सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
कलाकार

जसितासँग प्रेमबारे अनमोल, ‘अहिलेसम्म सिंगल नै छु’

‘प्रदीपसँग मिडियाले सिर्जना गरेको प्रतिस्पर्धाले दुवैलाई फाइदा भएको छ’
बिहीबार, २७ वैशाख २०८१, १० : २०
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । अनमोल केसी नेपाली फिल्मका ‘सुपरस्टार’ मानिन्छन् । दर्शकमा सर्वाधिक क्रेज भएका हिरोको रूपमा समेत परिचित केसी छानेर र थोरै फिल्म अभिनय गर्दै आएका छन् । त्यसैले पनि उनका फिल्म रिलिज हुँदा हलमा युवायुवतीको भीड लाग्ने गर्छ । 

सन् २०१३ को फिल्म ‘होस्टल’बाट अभिनयमा डेब्यु गरेका केसीका ‘गाजलु’, ‘जेरी’, ड्रिम्स’, ‘ए मेरो हजुर ३’ लगायत केसीले करिब दर्जन हाराहारीको फिल्म अभिनय गरेका छन् । उनको धेरै फिल्मले लगानी सुरक्षित गरेका छन् । त्यसैले पनि उनलाई लिन निर्माता निर्देशक मरिहत्ते गर्छन् । 

दुई वर्ष अगाडि ‘छड्के–२’ दिएका केसी अहिले फिल्म ‘फर्की फर्की’ मार्फत दर्शकमाझ आएका छन् । यसपटक फिल्मले दर्शक रिझाउने उनको विश्वास छ । ‘फर्की फर्की’ आफ्नो अभिनय करियरकै उत्कृष्ट र फरक फिल्म भएको बताउने अभिनेता केसीसँग रातोपाटीले गरेको छोटो कुराकानी ।

  • अनमोलको फिल्म हेर्न दर्शकले सधैँ लामो प्रतीक्षा गर्नुपर्ने किन र ?

– म सङ्ख्या भन्दा पनि गुणस्तरीय काम गर्न रुचाउने व्यक्ति हुँ । अभिनेताको रूपमा अहिलेसम्म मेरो जोड क्वालिटी काममा रहँदै आएको छ । दर्शकलाई के नयाँ कुरा दिन सकिन्छ भनेर खोजी गर्दा केही समय लाग्छ ।

  • अभिनेताका लागि दुई फिल्मको दुरी दुई वर्ष आवश्यक छ र ?

–छैन, म पनि मेरो वर्षमा २–३ वटा फिल्म रिलिज होस् भन्ने चाहना राख्छु । तर, फिल्मको लागि मन पर्ने स्क्रिप्ट खोज्दा समय लाग्छ । कहिले स्क्रिप्ट भेटिए पनि त्यसमा लगानीको अभाव देखिन्छ । एउटा फिल्म राम्रो हुन सबै टिम उत्कृष्ट जोडिनु आवश्यक छ । त्यो मिल्न समय लाग्दो रहेछ ।

प्रेमकथा हेरेर दिक्क भएका लागि टाइम ट्राभलको कथा समेत छ ।
  • अहिले तपाईंको नयाँ फिल्म ‘फर्की फर्की’ रिलिज हुँदैछ । यो कस्तो फिल्म हो ?

– यो एउटा समयको कथा हो । त्यो समय जुन मानिसले ‘फर्की फर्की’ बाच्न पायो भने कसरी प्रयोग गर्नसक्छ भन्ने हो । एकपटक समय बितिसकेपछि आफूले गरेको कर्म अनुसारको परिणाम भोग्दै जानुपर्छ भन्ने थिम फिल्मले उठाएको छ । एउटा यस्तो व्यक्तित्व जसले जीवनमा गल्ती गर्न सक्दैन भने त्यसले त्यो समय ‘फर्की फर्की’ जिउन पाउँदा आफ्नो जीवनमा के परिवर्तन गर्न सक्छ भनेर फिल्मले देखाउन खोजेको छ । हरेक मानिसको जीवनमा सङ्घर्ष, साथीभाइ, दुस्मन सबै हुन्छ । फिल्मको कथा पनि यी सबै विषयवस्तु पनि छ ।

anmol kc (4)

  • तपाईंलाई कस्तो भूमिकामा देख्न सकिन्छ ?

–म विभिन्न किसिमका जनराको फिल्म गर्दै आएको छु । यो पटक मेरो भूमिका अभिनय करियरकै फरक छ । ‘फर्की फर्की’ टाइम–ट्राभलको कथामा बनेको छ । हलिउड र बलिउडमा यस्ता फिल्म निर्माण भए पनि नेपालमा यो पहिलो पटक बनेको हो । फिल्ममा मेरो ‘माधव सिंह बस्नेत’ भन्ने चरित्रको भूमिकामा छु । जो फाइनान्स डिपार्टमेन्टमा काम गर्ने एउटा सामान्य व्यक्ति हुन्छ । परिवारबाट छुट्टिएर आफैँ सङ्घर्ष गरिरहेको हुन्छ ।

  • ट्रेलर हेर्दा सुपरपावर भएको व्यक्तिको कथा जस्तो लाग्छ त ?

– त्यो पनि हो, त्यो सुपरपावर वरदान हो कि श्राप, त्यो हामीले ट्रेलरमा खुलाएका छैनौँ । एउटा मानिस जसले आफ्नो गल्ती जबसम्म ठिक पार्दैन, तबसम्म त्यो समयमा गएर उसले बारम्बार मौका पाउँछ र त्यो ठिक नगरेसम्म उनको समय अगाडि बढ्दैन भन्ने कथा पनि फिल्ममा छ ।

अभिनयमा हाम्रो जोडी धेरै राम्रो देखिएको छ । कामको सिलसिलामा हामी पछिल्लो समय एकअर्कासँगै देखिइरहेका छौँ । त्यसले दर्शकले हामी प्रेममा रहेको अनुमान गर्नुभयो ।
  • दर्शकले अनमोललाई फिल्ममा कुन –कुन रूपमा पाउँछन् ?

–दर्शकले मलाई रुचाउनु भएको चकलेटी लभर ब्वाइको रूपमा हो । यसको रूपमा पनि देख्न पाउनुहुनेछ । यो फेन्टासी फिल्म भएकोले परिवार, साथीभाइ सबैसँग मेरो कनेक्ट छ । सबै खाले दर्शकका लागि उपयुक्त फिल्म भन्छु म ।

  • फिल्मबाट कस्तो अपेक्षा गर्नु राख्नुभएको छ ?

–म आफूले अभिनय गरेको हरेक फिल्मबाट अपेक्षा राख्दिनँ । कामको समयमा राम्रो बनाउन सक्दो काम गर्ने हो । काम सकिएपछि अपेक्षा राख्दा त्यसको रिजल्ट कहिले राम्रो, कहिले नराम्रो हुन्छ । त्यसले अनेक किसिमको तनाव दिन्छ । काम इमानदारिताका साथ गर्छु, अपेक्षा राख्दिनँ ।

  • दर्शकले किन हेर्न ‘फर्की फर्की’ ?

–पहिलेदेखि जतिले मलाई प्रेमकथामा रुचाउनु भएको छ । ती दर्शकका लागि यो फिल्ममा एउटा सुन्दर प्रेमकथा पनि छ । प्रेमकथा हेरेर दिक्क भएका लागि टाइम ट्राभलको कथा समेत छ । अहिले रियालटीबेस फिल्म रिलिज भइरहेका छन् । तीभन्दा यो फिल्म धेरै फरक छ । दर्शकको रिफ्रेसमेन्टका लागि यस्ता फिल्म आउनुपर्छ ।  

anmol kc (1)

  • फिल्मको प्रचार प्रसार कस्तो भइरहेको छ ?

–हामीले फिल्मको प्रचारका लागि गीत, ट्रेलर लगायतका सामाग्री केही अगाडिदेखि रिलिज गरेका छौँ । त्यसले पब्लिकमा फिल्मको बारेमा चासो जगाउने काम गरेको छ । मिडिया प्रचारप्रसार अभियान बुधबारबाट सुरु भएको छ । काठमाडौँ र काठमाडौँ बाहिरका दर्शक भेट्ने कार्यक्रम पनि छ । 

  • अभिनेत्री जसिता गुरुङसँगको अभिनय सहकार्य कस्तो रह्यो ?

–एउटा को–एक्टरमा हुनुपर्ने सबैभन्दा ठुलो कुरो सपोर्ट हो । त्यो जसितामा मैले पाएँ । कलाकारको रूपमा जसिता धेरै प्रोफेसनल छिन् । मेरो अभिनयमा राम्रो बनाउन उनीबाट धेरै सहयोग पनि पाएँ, मैले पनि गरे । हाम्रो जोडी फिल्ममा परफेक्ट देख्न सक्नुहुन्छ ।

  • जसितासँग प्रेमको हल्ला फैलिएको छ त, के साँच्चै प्रेममा हो  ?

– अभिनयमा हाम्रो जोडी धेरै राम्रो देखिएको छ । कामको सिलसिलामा हामी पछिल्लो समय एकअर्कासँगै देखिइरहेका छौँ । त्यसले दर्शकले हामी प्रेममा रहेको अनुमान गर्नुभयो । मेरो हरेक फिल्ममा यस्ता हल्ला चल्छ । त्यसको कारण मेरो फिल्म लभस्टोरीमा आधारित भएर पनि हो । म अहिलेसम्म सिंगल नै छु । त्यो भएर पनि दर्शकको म प्रति चासो हुनसक्छ । 

  • फिल्म रिलिजबाहेकका समय मिडियाबाट दुरी किन ?

–म व्यक्तिगत रूपमा इन्ट्रोभर्ट छु । त्यही भएर मेरा केही कामहरू अगाडि नआएसम्म म मिडियामा छाउन रुचाउँदिन । मिडियामा मेरो जीवनका विषयमा राख्ने केही विषय छैन । काम नभए मिडियामा के बोल्ने हो र ? वर्षमा २–३ वटा फिल्म आयो भने सायद म पनि मिडियामा छाइरहन्छु होला ।

हाम्रो त व्यक्तिगत रूपमा एकअर्काेसँग चिनजानसमेत छैन । हामी दुई जनालाई प्रतिस्पर्धीको रूपमा मिडियाले चर्चा गरेको मात्र हो । यो चर्चाले हामी दुवै मिडियामा छाइरहेका छौँ । दुवैलाई फाइदा भएको छ ।
  • फिल्म चल्नका लागि स्टार कि कन्टेन्टले भन्ने खालको बहस चल्ने थालेको छ । तपाईंलाई केले चल्छ जस्तो लाग्छ ?

– फिल्म स्टारले भन्दा पनि कन्टेन्टले चल्ने हो । स्टारले कन्टेटतर्फ सबैको ध्यान खिच्ने काम भने गर्छ । तर, एउटा स्टारको उपस्थितिले मात्र फिल्म राम्रो हुँदैन । त्यसभित्रको गुदी राम्रो भयो भने कलाकारको अभिनय पनि देखिने हो । कन्टेन्ट र स्टार मात्र भएर पनि पुग्दैन । फिल्म मेकरसमेत राम्रो चाहिन्छ । फिल्म भनेको टिमवर्क पनि हो ।  राम्रो हुन टिमवर्क भए फिल्म उत्कृष्ट हुन्छ । 

  • प्रदीप खड्कालाई तपाईंको प्रतिस्पर्धीको रूपमा हेरिन्छ । के तपाईंहरूबिच प्रतिस्पर्धा छ ?

– हाम्रो त व्यक्तिगत रूपमा एकअर्काेसँग चिनजानसमेत छैन । हामी दुई जनालाई प्रतिस्पर्धीको रूपमा मिडियाले चर्चा गरेको मात्र हो । यो चर्चाले हामी दुवै मिडियामा छाइरहेका छौँ । दुवैलाई फाइदा भएको छ । मेरो प्रतिस्पर्धी म आफैँ हुँ । मेरो लक्ष्य हरेक नयाँ फिल्म पहिलेभन्दा सबै दृष्टिकोणबाट उत्कृष्ट हुनुपर्छ भन्ने मात्र रहन्छ ।

  • त्यसो भए दर्शकले प्रदीप र अनमोललाई एउटै फिल्ममा हेर्न पाउँछन् ?

– यो हामीले भन्दा पनि मेकरले चाहना राख्ने कुरो हो । मेकरले राम्रो स्क्रिप्ट ल्याउनुभयो, दुवैको भूमिका मिल्दो र राम्रो भयो भने एकसाथ देख्न पाउनुहुनेछ । 

  • केही अगाडि विवादमा पनि फस्नु भयो । त्यसले दर्शकलाई नराम्रो लागेको छ । आफूले कसरी लिनु भएको छ ?

–विवादमा मुछिँदा कसलाई पो राम्रो लाग्छ र । विवाद कतिको जायज हो भन्ने कुरो फरक हो । म नचाहँदा नचाहँदै पनि विवादमा फसेको थिए । राम्रा नराम्रा जुनै घटनाले पनि मानिसलाई धेरै कुरो सिकाउँदो रहेछ । त्यो घटनाबाट पनि धेरै कुरो सिके ।

  • दर्शकका लागि केही भन्नु छ कि ?

– फिल्मको प्रचारका लागि हामीले जति पनि सामाग्री बाहिर ल्याएका छौँ । त्यसले तपाईंलाई आकर्षित गरेको छ भने फिल्म हेरिदिनुहोला । तपाईंका लागि नयाँ किसिमको फिल्म पस्किने कोसिस गरेका छौँ । हेरेर राम्रो/नराम्रो प्रतिक्रिया दिनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप