सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

सत्ता अदल–बदलले हिक्मतकुमार कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न सफल

बिहीबार, २७ वैशाख २०८१, १६ : ५१
बिहीबार, २७ वैशाख २०८१

विराटनगर । कोशी प्रदेशको पाँचौँ मुख्यमन्त्रीको रुपमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेशको इतिहासमा नवौँ पटकको सरकार गठनका क्रममा उनी तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्की यसअघि २०७९ पुस २८ र २०८० भदौ २२ गते गरी दुई पटक मुख्यमन्त्री बनेका थिए ।


पहिलो पटक उनी एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए । दोस्रो पटक भने संविधानको धारा १६८ (२) अनुसार सरकार बन्न नसक्दा सर्वोच्च अदालतको परमादेशबाट उपधारा (३) अनुसार ठुलो संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

केन्द्रीय सत्ता राजनीतिमा गठबन्धन अदल–बदल भएसँगै यसपटक पुनः कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार नयाँ सरकार गठनको आह्वान गरेअनुसार बिहीबार दिउँसो कार्कीलाई संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीको शपथग्रहण बिहीबार ५ बजेका लागि तय भएको छ ।

कोशी प्रदेश सभाको दोस्रो कार्यकाल अन्तर्गत यो छैटौँ सरकार हो । यस्तै व्यक्तिगत हिसाबले कोशी प्रदेशमा मुख्यमन्त्री हुनेमध्येका उनी पाँचौँ मुख्यमन्त्री हुन् । प्रदेश सभाको पहिलो कार्यकालमा एमालेका नेता शेरधन राई, भीम आचार्य र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई मुख्यमन्त्री बनेका थिए ।

दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री कार्की आफैँ बन्दा दोस्रो र तेस्रोमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बने । चौथो मुख्यमन्त्री पुनः उनै हिक्मतकुमार कार्की बनेका थिए भने पाँचौँ मुख्यमन्त्री नेपाली कांग्रेसका नेता तथा सांसद केदार कार्की बने ।

को हुन् हिक्मतकुमार कार्की ?

२०२१ साल असोज ११ गते झापास्थित गौरादह नगरपालिका वडा नम्बर ३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रुपमा हिक्मतकुमार कार्कीको जन्म भएको हो । अहिले पनि उनको परिवारमा आमा, दाजु–भाउजु, श्रीमती, दुई छोरी र एक छोरा छन् । उनको बाल्यकाल गौरादहमै बित्यो । उनले एसएलसीसम्मको अध्ययन स्थानीय जनता माविमा गरेका थिए ।

विद्यालयमा अध्ययन गर्दैगर्दा अनेरास्ववियुमा संगठित भइ विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी पार्टीको सम्पर्कमा भने २०३६ सालतिर मात्रै आएका हुन् । महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आईएल अध्ययन गर्ने उद्देश्य राखी २०४२ सालमा उनी धरान आएका हुन् । आईएलको पहिलो ब्याचका रूपमा अध्ययन सकेर उच्च शिक्षाका निम्ति उनी नेपाल ल कलेज, प्रदर्शनीमार्गमा भर्ना भए । उनले कानुनमा स्नातकोत्तर तह (एलएलएम) को अध्ययन पूरा गरेका छन् ।

अनेरास्ववियुको क्याम्पस प्राक, जिल्ला कमिटी काठमाडौँ, बागमती अञ्चल कमिटीको भूमिका निर्वाह गर्दै उनी २०५५ सालमा केन्द्रीय अध्यक्षको जिम्मेवारीमा थिए । उनी नेपाल ल क्याम्पसको स्ववियु सभापतिसमेत भएका थिए । २०७१ सालमा सम्पन्न भएको नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गरेका उनी २०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इन्चार्ज बने ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा झापाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५(१) बाट प्रत्यक्ष निर्वाचित कार्की प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्री परिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्री बने । उनले करिब ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा काम गरेका थिए । उनकै पालामा कोशी प्रदेश सरकारले ५७ वटा प्रदेश कानुन, दुई दर्जनभन्दा बढी नियमावली, कार्यविधि तर्जुमा गरेको थियो ।

२०७९ साल मंसिर ४ गते सम्पन्न दोस्रो प्रदेश सभा निर्वाचनमा उनी पुनः सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भए । निर्वाचन परिणामपछि बनेको प्रदेश सभाबाट उनी २०७९ पुस २४ गते कोशी प्रदेशको चौथो मुख्यमन्त्री बनेका थिए । केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलपछि उनी २०८० जेठ १४ गते विश्वासको मत लिन नसकेपछि बर्खास्त भए ।

पुनः नेपालको संविधानको धारा १६८ (३) बमोजिम २०८० साल भदौ २२ गते मुख्यमन्त्री बनेका उनले विश्वासको मत लिने अवस्था नभएपछि असोज २० गते राजीनामा दिएका थिए । उनै कार्की केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलसँगै पुनः संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश संरचना र प्रदेश सरकारको विषयमा पर्याप्त अनुभव भएका कार्कीले आफ्नो नेतृत्वको सरकारलाई आगामी दिनमा कसरी अगाडि बढाउँछन्, त्यो भने हेर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप