शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

के काम गर्दैछन् नेकपाका विभाग प्रमुखले ?

कतिपय प्रमुख र उपप्रमुख एकआपसमा चिनाजानी गर्ने प्रक्रियामै
बिहीबार, १२ भदौ २०७६, १६ : ३०
बिहीबार, १२ भदौ २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साउन ३१ गते बसेको सचिवालय बैठकले ३२ विभागका प्रमुख र उपप्रमुख टुङ्ग्यायो । तर, जिम्मेवारी पाएको दुई साता बितिसक्दा पनि अधिकांश विभाग प्रमुख र उपप्रमुखले आफ्नो विभागीय काम अगाडि बढाउन सकेका छैनन् ।

अहिलेसम्म स्कुल विभागले मात्रै काम अगाडि बढाएको छ । जिम्मेवारी पाएको पहिलो सातामै विभाग प्रमुख ईश्वर पोखरेल, उपप्रमुखद्वय देवेन्द्र पौडेल र बेदुराम भुसालले औपचारिक रुपमै कार्यभार ग्रहण गरेर विभागको काम अगाडि बढाएका छन् ।

तर, अन्य विभाग प्रमुख र उपप्रमुख भने अन्यौलमा छन् । कतिपय विभागका प्रमुख र उपप्रमुखको चिनजानसम्म भएको छैन । केही विभाग प्रमुख भने पार्टीको निर्णय कुरेर बसेका छन् ।

विभागको जिम्मेवारी पाएका सचिवालयका अधिकांश नेता नै आफ्नो विभागीय काम अगाडि बढाउन सकेका छैनन् । नेकपाको अन्तरिम विधानले केन्द्रीय विभाग पदाधिकारी सहित ३५ सदस्यीय रहने उल्लेख गरेको छ ।

सोही अनुसार पार्टी सचिवालयले सवै विभागमा तत्कालिन एमालेबाट २० र तत्कालिन माओवादीबाट १५ रहने निर्णय गरेको छ । तर, केही महत्त्वपूर्ण विभागमा आ–आफ्नो भागमा परेको सङ्ख्या भित्रबाट सदस्य छान्न तत्कालिन दुवै पार्टीका नेताहरुलाई सकस परेको छ । विभागको सदस्य बन्ने आकाङ्क्षी धेरै देखिएपछि सर्वसम्मत रुपमा विभागलाई पूर्णता दिन विभाग प्रमुख र उपप्रमुखले सकेका छैनन् । त्यस्ता विभागका सदस्य छान्ने जिम्मा पार्टी नेताकै काँधमा पुगेको छ ।

यस्तै कतिपय विभागका प्रमुख र उपप्रमुख एकआपसमा चिनाजानी गर्ने प्रक्रियामै छन् । र, केही विभाग प्रमुखले चाँही कार्ययोजना पनि तयार गरेका छन् ।

के गर्दैछन् विभाग प्रमुख र उपप्रमुख ?

कार्ययोजना पार्टीमा बुझाएका छौँ– वामदेव गौतम, संगठन विभाग प्रमुख

पार्टीमा सवैभन्दा शक्तिशाली मानिने संगठन विभाग प्रमुख र उपप्रमुखको जिम्मेवारी सचिवालय सदस्य वामदेव गौतम र स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई दिएको छ । तर, जिम्मेवारी पाएको दुई साता बितिसक्दा पनि विभाग प्रमुख र उपप्रमखले विभागलाई पूर्णता दिने कामसमेत अगाडि बढाउन सकेका छैनन् ।

विभाग प्रमुख वामदेव गौतमले एक दुई चरणको छलफल पछि कार्ययोजना बनाएर पार्टीलाई बुझाएको बताउँछन् । गौतम भन्छन्, ‘औपचारिक रुपमै काम अगाडि नबढेपनि पहिलो चरणमा कार्ययोजना बनाएर पार्टीलाई बुझाएका छाँै । त्यो कार्ययोजनाभित्र नै विभाग कति सदस्यीय बनाउने र के के गर्ने भन्ने उल्ल्ेख छ, रातोपाटीसँग को कुराकानीमा उनले भने, ‘पार्टीले अहिलेसम्म त्यसबारे कुनै निर्णय गरेको छैन । विधानले बढीमा ३५ सदस्यीय विभाग रहने तय गरेको छ । तर, हामी थोरै सङ्ख्याको विभाग बनाउने प्रस्ताव राखेका छाँै । त्यसबारे पार्टीले निर्णय गरेपछि रफ्तारमा काम सुरु गछाँै ।’

नेता गौतमका अनुसार संगठन विभाग १३ वा १५ सदस्यीय बनाउने प्रस्ताव भएको कार्ययोजनामा छ । तर, यो सङ्ख्यामा पनि तत्कालिन दुवै पार्टीले आफ्नो भागभित्रका नाम टुङ्ग्याउन सकेका छैनन् ।

विभाग गठन भएपछि काम सुरु गर्छौँ– नारायणकाजी श्रेष्ठ, प्रचार विभाग प्रमुख

पार्टीमा अर्को महत्त्वपूर्ण मानिने प्रचार तथा प्रकाशन विभागको जिम्मा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र उप प्रमुखमा केन्द्रीय सदस्य सूर्य थापालाई जिम्मा पार्टीले दिएको थियो । तर, जिम्मेवारी पाएको दुई साता बितिसक्दा यो विभागले कुनै काम सुरु गरेको छैन ।

