बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले

बिहीबार, २१ जेठ २०८३, १८ : ३०
बिहीबार, २१ जेठ २०८३

सारांश

  • सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नै पार्टीका सांसदहरूको अविश्वासको प्रस्तावलाई सफलतापूर्वक सामना गरेका छन्।
  • कांग्रेसभित्रको गुटबन्दीले सुदूरपश्चिम प्रदेश सभालाई प्रभाव पारेको छ, जहाँ एक पक्ष देउवा पक्षधर र अर्को थापा पक्षधर छ।
  • मुख्यमन्त्री शाहले एक सांसदको हस्ताक्षर फिर्ता गराएर आफ्नो पद तत्कालका लागि सुरक्षित गरेका छन्, तर आफ्नै पार्टीका ८ सांसद विपक्षमा छन्।

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको अघिल्लो कार्यकालमा तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले ढुक्कसँग पाँच वर्ष सरकारको नेतृत्त्व गरेका थिए । दोस्रो कार्यकालमा भने बारम्बार सरकार परिवर्तन भएको छ ।

प्रदेश सरकारको नेतृत्त्व गर्दै आएका नेपाली कांग्रेसका कमलबहादुर शाहलाई उनकै दलका केही सांसदले मुख्यमन्त्री पदबाट हटाउन पहल गरे पनि अन्तत: शाहले आफ्नो पद सुरक्षित गरेका छन् ।

नेपाली कांग्रेसभित्रको गुटबन्दीले सुदूरपश्चिम प्रदेश सभालाई प्रभाव पारेको छ । केन्द्रमा गगन थापा सभापति बनेपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षकाहरु निकै असुन्तष्ट छन् । अहिले सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका दुई वटा समूह छन् । एउटा पक्ष पूर्व सभापति देउवा पक्षधर छ भने अर्को सभापति थापा पक्षधर ।

यतिबेला मुख्यमन्त्री शाहले सरकार टिकाउन एकातिर विपक्षी दलहरूको सामना गर्नुपरेको छ भने अर्कोतिर आफ्नै पार्टीका सांसदहरूको अविश्वास झेल्नुपरेको छ । पछिल्लो समय त संसदीय दलका नेता शाहविरुद्ध नै कांग्रेसका संस्थापन पक्षका सांसदले अविश्वासको प्रस्ताव पेस गर्नेसम्मको हर्कत भएपछि कांग्रेसभित्रको गुटबन्दी सतहमा आएको हो ।

राजनीतिले फेरि कोल्टे फेर्‍यो । २०८१ साउन १० मा एमालेको समर्थनमा उनी दोस्रो पटक मुख्यमन्त्री बने ।

मुख्यमन्त्री कमल बहादुर शाहको यो दोस्रो  कार्यकाल हो । २०७९ को निर्वाचनपछि सुरुमा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बने पनि विश्वासको मत पाउन नसकेपछि शाहले पहिलो पटक २०७९ माघ २६ गते सत्ता सम्हालेका थिए । तत्कालीन माओवादी, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको साथ पाएका उनी २०८० चैत २२ मा केन्द्रमा समीकरण फेरिएपछि राजीनामा दिन बाध्य भए ।

तर, राजनीतिले फेरि कोल्टे फेर्‍यो । २०८१ साउन १० मा एमालेको समर्थनमा उनी दोस्रो पटक मुख्यमन्त्री बने । त्यतिबेला मुख्यमन्त्री बन्न शेरबहादुर देउवाका भतिजा प्रकाश देउवाले पनि निकै कसरत गरेका थिए । तर, अन्ततः शाह नै बाजी मार्न सफल भए ।

मुख्यमन्त्रीको पद नपाएपछि असुन्तुष्ट देखिएका देउवा अहिले अमेरिकामा छन् । उनले मुख्यमन्त्री नपाएपछि मन्त्री पनि बन्न चाहेनन् । केही सांसदहरू जो सरकारमा मन्त्री, राज्यमन्त्री र मुख्यमन्त्री बन्न चाहन्थे, उनीहरु भने शाहलाई पदच्युत गर्ने खेलमा अहिले सक्रिय देखिएका छन् । केही समय अघि पार्टी सभापति गगन थापा धनगढीमा आउँदा उनीहरुले सुदूरपश्चिम सरकारमा मन्त्री फेरबदल गर्नुपर्ने माग राखेका थिए । उनीहरुको मागप्रति सभापति थापाले सहमति जनाएनन् ।

