आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नगरपालिकामा अनियमितता बढेको जनप्रतिनिधिकै गुनासो, नगरपालिकाको गाडी नेताहरुलाई !

आइतबार, १० कात्तिक २०७६, १० : ५३
आइतबार, १० कात्तिक २०७६

रौतहट । रौतहटको फतुआ विजयपुर नगरपालिकामा अनियमितता बढेको गुनासो जनप्रतिनिधिले नै गर्न थालेका छन् । उपमेयर कान्तीदेवी महतोले अनियमिततामा मेयर गोपाल राय यादव नै संलग्न रहेको आरोप लगाएकी छन् ।

कांग्रेसबाट निर्वाचित मेयर यादवले नगरपालिकाको सम्पत्ति कांग्रेसका स्थानीय नेताहरुलाई उपलब्ध गराउँदै आएको उपमेयरको भनाइ छ । ‘मेयरको कृपाबाट कांग्रेसका स्थानीय नेताहरुले नगरपालिकाको सम्पत्तिमाथि रजाई गर्दै आएका छन्,’ शनिबार कटहरियामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले भनिन् ।

उनले नामै किटेर ‘कांग्रेसका पूर्वसांसद जितेन्द्र यादव’देखि उनका नातागोताका सबैले नगरपालिकाको सम्पत्तिमा रजाई गरिरहेको बताइन् । नगरपालिकाले खरिद गरेका दुईवटा गाडीमध्ये मेयरले एउटा प्रयोग गरेको र अर्को गाडी पूर्व सांसद जितेन्द्र यादव, उनका भाइ ज्ञानन्द्र यादव र अरु नातागोताका मानिसले प्रयोग गरेको उनको भनाइ छ ।

नगरपालिकाको दुईवटा गाडी र तीनवटा मोटरसाईकल कब्जा गरी मेयर आफैँ र आफ्ना नातागोतालाई चढ्न दिने, अरु जनप्रतिनिधिले नगरपालिकाको सवारी साधन प्रयोग गर्न नपाएको खुलासा पनि उनले गरिन् ।

मेयरकै कारण नगरपालिकाले जनताका सेवा–सुविधा तथा विकास निर्माणका कामलाई प्राथमिकता दिन नसकेको उपमेयर महतोको भनाइ छ । आफू काम गर्न नसक्ने, सेवा–सुविधामा मात्र मरिहत्ते गर्ने अनि जनताको आँखामा छारो हाल्न मेयरले ‘नगरपालिकामा नेकपाको बहुमतका कारण काम गर्न नसकेको’ भनेर भ्रम छर्दै हिँडेको उनले बताइन् ।

हालसम्म नगरसभासमेत हुन नसकेकाले सबै विकास निर्माणका काम ठप्प हुनुका साथै बृद्ध, बालबालिकाले भत्ता, शिक्षक, कर्मचारीले तलबसमेत पाउन नसकेको उपमेयर महतोको भनाइ छ ।

नगरपालिकामा कार्यपालिकातर्फ नेकपाको बहुमत छ । मेयर र  उपमेयरबीच पटक पटक विभिन्न विषयमा विवाद हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप