बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
cover-story
मुम्बई

वानखेड स्टेडियम

वानखेड अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम मुम्बईमा रहेको छ । यो क्रिकेट रंगशालाको व्यवस्थापन र सञ्चालन मुम्बई क्रिकेट एसोसिएसनको अधीनमा रहेको छ । वानखेड स्टेडियममै मुम्बई क्रिकेट एसोसिएसनको मुख्यालय पनि रहेको छ । 

यसका अतिरिक्त भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को मुख्यालय पनि वानखेड स्टेडियम परिसरमै रहेको छ । यो इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब मुम्बई इन्डियन्सको घरेलु मैदान पनि हो । आईपीएलको मुख्यालय पनि यही स्टेडियम परिसरमा रहेको छ ।  यो क्रिकेट स्टेडियमको छेउछाउ थुप्रै पुराना क्रिकेट क्लबहरुको कार्यालय पनि छ । भारतकै पुराना क्लबहरू हिन्दु जिमखाना, पारसी जिमखाना र क्रिकेट क्लब अफ इन्डियाको कार्यालयम पनि यही रंगशालाको वरपर रहेका छन् ।  यो क्रिकेट रंगशाला सन् १९७४ मा तयार पारिएको थियो । त्यतिबेला यसको दर्शक क्षमता ३९ हजार रहेको थियो ।

त्यसपछि सन् २०११ मा यो रंगशालाको पुनर्निर्माण गरिएको थियो । अहिले यो रंगशालाको दर्शक क्षमता ३२ हजार हो ।  सन् २०११ को एकदिवसीय विश्वकप क्रिकेट भारत, बंगलादेश र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यतिबेला विश्वकपको फाइनल खेल पनि यही रंगशालामा खेलाइएको थियो । त्यो विश्वकपको फाइनलमा भारतले श्रीलंकालाई ६ विकेटले हराएको थियो । स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरले आफ्नो खेल जीवनमा खेलेको अन्तिम एकदिवसीय प्रतियोगिता पनि त्यही थियो । 

वानखेड स्टेडियममा सन् १९७५ को जनवरी २३ देखि २९ सम्म पहिलो टेस्ट क्रिकेट खेलिएको थियो । उक्त टेस्ट भारत र वेस्ट इन्डिजबीच खेलिएको थियो । अन्तिम टेस्ट भने सन् २०२१ को डिसेम्बर ३ देखि ७ सम्म भारत र न्युजिल्यान्डबीच खेलिएको थियो ।  यसैगरी यो स्टेडियममा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता सन् १९८७ को जनवरी १७ मा भारत र श्रीलङ्काबिच खेलिएको थियो । अन्तिम एकदिवसीय भने सन् २०२३ को मार्च १७ मा भारत र अस्ट्रेलियाबिच खेलिएको थियो । पहिलो टी—२० अन्तर्राष्ट्रिय सन् २०१२ को डिसेम्बर २२ मा भारत र इङ्ल्यान्डबीच खेलिएको थियो । 

यो स्टेडियमको माटो रातो रहेको छ । यो स्टेडियमको पिचमा बल निकै बाउन्स हुने गर्छ । त्यसैले यहाँको पिच बलरका लागि भन्दा पनि ब्याट्सम्यानका लागि बढी उपयोगी मानिन्छ । यो स्टेडियममा आगामी विश्वकपको सेमिफाइनलसहित पाँचवटा खेल खेलाइने कार्यक्रम रहेको छ । 

यसअघि यो स्टेडियममा सन् १९८७, सन् १९९६ र सन् २०११ को विश्वकपका खेलहरू पनि खेलाइएको थियो । यो रंगशालामा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनेको सर्वाधिक योगफल चार विकेट गुमाएर चार सय ३८ रन हो । सन् २०१५ मा खेलिएको एकदिवसीय क्रिकेटमा भारतविरुद्ध दक्षिण अफ्रिकाले उक्त रन बनाएको थियो ।  यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो रंगशालामा न्युजिल्यान्डले ६ विकेट गुमाएर तीन सय ५८ रन, भारतले चार विकेट गुमाएर दुई सय ९९ रन र श्रीलङ्काले सात विकेट गुमाएर दुई सय ८९ रन बनाएका छन् । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो रंगशालामा बनेको सबैभन्दा कम योगफल भने एक सय १५ रन हो । सन् १९९८ मा भारतले बंगलादेशलाई एक सय १५ मा अलआउट गरेको थियो । यो स्टेडियममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिन तेन्दुलकरले विभिन्न पालीमा सर्वाधिक कुल चार सय ५५ रन बनाएका छन् ।  यसैगरी मोहम्मद अजहरुद्दिनले तीन सय दुई र विराट कोहलीले दुई सय ४९ रन बनाएका छन् । यो स्टेडियममा एकदिवसीय क्रिकेटमा भारतका वेंकटेस प्रसादले सर्वाधिक १५, अनिल कुम्बलेले १२ र हरभजन सिंहले नौ विकेट लिएका छन् ।

खेल तालिका