विभाग प्रमुख श्रेष्ठ भन्छन्, ‘विभाग गठन भएको छैन । प्रमुख र उपप्रमुख मात्र तोकिएको छ । उपप्रमुख जिम्मेवारी पाएकोे भोलिपल्ट नै चीन भ्रमणमा जानुभएको थियो । उहाँ भर्खर आइपुग्नु भएको छ । अब हामी छलफल गर्छौँ । वास्तविक काम त विभाग गठन भएपछि सुरु हुन्छ ।’

विभागलाई पूर्णता दिने तयारीमा र्छौँ –देवेन्द्र पौडेल, स्कुल विभाग उपप्रमुख

नेतृत्व कसले लिने भन्नेबारे लामो समय विवाद भएको स्कुल विभागले अन्य विभागले भन्दा पहिला नै काम सुरु गरेको थियो । जिम्मेवारी पाएको पहिलो सातामै विभाग प्रमुख पोखरेल र उपप्रमुखद्वय पौडेल र भुसालले कार्यभार ग्रहण गरेका थिए । 

रातोपाटीसँगको कुराकानीमा उपप्रमुख पौडेल भन्छन्, ‘अहिले विभागलाई पूर्णता दिने प्रक्रिया अगाडि बढाएका छौँ । तत्कालिन दुवै पार्टीबाट विभागको सदस्य बन्न धेरै कमरेडहरुले चाहनु भएको छ । उहाँहरुको चाहना र दक्षतालाई हेरेर सदस्य बनाउछाँै । त्यसपछि पाठ्यक्रम बनाउने र प्रशिक्षण चलाउने तयारी गरेका छाँै ।’ पौडेलले भने ।

पार्टी विधानले ३५ सदस्यीय रहने तय भएपनि स्कुल विभागले सानो सङ्ख्याबाटै काम सुरु गर्ने निर्णय गरेको छ । तर, तत्कालिन दुवै पार्टीबाट सदस्य बन्ने आकाङ्क्षी धेरै हुँदा छनोट गर्न नेताहरुलाई सकस परेको छ । 

सामान्य छलफल मात्रै भएको छ– मणि थापा, साहित्य कला तथा संस्कृति विभाग

साहित्य कला तथा संस्कृति विभागको प्रमुखको जिम्मेवारी स्थायी कमिटी सदस्य मणि थापालाई पार्टीले दिएको छ । पार्टीका नेता–कार्यकर्ताहरूले पालना गर्नुपर्ने आचारसंहिता र सांस्कृतिक रूपान्तरणका बारेमा सुझाव प्रस्तुत गर्ने, साहित्यिक र सांस्कृतिक पत्रिका प्रकाशन गर्ने लगाएतको जिम्मा यो विभागलाई छ । यो विभागको उपप्रमुख भने पार्टीले तोकेको छैन ।

विभाग प्रमुख थापा भन्छन्, ‘पार्टीले मलाई प्रमुखको जिम्मेवारी तोकेको छ । अहिले विभागलाई पूर्णता दिनेबारे सामान्य भेटघाट र छलफलमात्रै भएको छ । पहिलो चरणमा विभागलाई पूर्णता दिने र काम सुरु गर्ने योजना मैले बनाएको छु ।’

पहिलो चरणमा छलफलमात्र गर्यौँ –विष्णु रिजाल, विदेश विभाग उपप्रमुख

पार्टीमा आकर्षक विभाग मध्ये विदेश विभाग पनि मानिन्छ । यो विभागको प्रमुखमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपप्रमुखमा केन्द्रीय सदस्यद्वय राम कार्की र विष्णु रिजाललाई पार्टीले जिम्मेवारी दिएको छ । , यो विभागले काम सुरु गरेको छ ।

विभागका उपप्रमुख रिजाल भन्छन्, ‘सोमबार पहिलो बैठक बस्यौँ, प्रमुख र हामी दुई उपप्रमुख । बैठकमा तत्कालिन दुवै पार्टीमा रहेका सदस्यहरुको नाम एकीकृत गरेर एकअर्कालाई चिनाउने काम गर्यौँ,’ उनले भने, ‘अहिलेसम्म एकअर्कालाई बुझ्ने अवसर आएको थिएन । अब विभागको सदस्य सिफारिस गर्दा आवश्यकता अनुसार र अनुभवका आधारमा नामहरु एकीकृत गरौँ भन्ने सामान्य छलफल भएको छ । अव छिट्टै अर्को बैठक बसेर त्यसबारे निर्णय गर्छौै ।’

काम सुरु भएको छैन–डोरप्रसाद उपाध्याय, अर्थ तथा योजना विभाग उपप्रमुख

पार्टीले आर्थिक विकासका क्षेत्रमा  समष्टिगत तथा  क्षेत्रगतरूपमा  अवलम्बन  गर्नु पर्ने नीति र कार्यक्रम बनाउने जिम्मा अर्थ तथा योजना विभागलाई छ । यो विभागको प्रमुखमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र उपप्रमुखमा केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायलाई पार्टीले जिम्मेवारी दिएको छ । तर, यो विभागका प्रमुख, उपप्रमुखले पनि कुनै काम अगाडि बढाएका छैनन् ।

प्रमुख र उपप्रमुखबीच सामान्य भेटघाट भएपनि काम सुरु गर्नेबारे कुनै छलफल नभएको उपप्रमुख उपाध्याय बताउँछन् । भन्छन्, ‘पार्टीले जिम्मेवारी दिएपछि हामी दुई बीचमा सामान्य छलफल भएको थियो । तर, विभाग प्रमुखको कार्यव्यस्तताले गर्दा अरु छलफल भएको छैन । अब केही दिनपछि हामी विभागलाई पूर्णता दिनेबारे छलफल गर्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप