुवाको त्यो ढिस्को काठमाडौं उपत्यकाका लागि पानीको भण्डार थियो । त्यसलाई नै हामीले मासिखायौं । फलतः त्यहाँ भण्डार भएर बस्ने, खोलामा बाढी बढ्न नदिने पानी सोझै खोलामा नै आइपुग्यो । हिजो वर्षाको पानीलाई जलाधार क्षेत्रका जमीन, रुखपात, बालुवाहरुले सोसेर विस्तारै खटाइखटाइ मूल, कुवा, खोलानालामा वितरित हुन्थ्यो र मानवजीवन चल्ने गर्थ्यो । तर त्यही प्राकृतिक चक्र नै बिथोलिएपछि मासिएपछि हिउँदमा पानी नै नहुने र वर्षामा पानी मूल नफुट्ने तर खोलानालामा चाहिँ बाढी ह्वात्तै बढेर जाने कुराले जीवन कष्टकर भयो ।

यसरी मानिसले आफ्नै गल्ती, कमी कमजोरीहरुले दोहोरो कष्ट, प्रहार झेलिरहेको छ ।

यस दृष्टिकोणले अहिले मानिसले भोगिरहेको प्राकृतिक प्रकोप वा विपदको जड भनेको प्राकृतिकभन्दा पनि मानवीय नै हो भनेर ढुक्कसँग भन्न सकिन्छ ।

*******

अहिले हामीले भोगिरहेको र हाम्रो पुस्तान्तरले भोग्नुपर्ने जलवायु परिवर्तनको असर पनि प्राकृतिक होइन,यो मानवसिर्जित नै हो ।

*******

कसै कसैले भन्न सक्छन्, जलवायु परिवर्तनले ल्याउने बाढी पहिरो त प्राकृतिक नै हो नि । तर वास्तवमा यो सही होइन । अहिले हामीले भोगिरहेको र हाम्रो पुस्तान्तरले भोग्नुपर्ने जलवायु परिवर्तनको असर पनि प्राकृतिक होइन, यो मानवसिर्जित नै हो ।

जलवायु परिवर्तनको असरको आयातन निक्कै ठूलो रहेको र तुरुन्तै सच्चाउन नसकिने खालको भएकोले हामीले त्योसँगै जिउन सिक्नैपर्छ । यस स्थितिमा भिन्न ढंगले पर्ने पानीको सही व्यवस्थापन कसरी गर्ने र त्यसले पार्ने नकारात्मक असरहरुलाई कसरी न्यून गर्ने वा शून्य तुल्याउने भन्ने चाहिँ हाम्रो मुख्य चुनौति हो । हिजो तीन महिनामा आउने पानी तीन दिनमा आउन थालेपछि त्यसलाई कसरी उपयोग र व्यवस्थापन गर्ने भन्ने कुरा हामीले सिक्नै पर्छ ।

समस्याको उपचार

भनिन्छ, समस्याको पहिचान भएपछि उपचार गाह्रो हुन्न ।

वर्षाको पानी पर्ने चरित्रमा परिवर्तन आयो,जुन जलवायु परिवर्तनसँग सम्बन्धित छ । त्यसलाई स्वीकार्ने बाहेक अरु खासै उपाय छैन । खुसी हुनुपर्ने कुरा चाहिँ के हो भने,पर्ने पानीको मात्रामा चाहिँ खासै फरक परेको रहेनछ ।

*******

हामीले चर्चा गर्यौं, वर्षाको पानी पर्ने चरित्रमा परिवर्तन आयो, जुन जलवायु परिवर्तनसँग सम्बन्धित छ । त्यसलाई स्वीकार्ने बाहेक अरु खासै उपाय छैन । खुसी हुनुपर्ने कुरा चाहिँ के हो भने, पर्ने पानीको मात्रामा चाहिँ खासै फरक परेको रहेनछ ।फरक यति हो, हिजो लामो समय लागेर पर्ने पानी छोटो समयमै पर्यो । समस्या चाहिँ यो हो ।

हिजो प्राकृतिक रुपमा बगेर, जमिनमा सोसिँदै बग्ने पानीलाई सोहोरेर हामीले एकै ठाउँमा हालिदिँदा समस्या पैदा भयो । त्यसले वर्षाको समयमा सम्हाल्नै नसक्ने अति धेरै पानी हुने तर हिँउदमा चाहिँ पानी नै नहुने स्थिति पैदा भयो । त्यसैले हामीले वर्षाको मात्रै कुरा गर्यौं भने त्यो कथाको आधा भाग मात्रै हो, बाँकी आधा भाग चाहिँ हिउँदको पानी हो । यसलाई समग्रमा कुरा गरेनौं भने अधुरो हुन्छ ।

क्रमशः

(जलाधारविद् मधुकर उपाध्यासँग रातोपाटीका लागि चन्द्र खाकी र फणिन्द्र नेपालले गरेका कुराकानीमा आधारित आलेखको पहिलो भाग । यसको बाँकी भाग आगामी बुधबार प्रकाशित गरिनेछ ।)

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...