प्याज गोदाममा छापा
काठमाडौं – नेपाली बजारमा प्याजको मूल्य एक्कासि बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ । विभागको अनुगमन टोलीले आज कालीमाटीस्थित प्याज भण्डारण गरिएको गोदाममा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा आइतबारको तुलनामा सोमबार प्याजको मूल्य बढाएर बिक्री गरेको भेटिएको थियो ।
विभागले ती प्याज व्यापारीको परिचय सार्वजनिक गरेको छैन । व्यापारीले मौज्दातमै रहेको प्याजको मूल्य बढाएर बिक्री गरेको हो वा उनको खरीद मूल्य नै बढी परेको हो भन्नेमा अनुसन्धान भइरहेको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए ।
अनुगमन टोलीले खरीद, बिक्री तथा मौज्दात विवरणसहित ती व्यापारीलाई विभागमा उपस्थित हुन निर्देशन दिएको छ । अस्वभाविकरुपमा वृद्धि भएको प्याजको भाउले जनजीवन प्रभावित पारेको पाइएपछि विभागको टोली अनुगमनमा निस्किएको हो ।
अनुगमनका क्रममा व्यापारीले अवरोध गर्ने आशङ्कामा विभागको टोली ठूलो सङ्ख्यामा सुरक्षाकर्मी लिएर कालीमाटीस्थित तरकारी बजार पुगेको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको भाउ अस्वभाविकरुपमा वृद्धि भएको छ ।
केही दिनअधिसम्म प्रतिकिलो रु १०० मा बिक्री भइरहेको प्याजको खुद्रा मूल्य आज कालीमाटी बजारमा रु १३५ प्रतिकिलो पुगेको छ ।
कालीमाटीस्थित तरकारी बजारमा आज प्याजको थोक मूल्य औसत प्रतिकिलो रु ११५ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । दसैँको मुखमा प्याजको भाउ एकाएक वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।
आपूर्ति सहज बनाउन चेम्बरको आग्रह
नेपाल चेम्बर अफ कमर्शले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनमा देखिएको असहज अवस्था हटाउन आग्रह गरेको छ ।
ठूला गाडीको प्रवेशमा रोक लगाइएसँगै राजधानीमा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या भएको ठहर गर्दै चेम्बरले तत्काल आपूर्ति व्यवस्थामा ध्यान दिई ढुवानीका साधनलाई काठमाडौँ प्रवेशमा सहज वातावरण बनाउन अनुरोध गरेको छ ।
राजधानी प्रवेशको मुख्य नाका नागढुङ्गा क्षेत्रमा अत्यधिक ट्राफिक जाम भएको भन्दै सरकारले तत्कालका लागि छ चक्केभन्दा ठूला ट्रकको काठमाडौँ प्रवेशमा रोक लगाएको छ ।
आयातित वस्तुमा कारोवार मूल्यलाई मान्यता नदिइएको कारणले पनि मूल्यवृद्धि हुन पुगेको चेम्बरले जनाएको छ । चाडबाडका बेलामा मात्र गरिने बजार अनुगमन मूल्यवृद्धिको प्रमुख कारक बनेको चेम्बरको निष्कर्ष रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण