शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टर्की भ्रमण रद्द, यस्तो छ कारण

आइतबार, ०३ कात्तिक २०७६, १५ : ५२
आइतबार, ०३ कात्तिक २०७६

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको टर्की भ्रमण रद्द गरिएको छ । उनी सन् २०१९ को अन्त्यतिर टर्की जाने तालिका निर्धारण गरिएको थियो ।

पछिल्लो समय कश्मीर मामलामा टर्कीले राखेको धारणाका कारण भारत असन्तुष्ट रहँदै आएको छ । २४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेसप तैयप अर्दोआनले जम्मु–कश्मीरको मुद्दा उठाएका थिए । 

भारतले जम्मु–कश्मीरलाई दिँदै आएको संवैधानिक ‘विशेष दर्जा’ खारेज गरेको थियो । सोही विषयमा टर्कीले भारतीय कदमको आलोचना गरेको बताइन्छ ।

भारतीय अखबार ‘दि हिन्दू’का अनुसार मोदी र टर्कीका राष्ट्रपतिबीच गत जुन महिनामा भएको भेटवार्तामा मोदीको भ्रमणबारे छलफल भएको थियो । छलफलका क्रममा यसै वर्षको अन्त्यसम्ममा मोदीले टर्कीको भ्रमण गर्ने तय भएको थियो ।

पछिल्लो समय दुवै मुलुकले एक अर्काको कदमको आलोचना गर्दै आएका छन् । जम्मु–कश्मिर मामलामा टर्कीले भारतको आलोचना गरेपछि भारतले पनि टर्कीद्वारा उत्तरी सिरियामा कुर्द लडाकुविरुद्ध गरिएको कारवाहीको विरोध गरेको छ ।

‘दि हिन्दू’का अनुसार भारतको विदेश मन्त्रालयले भने मोदीको टर्की भ्रमण निर्धारण नै नभएको दावी गरेको छ । तर, भारतका लागि टर्कीका राजदूत साकिर ओजकानले भने टर्की सरकारले भारतीय प्रधानमन्त्री मोदी अंकारा जाने अपेक्षा गरेको बताएका छन् । ‘अपेक्षामात्र होइन, हालैका दिनमा यसबारे छलफल पनि भएको थियो । हामी भ्रमणको अर्को मितिको प्रतीक्षा गरिरहेका छौं,’ उनले भने ।

दुवै मुलुकबीच दूरी बढ्दै गएकै अवस्थामा भारतले टर्कीको अनादोलु शिपयार्डसँग २.३ अर्ब डलरको एउटा सम्झौतासमेत रद्द गरेको छ । भारतीय जल सेनाका लागि उक्त कम्पनीले पानीजहाज बनाउने सम्झौता भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप