सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्यान्सरको क्षेत्रमा प्रतिवर्ष एक अर्ब १५ करोड खर्च, कार्यक्रम भने निराशाजनक

पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने खोप सुरु गर्न अझ दुई वर्ष लाग्ने
बुधबार, २५ मङ्सिर २०७६, ०९ : ३९
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौँ । झापाकी सिर्जना लुइँटेल पहिलो सन्तान भएको ८ वर्षपछि दोस्रो सन्तान जन्माउने तयारीमा थिइन् । स्वास्थ्य परीक्षणका लागि अस्पताल गइन् । तर अस्पतालको रिपोर्टमा पाठेघरको दायाँ ओभरीमा ‘सिस्ट’ देखियो । एउटा अस्पतालको विश्वास नलागेर उनी धेरै अस्पताल धाइन् । परीक्षणका क्रममा कतै कुनै समस्या नभएको रिपोर्ट आयो भने कतै समस्या देखियो ।

‘टिचिङ अस्पतालले ओभरीमा देखिएको सिस्ट सामान्य नभएको भन्दै अप्रेसन गर्न आग्रह गर्यो’, रातोपाटीसँगको कुराकानीमा उनले विगतलाई कोट्याइन् । तर पनि उनी एक महिनासम्म अस्पताल र चिकित्सकको सल्लाहमा नै बसिन् ।

५ महिनाकी गर्भवती हुँदा उनको एक्कासि दाहिने खुट्टा चलेन । फेरि टिचिङ गइन् । त्रिवि शिक्षण अस्पतालले पहिले नै ओभरीमा देखिएको सिस्टको अप्रेसन गर्न पुनः सुझाए । ‘५ महिनाको शिशुलाई जोगाए अप्रेसन त भयो । आमा र बच्चा दुवैको अवस्था सामान्य नै थियो तर २२ दिनपछि आएको रिपोर्टमा क्यान्सर देखियो’, लुइँटेलले विगत खोतलिन् ।

३३ वर्ष लागेकी सिर्जनालाई क्यान्सर भएको थाहा पाएपछि पीडाको सीमा नै रहेन । ‘८ वर्षकी छोरी र श्रीमानलाई झलझली सम्झिएँ । अब मरिन्छ भन्ने लाग्यो । भेट्न आउनेहरूले पनि बाँच्ने भन्दा मर्छे नै भनेजसरी सम्झाउँथे ।’ पाठेघरको ओभरीको क्यान्सर, त्यसमा पनि ५ महिनाकी गर्भवती, क्यान्सर लागेकी गर्भवती आमाबाट जन्मेको बच्चा स्वस्थ्य रहने विकल्प थिएन ।

अस्पताल र चिकित्सकको सल्लाहपछि ओभरीको अप्रेसन गरेको २५ दिनपछि गर्भपतन गरिन् । त्यसको केही दिन फरकमा फेरि क्यान्सरको अर्काे अप्रेसन गरियो ।

*****

क्यान्सर रोगको अवस्थाबारे नेपालसँग आफ्नो आधिकारिक तथ्याङ्क नभए पनि बर्सेनि ५० हजार नयाँ बिरामी थपिँदै गएको क्यान्सर विज्ञ चिकित्सकहरुले बताउँदै आइरहेका छन् । तर यकिन तथ्याङ्क भने अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । क्यान्सर जस्तो प्राणघातक रोगको यकिन तथ्याङ्क नहुँदा अनुमानको भरमा चल्न बाध्य हुनुपरेको छ । 

*****

जिन्दगीमा बाँच्ने आशा मारेकी सिर्जनालाई दोस्रो अप्रेसनपछि, नियमित उपचार, परिवारको साथ र मायाले गर्दा दुई महिनामा सिर्जनाको अप्रेसन र सबै प्रकारको उपचार सकियो । क्यान्सर अन्य अङ्गमा फैलिन नदिन पाठेघर पनि फालियो । अब उनीबाट सन्तान हुँदैन । सन्तान नुहुनुमा दुःखी हुनुभन्दा पनि क्यान्सरलाई जितेकोमा सिर्जना खुसी छिन् ।

सिर्जना एक उदाहरण मात्रै हुन् । नेपालमा यस्ता क्यान्सरलाई जितेकाहरु धेरै छन् भने समयमा उपचार रोग पहिचानपछि उपचार नपाउँदा निधन हुनेको सङ्ख्याको पनि कमी छैन ।