अहिले मन्त्री फेरबदल भन्दा मिलेर अगाडि बढ्नुपर्ने धारणा थापाले राखेका थिए । त्यही असुन्तुष्ट पक्षले मंगलबार मुख्यमन्त्रीलाई तनाव सिर्जना गराएको थियो । १८ जना कांग्रेस सांसदमध्ये ९ जनाले आफ्नै दलका नेता एवं मुख्यमन्त्री शाहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए । आफ्नै पार्टीका आधा सांसद विपक्षमा उभिएपछि शाहको पद सङ्कटमा परेको थियो ।

तर, मुख्यमन्त्री शाहले राजनीतिक कुशलता देखाउँदै अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी सांसद डम्मरी महरालाई आफ्नो पक्षमा ल्याउन सफल भए । डम्मरीले तत्कालै आफ्नो हस्ताक्षर फिर्ता लिँदै मुख्यमन्त्रीलाई नै समर्थन गर्ने घोषणा गरिन् । जसका कारण शाहको पद तत्कालका लागि सुरक्षित भयो । हाल ८ जना सांसद मुख्यमन्त्रीको विपक्षमा छन् भने ९ जना मुख्यमन्त्रीसहित पक्षमा देखिएका छन् । सांसद प्रकाश देउवा भने अमेरिकामै छन् ।

विष्टका अनुसार बहुमत सांसदहरूको हस्ताक्षरसहित केन्द्र र प्रदेशमा जानकारी गराइसकिएको थियो ।

संसदीय दलको नेता फेरेर सरकार परिवर्तन गर्ने अभियानको नेतृत्व गरिरहेका सांसद दिवानसिंह विष्ट अहिलेको सरकारले केही काम गर्न नसक्ने भएपछि यस्तो कदम चलाएको बताउँछन् ।

‘हामीले संसदीय दलको नेता परिवर्तन गर्न खोज्नुको मुख्य उद्देश्य नयाँ सरकार बनाउनकै लागि हो । अहिलेको नेतृत्वबाट प्रदेशको विकास र पार्टीको गरिमा धान्न सकिएन,’ उनले भने ।

विष्टका अनुसार बहुमत सांसदहरूको हस्ताक्षरसहित केन्द्र र प्रदेशमा जानकारी गराइसकिएको थियो ।

‘नेतृत्व फेरिनुपर्छ भनेर हामीले यो कदम अगाडि बढाइरहेका छौँ, हामीले पार्टीको विधान अनुसार नै बहुमत जुटाएर यो प्रक्रिया अघि बढाएका हौँ । यसमा कुनै बाह्य दबाब छैन । सबै सांसदले राजीखुसी हस्ताक्षर गरेका हुन् । एक सासंदले हस्ताक्षर फिर्ता लिएको जानकारी गराउनुभयो । हामी आफ्नो अभियानमा छौँ,’ उनले भने ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव आएकै भोलिपल्ट मुख्यमन्त्री शाहले संसदीय दलको बैठक बोलाए । बैठकमा आफ्ना पक्षका सांसदहरूलाई जम्मा गरेर उनले जेठ ८ गते गरिएको पुरानो हस्ताक्षरको अहिले कुनै औचित्य नरहेको निर्णय गराए ।

‘अहिले हामी आगामी आर्थिक वर्षको बजेट निर्माणको महत्त्वपूर्ण चरणमा छौँ । यस्तो बेला सरकार ढाल्ने खेलमा लाग्नु प्रदेशको हितमा छैन । हामी सबै मिलेर बजेट ल्याउनुपर्छ र पार्टीलाई एक ढिक्का बनाउनुपर्छ,’ शाहले भने ।

मुख्यमन्त्री शाह अहिले शारीरिक रूपमा पनि केही अशक्त छन् । उनी हिँडडुल गर्दा वाकरको सहारा लिने गर्छन् । एकातिर शारीरिक कष्ट र अर्कोतिर कतिखेर पद जान्छ भन्ने मानसिक चिन्ता— यी दुवैको बिचमा उनी आगामी बजेटको तयारीमा जुटेको बताउँछन् ।

सुदूरपश्चिममा अहिले नेपाली कम्युनिष्ट पार्टी २१ सिटसहित ठुलो शक्ति बनेको छ । एमाले र नेकपा मिलेर कांग्रेसलाई सत्ता बाहिर पठाउने चर्चा पनि उत्तिकै छ । तर, तत्काल यसो नहुने नेपाली कम्युनिष्ट पार्टी र एमालेका नेताहरु बताउँछन् ।

सकेसम्म तीनै दल मिलेर सरकार चलाउने उनीहरुको भनाइ छ । मुख्यमन्त्री शाहलाई भने हाइसन्चो छैन । उनले आफ्नो दलकै सासंदहरु एकजुट बनाउन चुनाैती झेल्नु परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप