लोकतन्त्रलाई बुलन्द बनाउन मिडियाको महत्वपूर्ण भूमिका हुन्छ : बाबुराम भट्टराई
काठमाडौँ । संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई बुलन्द बनाउन मिडियाको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
मङ्गलबार गोरखा पत्रकार मञ्चले राजधानीमा आयोजना गरेको बडादसैं, शुभदिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा यस्तो बताएका हुन् ।
कार्यक्रममा डा. भट्टराईले मिडियाले ध्वंसात्मक नभई आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँछन् । उनले भने, ‘विकृति, भ्रष्टाचार जस्ता कार्यलाई मिडियाले पूर्ण निस्तेज बनाउन लाग्नुपर्छ । चाकडीको काम बन्द गर्नुपर्छ ।’
गोरखाको संस्कृति र इतिहास झल्काउनको लागि गोरखाली रबर उद्योग, गोरखा दरबार, कनकामना हुँदै भीमसेन थापाको जन्मस्थलसम्म पर्यटकीय सर्किट बनाउनतर्फ राज्यको ध्यानकर्षण गर्न पत्रकारहरुले पहल गर्नुपर्ने भट्टराईले बताए ।
गोरखा पत्रकार मञ्च नेपाललाई आफ्नो ठाउँमा सक्दो सहयोग रहने समेत भट्टराईले प्रतिबद्धता जनाए । उनले भने, ‘राम्रो कामको लागि मेरोतर्फबाट पूर्ण सहयोग रहनेछ ।’
यस्तै कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले काठमाडौँबाट हेर्दा मात्र गोरखा जिल्लालाई वाह भन्ने अवस्था रहेको बताए । उनले भने, ‘गोरखा जिल्ला विकासको क्रममा धेरै पछाडि छ ।’
राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजना मात्रै बनाउन सकियो भने गोरखा जिल्लाले चाँडै नै फड्को मार्ने सांसद अधिकारीको भनाइ थियो ।
पर्यटकको हिसाबले मात्र नभई भौगोलिक, सांस्कृतिक हिसाबले पनि गोरखाको विकास गर्न मिडियाले सहयोगी भूमिका निर्वाह गर्ने विश्वस्त रहेको अधिकारीको भनाइ थियो ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य चुडामणि खड्काले गोरखाको भौतिक विकास र साँस्कृतिक विकासको लागि गर्नुपर्ने कामहरुमा पत्रकारको महत्वपूर्ण भूमिका हुने बताए ।
मिडियाहरुलाई स्वतन्त्रताको नाममा अराजकता नफैलाउन समेत खड्काले आग्रह गरे । उनले भने, ‘समाजलाई खलबल्याउने काम जसले गर्छ, त्यसलाई पत्रकारिताको मार्फत उजागर गर्नु पत्रकार साथीहरुको कर्तव्य हो ।’
नेपाली कांग्रसकी नेतृ तथा पूर्वमन्त्री कमला पन्तले गोरखा जिल्लामा लुकेका विषयहरुलाई बाहिर ल्याउनुपर्ने माग गरिन् । विकृत मानसिकतालाई कलमको माध्यमबाट नियन्त्रण गर्नुपर्ने पन्तको भनाइ छ ।
मिडियाले कसैलाई पनि जोगाउनतिर लाग्न नहुने पन्त बताउँछिन् ।
यस्तै नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले मिडियाले राजनीतिको आडमा मिडिया हाउस चलाउन नहुने बताए । गोरखा पत्रकार मञ्च नेपालले सन्तुलनकारी भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको न्यौपानेको भनाइ थियो ।
यस्तै न्यौपाने गोरखा पत्रकार मञ्च नेपाललाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पे्रस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारी, मञ्चका प्रेस सल्लाहकार सुशील अर्याल, राम्जी दाहाललगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण