केन्द्रीय संस्करण
संस्मरण

मदनमणि दीक्षितसँग कविताबाहेकको त्यो कुर्सी वार्ता

person explore access_timeसाउन ३२, २०७६ chat_bubble_outline0
अशोक सिलवाल

रातोपाटी

प्रिय ! तिमीसँग छुुट्टिएर जङ्गलमा सुतिरहेको बेला मैले तिमीलाई सपनामा देखेँ । अङ्गालो हाल्न खोज्दा आकाशबाट देउताहरुले देखे र रुन थाले । रुखका पातहरुबाट ती आँशु शीतविन्दु बनेर तप्प तप्प खस्न थाले ।

...

हेर, म यो जङ्गलमा ठूलो ढुङ्गामा तिम्रो तस्विर बनाउँदैछु । तिमीलाई फकाउन तस्विरको तिम्रो खुट्टामा ढोग्न लाग्दा मेरा आँखाबाट खसेका आशुँले तिम्रो आकृति मेटियो । हाम्रो मिलनप्रति यमराज कति निष्ठुरी !

...

यस्ता अद्भुत भावका कविताहरु पढेपछि मदनमणि दीक्षितले कहिल्यै कविता लेख्ने आँट गरेनन् । उनै दीक्षितसँग भूकम्पलगत्तैको एक दिन मैले कविताका कुरा गरिनँ । बरु हामीले कुर्सीको डाहा ग¥यौँ । किन ?

त्यो थाहा पाउन त तलैसम्म पढ्नै पर्छ ।

...

१२ वैशाख २०७२ । ११ बजेर ५५ मिनेट र केही सेकन्ड जाँदै गर्दा काठमान्डु उपत्यकाको कुनै दरबार स्क्वायरभित्रको कुनै एउटा मन्दिरको पेटीमा एउटा जोडी थियो । (नोट ः त्यो पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर हुनसक्छ । त्यो काठमान्डु दरबार स्क्वायर पनि हुनसक्छ ।)

एकअर्काका हात बलियो गरी समाएर जोडीले सुस्तरी तर संयुक्त वाचा गरे, ‘बाँचे सँगै बाँच्छौं । मरे सँगै मर्छौँ ।’

त्यति भनिसक्दानसक्दै ११ बजेर ५६ मिनेट गयो ।

दृश्य बदलियो । मन्दिर मन्दिर रहेन । त्यो भग्नावशेष भयो । त्यहाँ लाशहरु मात्र थिए ।

उनीहरुको वाचा तत्कालै पुरा भयो । के त्यसैलाई अमर प्रेम भन्न सकिन्छ ? वा प्रेमको अन्त्य ?

म यस्तै खालको कुरा गर्न चाहँदैछु ।

– त्यो वार्तालाई आधार मान्ने हो भने भूकम्पले जोडीको कुरा सुनिराख्या रहेछ । तसर्थ त्यो वार्ता पूरा गर्न भूकम्प अगाडि आइपुग्यो । तर, यसलाई वैज्ञानिक रुपबाट भन्ने हो भने संसारभर र संसारको इतिहासमा यस्ता प्राकृतिक दुर्घटना अत्यधिक भएका छन् । त्यो आवश्यकता वा आकस्मिकता हो । त्यसले मानिसमा चिन्तन खडा गर्छ । र, त्यो चिन्तनबाट यस्तो धारणा बन्छ, ‘ईश्वरको इच्छाबाट यो भएको भएको हो । ईश्वर इच्छाबाट हामी मन्दिरमा पुगेका थियौँ । प्रेमका कुरा गरिरहेका थियौं । सँगै मर्छौँ या त सँगै बाँच्छौँ भनिरहेका थियौँ । भूकम्प आयो र हामीलाई सिध्यायो ।’

२) एउटा बच्चालाई परिवारले टीभी नहेर–नहेर भन्दै थियो । बलजफ्ती झुक्याएर एक्लै ऊ टीभी हेरिरहेको थियो । एक्कासी टीभी भुईंमा खस्यो । ऊ डरायो, ‘मलाई टीभी नहेर भनिरहेका थिए । तर, मैले टीभी हेरेँ । टीभी खस्यो । अब मलाई गाली गर्छन् । पिट्छन् ।’

डरले बच्चा बुर्कुसी मारेर दौडियो । र, कतै लुक्यो ।

खासमा टीभी भूकम्पले हल्लिएर खसेको उसलाई ज्ञात थिएन ।

भूकम्पमा आधारित लघुकथा हुनसक्दैन यो ?

– मजासित हुन्छ ।

३) उसलाई भूकम्पसँग कुनै डर छैन । भूकम्पको कुनै ज्ञान छैन । तर ऊ डराइरहेको छ, जसरी आम मान्छे भूकम्पलाई जानेर डराए । भूकम्पलाई बुझेर डराए । भूकम्प आयो भनेर डराए ।

– भएको के हुनसक्छ भने त्यो बच्चाले पहिल्यै कुनै कुरा खसेको देख्यो । त्यो खसेको देखेपछि उसका बाबुआमाले ‘तैँले खसालेको ?’ भनेर गाली गरे । गाली मात्र होइन, पिटे पनि । त्यो अनुभवलाई पछिल्लो पटक उसले टीभी खसेकोसित जोडेर आफु भाग्न पुग्यो ।

४) एकजना विवाहित छोरीकहाँ आमा गइछन् । त्यही बीचमा छोरीको मोबाइलमा घन्टी बजेछ । कस्तो नेटवर्क नटिपेको भन्दै उनी घरबाहिर आइछिन् । छोरी आँगनमा आइपुगिन् । उता घर ढलिसकेको थियो । छोरी भेट्न गएकी आमाको चिहान त्यहीँ भयो ।

भूकम्प जाँदा घटना स्वयम् कथा जसरी उत्पन्न हुँदोरहेछ । प्रत्येक मान्छेसँग अहिले भूकम्पसँग जोडिएको कथा छ । म जाँदै थिएँ । म खाँदै थिएँ । म लाउँदै थिएँ । म हिँड्दै थिएँ । म नुहाउँदै थिएँ । यस्तै यस्तै ।

भूकम्प त कथाको जननी जस्तो ।

– भूकम्पलाई कथाको जननी भनेर मान्नु त्यो लेखकको इच्छा वा निणर्यको कुरा हो । १२ वैशाखको भूकम्पले नेपालको १४ जिल्लालाई बर्बाद पा¥यो । ८ हजारभन्दा बढ्ता मान्छे मरे । २० हजारभन्दा बढ्ता गम्भीर घाइते भए । ७ लाख घर ध्वस्त भए । ती प्रत्येक घरका आफ्ना कथाहरु छन् ।

५) जहाँ रवि पुग्दैन, त्यहाँ कवि पुग्छ रे । हामीले वर्षोँदेखि सुन्या सुन्यै छौँ । लेखक र लेखन भनेको एकदम ठूलो चीज रे । चिन्तन र दर्शन त झनै ठूलो कुरा रे । तर, भूकम्प आइरहँदा तत्कालै त त्यसले केही काम गर्दो रहेनछ । मलाई यो भूकम्प आएको बेला कतै जान पनि मन लागेन । घरैमा बसेँ । वा खुला ठाउँमा बसें । केही गर्नुप¥यो वा लेख्न प¥यो भनेर सोचें । तर, मैले त केही पनि लेख्न सकिन । झन्डै १ महिना ।

भूकम्प आइरहँदा, मान्छेको मन हल्लिरहँदा यो लेखन भन्ने चीजको कुनै अर्थ हुँदो रहेनछ  ।

– तपाईंको प्रतिक्रिया र मेरो प्रतिक्रिया मिल्दैन ।

६) भनेपछि मेरो प्रतिक्रिया जो छ, त्यो आमप्रतिक्रिया होइन ?

– होइन ।

७) तर, मेरो विचारमा यो भूकम्प या यस्ता प्रकोपहरु या केही शाश्वत घटनाहरुमा आमप्रतिकृया उत्पन्न हुन्छ । जसरी आगोले हरेक मान्छेलाई पोल्छ त्यसैगरी भूकम्प वा प्राकृतिक प्रकोपहरुले दिने प्रतिक्रिया स्वाभाविक रुपमा आम हुन्छ कि भन्ने जिज्ञाशा ।

– आम प्रतिक्रिया होला तर एकसमान प्रतिक्रिया हुँदैन ।

८) आफ्नै अगाडि हल्लिरहेको वा ढलिरहेको धरहरालाई हेरेर तत्कालै एउटा आशुकविले कविता लेख्छ ?

– कसरी लेख्छ ? नेपालमा राजदरबार हत्याकाण्ड भयो । मेरी कान्छी नातिनी सची अर्को कोठामा थिई । ७ वर्षमा दौडिदै गरेकी ऊ लडीबुडी गरेर रोई । किन ? त्यो कस्तो प्रतिक्रिया हो ? त्यो घटनाको एक प्रतिक्रिया । त्यस्तै एकातिर भूकम्पलाई राख्नोस्, अर्कोतिर मान्छेलाई राख्नोस् । प्रतिक्रिया नवीन किसिमको हुन्छ ।

९) एक छिन नब्बे सालततिर लागौँ । नब्बे सालको भूकम्पले नेपाली साहित्यमा कस्तो खालको कम्पन ल्यायो ?

– दिउँसो दुई बजे भूकम्प गएको थियो । तुरुन्तै कसैले कविता लेख्यो कि लेखेन भन्ने प्रश्न उठ्छ । दुई बजेर ५ मिनेटको सट्टामा दुई बर्षपछिको दुई बजेर ५ मिनेटपछि लेखेको हो कि भन्ने प्रश्न उठ्छ । लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समका केही निबन्ध र नाटकहरु पढेको थिएँ । ती सबै भूकम्पबाट जन्मेका हुन् । तर, पछिबाट ।

१०) ती भूकम्पबाट जन्मेका हुन् भनेर के आधारमा भन्न सकिन्छ ?

– (स्वर अलि उँचो पार्दै) समयको आधारमा ।

११) भूकम्पमा आधारित भएर जन्मिएका होइनन् ।

– उनीहरु भूकम्पका बेला सग्लो मानिस थिए । राष्ट्रिय आधारमा हेर्दा भूकम्पभन्दा पहिले त्यस्ता स्तरिय नाटक, कविता र निबन्धहरु लेखिया’ थिएनन् । भूकम्पपछि लेखिन थाले । लेखिए मात्र होइन, भूकम्पछि इन्द्रचोकदेखि नयाँ सडकको ढोकासम्म नयाँ सडक बन्यो । असनदेखि इन्द्रचोकसम्म दुवैपट्टी नयाँ घरहरु बने । भूकम्पहरुले घरहरुको डङ्गुरको पहाड चेढ्ने र ओर्लने जस्तो बनाएको थियो । आफै चढेको र ओर्लेको अनुभव छ मलाई ।

त्यो भूकम्पछि नेपालमा प्रजातान्तिक राजनीति सुरु भयो । ०९५ सालमा टंकप्रसादजीको प्रजापरिषद गठन भयो । नेपालको पहिलो बैङ्क नेपाल बैङ्क स्थापना भयो । पहिलो पटक सिमेन्टी प्रयोग भएको घर बन्यो । मैले तपाईंलाई पहिले पनि बताएको छु ।  सरस्वती सदन ।

नब्बे सालको भूकम्पछि राष्ट्रिय आधारमा कायाकल्प सुरु भयो, हरेक क्षेत्रमा । यसलाई भूकम्पको परिणाम भन्ने कि कि भूकम्पपछि भन्ने ? अथवा के भन्ने ? यो कुराचाहिं विवादको विषय हो । तर, पछिका इतिहासकारहरुले त्यही भन्छन्, ‘०९० सालको भूकम्पछि यो घर बनेको हो । यो सडक बनेको हो । यो संस्था गठन भएको हो । यो बैंक खुलेको हो ।’

१२) जीवनमा दुइटा उल्लेख्य भूकम्प भोग्नु भयो । ०९० सालमा ११ बर्ष हुँदा र १२ वैशाख २०७२ मा । पहिलोमा तपाईंको अगाडि कुनै विशेषण थिएन । २०७२ मा आइपुग्दा तपाईंको नाम अगाडि अनेक विशेषण झुन्डिएको छ । चिन्तक, लेखक, विद्धान आदि । विशेषणरहित र सहित रहँदा भूकम्पअनुभव के कस्तो फरक पाउनु भयो ?

– तपाई कुरा गरिरहनु भएको छ । तपाईंको शरीर र (औँलाले छेउको कुर्सी देखाउँदै) त्यो कुर्सीको बीचमा भेद के देख्नु हुन्छ ?

१३) सजीव र निर्जीव ।

– यथार्थमा बताउनुस् । के भेद छ ?

१४) त्यो कुर्सी हो । यो (आफैलाई देखाउँदै) म हो । अथवा यसका अनेक उत्तर हुनसक्छन् ।

– सरल उत्तर एउटै छ । कुर्सी हल्लिएको छैन । तपाईं हल्लिरहनु भएको छ ।

१५) अघि सजीव र निर्जीव भनिरहँदा यो उत्तर त्योसँग थोरै मिल्न खोज्यो ।

– त्यो हल्लिएको छैन । तपाईं हल्लिरहनु भएको छ । वैशाख १२ गतेबाट आज जेठ २१ गते भइसक्यो । तर, तपाईं हल्लिएको देखेर मलाई अहिले पनि डर लागिरहेको छ ।

१६) यो मदनमणि दीक्षितलाई ?

– हो । यो डरको कारण के ... ?

१७) अर्थात् लेखकहरु बढी डराउँछन् । जसरी कुर्सी डराउँदैन ।

– यो लेखकसँगको कुरा मात्र भएन । आम मानिस डराउँछ । (छेउमै रहेकी श्रीमती रीता दीक्षितलाई देखाउँदै) हाम्री देवीजी पनि त्यत्तिकै डराउँछिन् । उनले स्वीकार गरुन्÷नगरुन् । राती सुत्दा कोल्टे फेर्दा पनि डर लाग्छ ।

मानिसको अगम्य चरित्र र विलक्षणता यसबाट देखिन्छ । मैले जे अनुभव गरेको छु, इन्द्रचोकको मान्छेले त्यो अनुभव गर्दैन । त्यो दिनको भूकम्पको केन्द्र गोरखाको बारपाकको मान्छेको जे अनुभव हो, त्यो भन्दा फरक अनुभव मेरो भयो । यो मानिस हुनुको विचित्रता हो, जसको व्याख्या असम्भव छ ।

१८) लेखनलाई एउटा पृथ्वी मान्ने हो भने त्यहाँ पनि कम्पन जरुरी छ ?

– यसको सरल जवाफ एउटै छ, तपाईं निदाएको बेला लेख्नु हुन्न ।

१९) निदाएको बेला सपना देख्न सकिन्छ ।

– सुषुप्तिमा सपना पनि देख्न सकिदैंन ।

२०) निदाएको तर सपना नदेखिएको अवस्थालाई सुषुप्ति भनिन्छ ?

– हो । उपनिषद्मा जाग, स्वप्न, सुषुप्ति र तुरिय भनेर दिमागको ४ वटा अवस्था भनेको छ । उपनिषद्को समय गौतम बुद्धको समयपछिको हो । विश्वको कुनै पनि वैज्ञानिकले ईशापूर्व ४०० मा दिमागको चारवटा स्टेजको बारेमा चर्चा गरेको त्यो उपनिषद्मा बाहेक अरु कुनैमा पनि छैन ।

२१) जाग भनेको उठेको अवस्था । स्वप्न भनेको सपना देखिरहेको अवस्था । सुषुप्ति भनेको निदाएको तर सपना नदेखेको अवस्था । तुरिय भनेको ?

– अघिल्लो तीनवटै अनुभव पनि त्यसमा हुँदैन ।

२२) त्यसलाई मृत्युपछिको अवस्था भन्न सकिन्छ ?

– यो तपाईंको व्याख्या भयो । उपनिषद्ले त्यो व्याख्या दिंदैन ।

२३) मेरो व्याख्या होइन, जिज्ञाशा मात्र । त्यसलाई ‘सुपरकन्सियस’ भन्न सकिन्छ कि ?

– ‘सुपरकन्सियस’ नै भनौं ।

२४) छेउको मान्छे हल्लिँदा पनि तपाईंलाई डर लागिरहेको छ । जिन्दगीभर लेख्नुभयो, लेख्नुभयो र लेखिरहनु भएको छ । त्यो मान्छेको कलम कत्तिको हल्लिएको छ ? जसरी पैताला हल्लिरहेको छ । मन हल्लिरहेको छ ।

– मैले मेरो कलम हल्लेको अनुभव गरेको छैन ।

२५) तर, मैले अघि नै आफ्नै उदाहरण दिएँ, मेरो कलम मजाले हल्लिरहेको छ । तपाईंको कलम नहल्लिनुको कारण लेखनमा साधना हो  ?

– साधना भन्ने कि के भन्ने ? हेर्नोस्, अहिले २०७२ भयो । २०२२ साल अर्थात ५० वर्ष अगाडि मैले हातले लेख्न बन्द गरें । यो घटना मैले तपाईंलाई पहिल्यै बताइसकेको छु ।

५० वर्षदेखि मैले आफ्नो हातले लेखेको छैन । तैपनि म चिठीहरु लेख्थें । अचेल त चिठी लेख्न पनि सक्दिन । डायरीमा लेख्दा पनि म ह्यान्डराइटिङ चिन्दिन । तसर्थ म लेखाउँछु । त्यसमा मलाई डर लागे ता पनि मेरो आवाज चाहिँ उस्तै त्रासबिना डराउँदैन ।

२६) आवाज डराउँदैन कि आवाज निकाल्ने यन्त्र डराउँदैन ?

– यन्त्र ।

२७) त्यो लेखनको निरन्तरताले गर्दा हो कि जन्मजात ?

– ०९० सालमा मलाई डर लागेको थियो । नत्र आमाको घुँडा समातेर रुन्थें किन ?

२८) यसपटक भूकम्प आइसकेपछि मैले केही अगाडिको एउटा सन्दर्भ र समय सम्झें । त्यो समयमा तपाई हुनुहुन्थ्यो । म थिएँ र राष्ट्रकवि माधव घिमिरेसहित उहाँले लेखेको ‘भुइँचोलो’ शीर्षकको कविता थियो । जुन कवितावापत उहाँले ७० हजार रुपियाँभन्दा बढी रकम हाम्रै सामुन्ने प्राप्त गर्नु भएको थियो । र, हामीले ताली पनि बजाएका थियौं । मैले यी सबै सम्झिरहँदा मलाई कविताका पंंक्ति सम्झिन साह्रै गाह्रो भयो । तपाईंले पनि यो भूकम्प गइसकेपछि त्यो क्षण या त्यो कविता सम्झनु भयो ?

– घटना सम्झें । तर, कविताको चाहिं मैले दुईटा शब्द मात्र सम्झें । जुन उहाँले हरेक दुई लाइनपछि दोहो¥याउनु भएको थियो, ‘भुईंचालो, भुईंचालो ।’

२९) एक्ज्याट्क्ली । मैले पनि त्यही मात्र सम्झेँ । त्यहाँ हामीले त्यो भुईंचालो कविता गीती शैलीमा कवि घिमिरेबाट सुन्यौं । होइन त ?

– हो ।

३०) भूकम्प आएलगत्तै तपाईले मलाई फोन गर्नु भएको थियो । म सम्झन्छु तपाईको कामेको आवाज । तर, त्यो भूकम्पले होइन, मलाई थाहा छ बुढ्यौलीले कामेको आवाज थियो । र, भूकम्प अवधिमा पटकपटकको तपाईंको कलबाट मैले तपाईंमा मप्रति भरपुर ‘गार्जियनसीप’ रहेको अनुभव गरें ।

– तपाईं सुरक्षित हुनुहुन्छ । यो जवाफबाट मलाई सन्तोष हुन्छ र मेरो त्रास घट्दछ । टेलिफोन कललाई सहानुभुति पनि भन्न सकिन्छ । तर, त्यो सहानुभुति मात्र होइन । बरु त्रासको साझेदारी हो । आफ्नो डर तपाईंलाई बताएर आफु हलुका हुने र तपाईंलाई पनि हलुका तुल्याउने । यसमा यी दुईटै कुरा मिलेको छ ।

३१) तर, आज हामी टेलिफोनमा होइन । आमनेसमाने छौँ । यो पनि एउटा सौभाग्य नै हो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...