नेपालमा यति नै क्यान्सर रोगी छन् भन्ने सरकारसँग यकिन तथ्याङक नभए पनि उपचारत चिकित्सकहरुको भनाइ अनुसार वर्षमा ५० हजार नयाँ क्यान्सर रोगी थपिँदै गइरहेका छन् । यस्तै अमेरिकाको क्यान्सर सोसाइटीको एक तथ्याङ्क अनुसार एक वर्षमा विश्वमा १ करोड २० लाखभन्दा बढीलाई क्यान्सर रोग लाग्छ । तीमध्ये ७६ लाख व्यक्तिले यही रोगका कारण ज्यान गुमाउनु परेको छ ।

पहिलो नम्बरमा फोक्सोको क्यान्सर

क्यान्सर विज्ञका अनुसार शरीरमा छिटोछिटो बढ्ने, समस्या हुने, एक स्थानबाट अर्का स्थानमा सर्न सक्ने गिर्खालाई मालिनान ट्युमर वा नियोप्लाज्म भनिन्छ जुन क्यान्सरको रूप हो ।

नेपालमा अहिलेसम्म पहिलो नम्बरमा फोक्सोको क्यान्सर रहेको छ । यस्तै क्रमशः पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आमाशयको क्यान्सर, मस्तिष्कको क्यान्सर, छालाको क्यान्सर, दिसा गर्ने नलीको क्यान्सर, लिम्फ ग्रन्थिको क्यान्सर, रगतको क्यान्सर, घाँटीको क्यान्सरका रोगीहरु पनि धेरै रहेका छन् ।

क्यान्सर रोगको अवस्थाबारे नेपालसँग आफ्नो आधिकारिक तथ्याङ्क नभए पनि बर्सेनि ५० हजार नयाँ बिरामी थपिँदै गएको क्यान्सर विज्ञ चिकित्सकहरुले बताउँदै आइरहेका छन् । तर यकिन तथ्याङ्क भने अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । क्यान्सर जस्तो प्राणघातक रोगको यकिन तथ्याङ्क नहुँदा अनुमानको भरमा चल्न बाध्य हुनुपरेको छ । 

सरकारले क्यान्सर रोगको पहिचानपछि विपन्न नागरिकलाई एक लाख आर्थिक सहयोग पनि गर्दै आएको छ । यो रकम सुरुको स्टेजमा क्यान्सर पत्ता लागे उपचार गर्न पर्याप्त भए पनि नेपालमा भने क्यान्सर रोगको पहिचान नै ढिला हुने हुँदा धेरै पैसा लाग्ने गरेको पाइन्छ । जसले गर्दा सरकारले सहयोग गर्दै आएको एक लाख रुपैयाँ अपुग भएको क्यान्सर रोगीहरुकै भनाइ छ । 

जनसङ्ख्याका आधारमा पहिलो अनुसन्धान, अनुसन्धान परिषद्

अस्पतालको आधारमा अनुसन्धान भए पनि जनसङ्ख्याका आधारमा अहिलेसम्म अनुसन्धान भएको छैन । अनुसन्धानले पनि कुन क्षेत्रको नागरिकमा कस्तो क्यान्सर देखा पर्यो भन्ने जानकारी पाउने हो भने सोअनुसार कार्यक्रम सञ्चाल गर्न सहज हुने देखिन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. अञ्जनीकुमार झाले अहिले ९ जिल्लामा क्यान्सरको अनुसन्धान सुरु भएको बताएका छन् । यसभन्दा पहिला अस्पतालहरूले क्यान्सरको अनुसन्धान गरे पनि जनसङ्ख्यामा आधारित रहेर अनुसन्धान गरिएको भने यो पहिलो पटक हो ।

दुई वर्षे अनुसन्धान स्न २०१८ बाट सुरु भएको थियो । अबको केही दिनमा अनुसन्धानको काम सकिने र नेपालको क्यान्सर रोगको अवस्थाबारे यकिन तथ्याङ्क सार्वजनिक हुने प्रमुख झाले बताए । अनुसन्धानको ड्राफ्ट हेर्दा क्यान्सर रोगीको अवस्था भयावह रहेको कार्यकारी निर्देशक डा. झाले बताए । अनुसन्धानमा रुकुम १ र २, काठमाडौँ, ललितपुर, भक्तपुर, सिराहा, सप्तरी र महोत्तरीमा थालिएको हो ।

*****

नेपाल सरकारले ८ वटा जटिल रोगको उपचारका लागि सरकारले नागरिकलाई सहुलियत प्रदान गर्दै आएको छ । सहुलियत नै क्यान्सरका क्षेत्रमा नेपाल सरकारले गर्दै आएको प्रमुख कार्यक्रम हो । तर प्रमुख डा. देवकोटाका अनुसार सहुलियत लिनेमा सबैभन्दा धेरै अर्थात ५० प्रतिशत क्यान्सरका बिरामी रहेका छन् ।

*****

क्यान्सरका क्षेत्रमा एक अर्ब १५ करोड खर्च, स्वास्थ्य मन्त्रालय

क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय मात्रै लागेर नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ  छ । मन्त्रालयका नीति तथा योजना महाशाखाका प्रमुख डा. विकास देवकोटाले क्यान्सर नियन्त्रणका लागि सरकारले धेरै पैसा खर्च गर्नुभन्दा पनि नागरिकमा जनचेतना फैल्याउन र अन्य निकायसँग पनि सहकार्य गर्न आवश्यक भएको उनले बताए ।

खाना, मद्यपान, धूमपान, बढी मात्रामा सेकुवाको सेवन गर्ने, कृषिमा जथाभावी पेस्टिसाइडको प्रयोग, पशुपालनमा विभिन्न औषधिको प्रयोग गर्ने दूध धेरै आउनको लागि पनि औषधिको प्रयोग गर्ने कुरा नै क्यान्सरको प्रमुख कारण भएको मन्त्रालयको भनाइ छ ।

 नेपाल सरकारले ८ वटा जटिल रोगको उपचारका लागि सरकारले नागरिकलाई सहुलियत प्रदान गर्दै आएको छ । सहुलियत नै क्यान्सरका क्षेत्रमा नेपाल सरकारले गर्दै आएको प्रमुख कार्यक्रम हो । तर प्रमुख डा. देवकोटाका अनुसार सहुलियत लिनेमा सबैभन्दा धेरै अर्थात ५० प्रतिशत क्यान्सरका बिरामी रहेका छन् ।

यो कुराले पनि नेपालमा क्यान्सर रोग धेरै भयावह बन्दै गएको सरकारको अनुमान छ । जिल्ला अस्पतालमा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर शीघ्र पहिचान गर्ने विधिहरु लागू गरिए पनि यो कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन ।  

८ वटा कडा रोगको उपचारका लागि सरकारले २ अर्ब ३० करोड खर्च गर्दै आएको छ । तीमध्ये पनि ५० प्रतिशत अर्थात एक अर्ब १५ करोड बजेट क्यान्सरको बिरामीका लागि मात्रै खर्च हुँदै आएको स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. देवकोटाले बताए ।

पाठेघरको मुखको क्यान्सरको खोप दुई वर्ष पछिसर्यो

महिलामा देखिने पाठेघरको क्यान्सर पहिलो नम्बरमा रहेको छ । पाठेघरको क्यान्सर नियन्त्रणका लागि भ्याक्सिन लगाउने योजना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघि सारेको थियो । ०७४ मै दुई वर्षमा महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने खोप सुरु गरिने सरकारको भनाइ थियो । तयारी स्वरूप सरकारले सन् २०१५–०१६ मा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोपको कास्की र चितवनमा पाइलोटिङ गरिएको थियो । तर यो भ्याक्सिन सुरु गर्न अझै २ वर्ष लाग्ने मन्त्रालयले जनाएको छ ।

सरकारले बजेट विनियोजन गरे पनि अहिले सो भ्याक्सिन विश्व बजारमा उपलब्ध नभएको हुँदा नेपालमा यो खोप सुरु गर्न अझै १ देखि २ वर्ष लाग्ने मन्त्रालयको भनाइ छ  । 

पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को सङ्क्रमणका कारण हुन्छ । विश्व स्वास्थ्य सङ्घको एक तथ्याङ्कअनुसार विश्वमा यो रोगबाट बर्सेनि २ लाख ७० हजारभन्दा बढी महिलाहरुको अकालमै मृत्यु हुने गरेको छ । जसमा ८५ प्रतिशत कम विकसित अर्थात नेपाल जस्ता देशहरु पर्छन् ।

*****

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल भने सरकारले क्यान्सर रोग नियन्त्रणका लागि ठूलो समस्या नभएको बताए । उनी भन्छन्, ‘म क्यान्सर रोग नियन्त्रणमा चुनौती छ भन्दिनँ । अहिले सञ्चालन भइरहेको जनचेतनामूलक कार्यक्रममा क्यान्सर रोगको कारकतत्व के हो । क्यान्सर कसरी लाग्छ, यसको लक्षण र उपचारका बारेमा देशभरकै नागरिकलाई जानकारी गराउन सक्ने हो भने क्यान्सर रोग नियन्त्रणमा खासै चुनौती छैन ।’

*****

कसरी नियन्त्रण गर्ने ?

क्यान्सर रोग स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक्लैले नियन्त्रण गर्न सक्ने अवस्थामा नरहेको मन्त्रालयका अधिकारीहरुले बताउँदै आइरहेका छन् ।

जनस्वास्थ्यको ऐनमा मन्त्रीस्तर कमिटीले नै क्यान्सरको सवालमा सबै क्षेत्रसँग छलफल गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । स्वास्थ्यको विभिन्नथरीका रोगहरुलाई नियन्त्रण गर्नका लागि कृषि, पशु, वातावरण लगायत क्षेत्रसँगको सहकार्यमा कार्यक्रम सञ्चालनमा सहयोग गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म सक्रियता खासै पाइँदैन ।

यता नेपाल सरकारको पूर्ण लगानीमा अहिलेसम्म एउटा पनि अस्पताल छैनन् । चितवन क्यान्सर अस्पतालमा सरकारको लगानी भए पनि नेपाल सरकारकौ पूर्ण लगानीमा भने क्यान्सर रोगको उपचारको अस्पताल नहुँदा नागरिक निजी अस्पतालमा महँगो शुल्कमा उपचार गर्न बाध्य छन् । तर सरकारले भने सबै टर्सरी लेबलको अस्पतालमा क्यान्सर रोगको उपचारका लागि छुट्टै विभागसँगै क्यान्सर विशेष राख्ने सवालमा मन्त्रालयमा छलफल भइरहेको डा. देवकोटाको भनाइ छ ।

सक्रिय भए नियन्त्रणमा समस्या छैन् : डा राजेन्द्र बराल

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल भने सरकारले क्यान्सर रोग नियन्त्रणका लागि ठूलो समस्या नभएको बताए । उनी भन्छन्, ‘म क्यान्सर रोग नियन्त्रणमा चुनौती छ भन्दिनँ । अहिले सञ्चालन भइरहेको जनचेतनामूलक कार्यक्रममा क्यान्सर रोगको कारकतत्व के हो । क्यान्सर कसरी लाग्छ, यसको लक्षण र उपचारका बारेमा देशभरकै नागरिकलाई जानकारी गराउन सक्ने हो भने क्यान्सर रोग नियन्त्रणमा खासै चुनौती छैन ।’

‘नेपाल सरकारका तर्फबाट जनचेतना गजाउने काम भए पनि यो अझै अपुग भएको छ । गाउँ गाउँ घर घरमा जनचेतना कम छ’, रातोपाटीसँगको कुराकानीमा भने ‘५० प्रतिशत खानपान, मद्यपानका कारण क्यान्सर लाग्छ भन्ने कुरा सबै नागरिकमा जनचेतना जगाउन सक्नुपर्छ । त्यो हामी तपार्इं जस्ता सबै निकायको जिम्मेवारीको कुरा हो ।’

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ बरालले भयावह बन्दै गएको क्यान्सरको विषयलाई कक्षा ११ र कक्षा १२ को पाठ्यपुस्तकमा समेट्न पटक पटक आग्रह गरे पनि नसमेटिएको प्रति गुनासो व्यक्त गरे ।

उनका अनुसार नेपालमा पहिलो स्थानमा फोक्सोको क्यान्सर रहेको छ । यो क्यान्सर महिला पुरुष दुवै जनामा देखिएको छ । महिलामा पाठेघरको क्यान्सर पहिलो र स्तन क्यान्सर दोस्रो नम्बरमा रहेको छ । यसरी नै बर्सेनि स्तन क्यान्सरका बिरामी बढ्दै जाने हो भने भोलिका दिनमा महिलामा देखिने क्यान्सरमध्ये स्तन क्यान्सर पहिलो नम्बरमा आउन सक्ने डा. बराल बताउँछन् ।

डा बरालका अनुसार स्थानअनुसार फरक क्यान्सर रोगीहरु देखिएका छन् । काठमाडौँमा मद्यपानको प्रयोग धेरै हुनेभएको हुँदा पेटको पाचन प्रणालीको क्यान्सर बढी देखिएको छ भने भरतपुरमा गुड्का, पानपराग, सुर्ती धेरै खाने हुँदा मुखको क्यान्सर बढी देखिएको छ ।

दिनप्रदिन भयावह बन्दै गएको क्यान्सर नियन्त्रणका लागि सरकारले एक दिन दिवस मनाएर नियन्त्रण गर्न नसक्ने भन्दै वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. बराल भन्छन्, ‘सधैँ दिवस मनाएजसरी सरकारी र गैरसरकारी निकाय लाग्नु प-यो । परिमार्जित र व्यवस्थित तरिकाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने हो भने नियन्त्रणमा समस्या नहुने उनको तर्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप